कमेन्ट बक्स

फेसबुकको टाइमलाईनमा माउसको स्क्रोल बटन खुर्र खुर्र घुमाउँद घुमाउँदै स्क्रिन टक्क रोकियो । रोकिनुको पछाडि पनि ठुलै कारण छ, त्यो हो तस्विर ।



" तस्बिर...! कस्को ?? " " हा हा..., हो कोहि, श्रोत खुलाईदिँदा उस्लाई अप्ठ्यारो पर्न सक्छ, अहिलेलाई यत्ति । " जुन तस्बिर यति सुन्दर थियो कि.., आजसम्म यति सुन्दर तस्बिर उसले कहिल्यै अपलोड गरेकि थिईन, र उसका हरेक तस्बिर साह्रै राम्रा छन् । अब आफै बुझ्नुहोस् । तस्बिर लाईक गर्न पनि माउसले एक पल्ट उसको प्रदक्षिणा गरि, लजाई लजाई, लाईक बटनमा क्लिक गरेको गरेको थियो सायद । मेरो काम, तस्बिर लाईक गरि फेरि टाइमलाईनमा नजरहरु दौडाउने क्रममा थिएँ । करिव १ मिनेट पछि, १ मिनेट पनि होईन करिव २०-२५ सेकेन्ड पछि 'टुंट् ' आवाज सहित म्यासेज आयो । जुन म्यासेज थियो त्यहि तस्बिरवालिको, लेखिएको थियो "लाईक मात्र होईन के, कमेन्ट नि गरिदेउ न प्लिज" "के ? " म अनजान बन्न खोज्दै थिएँ जवकि उसको कुरा बुझिसकेको थिंए । "भर्खर लाईक गर्या फोटो, त्यसमा कमेन्ट पनि लेखिदिउ न भन्या के" उ प्रष्ट सँग बुझाउँदै थिई । "तिम्रो तस्बिरमा लेख्न लायक कुनै शब्द नै भेटिन मैले" मैले लेखें । "ए! म त्यति नराम्रि छु?" उसले घुमाउरो पाराले ब्यङ्ग प्रहार गरि जवकि उसलाई पनि थाहा थियो कति सुन्दरी छे भन्ने । "हा हा, त्यसो हो भने भन न म के लेखिदिउँ ? " उल्टै उसैलाई सोध्दै थिएँ । "तिमिलाई जे मन लाग्छ ? " उसले लेखी । "मनमा राम्रा नराम्रा दुबै कुरा हुन्छन् नि " मैले स्माईली फेस सहित पठाएँ । "मलाई थाहा छ, तिम्रो मनमा नराम्रो कुरा चै झट्ट आउँदैन" मलाई मख्ख पार्न खोजि । "त्यसो हो भने के लेखिदिउँ ? " मेरो प्रश्न । "तिम्रो ईच्छा" लेख्न लायक जे लेखिदिए पनि हुने जस्तै सहमति जनाई । " 'आई लभ यु सो मच' लेखिदिउँ ? " म अलि जिस्किएको पारामा भनिदिए, रियलमा यति भन्ने हिम्मत कहिल्यै गरिएन । "हा हा... पागल, यस्तो कुरा कमेन्टमा लेख्छन् ?" :D :D हाँसो मिसिएको स्माईलि आईकन सहित पठाई, उस्को अर्थ थियो कमेन्टमा होईन दम भएकोले ईनबक्समा भन्नू नि । "नक्कलि लेखिदिउँ? " मेरो अर्को प्रश्न । "के म नक्कली छु? " उसको प्रतिप्रश्न , मतलब नक्कली भनेको मन पर्दो रहेनछ भन्ने बुझ्नु पर्यो । "सो स्विट, हाउ स्विट, ब्युटिफुल यी त सबैले लेखिसकेका छन् त ।" उस्को तस्वीरको कमेन्टहरु जे थिए भनिदिँए । "तिमि पनि लेख केही" फेरि अर्को अनुरोध बिसाई । " लेख्न कर नगर न है, तिमी यति सुन्दर छौ कि तिमिलाई थाहा नभए मलाई सोध । तिमिलाई समर्पण गर्न लेखिएका हरेक शब्द पनि निथ्रुक्क हुन्छन् , लजाउछन, शब्द त के कुरा मलाई लाग्छ तिमिलाई देख्दा फुलेको फुलले ईर्ष्या गर्छ, भमरा पनि झुकिन्छन र चाँदनिले पनि लजाएर बादलुको घुम्टो भित्र लुक्दछे । अब तिमिनै बताउ मलाई, तिमिलाई म कुन शब्दले समर्पण गरौं ?" हल्का बढाई चढाई गरि लेखिदिँए । "म मख्ख" उसको जवाफ । "मख्ख पर्नु पर्दैन, कस्तुरीलाइ पनि त आफ्नो बासनाको हेक्का हुँदैन नि त" म शब्दमा शब्द थप्दै गएँ । "नाटक" उसले संका गरे जसरि भनी, अर्थात शब्दहरू अलि बढिनै भएछन् क्यार । "कुनै कुनै कुराहर रियलमा भन्दा नाटकमै मिठा लाग्छन् तर माथिका कुराहरू नाटक होईन वास्तविक हुन् । नजिकै ऐना छ भने हेर र आफै मुल्यांकन गर म कति सहि रहेछु" म, उसको बारेमा उसलाई भन्दा धेरै थाहा भएजस्तो गर्दै बिश्वास दिलाउँदै थिँए । "हि हि, ल ल पुग्यो हजुर पुग्यो, न लेखे नलेखिस्सियोस् । बाई, गुड नाईट, ह्याब अ स्विट ड्रिम" उसले अब हाम्रो कुराकानीको बिट मारिदिई । "हवस् त शुभ रात्रि, आफ्नो ख्याल राख्नु" सहमतिमा भनिदिँए । उ अफलाईन भएको करिव १०-१५ मिनेट पछि ल्यापटपमा जोडिएको माउसको तार फुकाएँ र ल्यापटप बन्द गरेर बिस्तारा छेउको टेवलमै राखें अनि एक पल्ट जुरुक्क उठेर झ्यालका पर्दा तानेर मिलाएँ र बिजुलिको स्विच पनि निभाए पछि बिस्तारामा सोजिएर सोंच्न थाले "साँच्चै त्यति अनुरोध गरिदिए पछि एउटा कमेन्ट् त गरिदिनु नि है ? म पनि क्या छुचो होला " जे भएपनि कमेन्ट चाहिँ लेखिदिनु पर्यो ठानेर फेरि मोबाईल बाट फेसबुक खोलें अनि उसको नामबाट सर्च गरि उसको टाईमलाईनमा मन्द मुस्कानको साथ सजिएको तस्विरको कमेन्ट बक्समा केही समय सोच्दा पनि कुनै शब्दहरू नआए पछि अन्त्यमा लेखिदिँए " अति सुन्दर तस्बिर ।"

Post a Comment

0 Comments