म कति सम्म अराजक छु/थिएँ ?
म कति सम्म स्वार्थी छु/थिएँ ?
म कति सम्म घमण्डी छु/थिएँ ?
माथीका प्रश्नहरुको उत्तर सायद कमैलाई थाहा छ । जसमध्ये अली बढी कसैलाई थाहा छ भने त्यो तिमी हौ । म कति सम्म अराजक छु अथवा थिएँ भन्ने कुरा तिमिले बाहेक कसैले बुझेकै छैन । सायद । ती दिनहरु मलाई झल्झली सम्झना आउँछ । जुन वेला तिमी र म एउटै छानामुनी काम गथ्र्यौं । म यतिसम्म अराजक थिएँ कि हरेक काम मेरो सजिलो होस भन्ने चाहान्थें तर सबै काम नियम संगत भएझैं भ्रम हुन्थ्यो वा तिमी पनि तिम्रो सजिलो खोज्थ्यौ कुन्नी ! म सकेसम्म आफ्नो अड्डी छाड्दैनथें । खै कुन्नी कुन कुराको घमण्ड थियो म मा ? हाम्रो मत नबाझिएको त दिन हुन्नथ्यो, सायद । त्यही अराजकताको प्रतिफल, एक दिन ८३ पेजको पेजमेकरको फाइल एकै निमेसमा रित्तो भयो ! तर मलाइ रिष उठेन, कारण मेरै थियो । म यत्ति साइज भए गजबले हुन्छ भन्थे, तिमी होइन एक दुई ईन्टर मार्नु पर्छ भन्थ्यौ । त्यसपछि तिमी र जमसेर अघि बढ्यौ र एक दुई इन्टर मार्ने क्रममा प्राविधिक गल्तीले ८३ वटा पेज एउटा पेजमा झ¥यो । त्यो पनि खाली, मिनेट–मिनेटमा कन्ट्रोल यस थिच्ने बानी तिम्रो पनि उस्तै थियो । अब त्यो पेज खाली सेभ भएर बसेछ! भएन बर्बाद ? तर यो कुराले मलाई हाँसो लागिरह्यो । तिमिहरुले मलाई मेरै ठाउँमा ल्याएर पछा¥यौ । म खुरुखुरु सुरुबाटै काम सुरुगरें ।
त्यती मात्रै होइन ती दिनहरुमा तिमिले हो भन्यौ भने म होइन भन्थे । तिमी होइन भन्थ्यौ भने म हो भन्थे । मलाइ सत्य–असत्य सँग मतलव थिएन । मलाई ठीक बेठीक सँग मतलब थिएन । बस् समय नै यस्तो चल्यो हरेक कुरामा म तिम्रो बिपक्षमा रहिरहेको हुन्थें । सायद म त्यही उमेर बाट गुज्रिरहेको थिएँ कि? तिमी म भन्दा केही पाको थियौ त्यसैले सबै सम्हालिरह्यौ । म त्यसो गर्दा सम्म मन नदुखाई सहिरहन सक्ने तिमिलाई आजको समयमा रहेर हिँजोको पानाहरु पल्ट्याउँदा सम्मानको शिखर चुलिएर आउँछ । सायद तिम्रो र मेरो ग्रह जुधेको हुनुपर्छ ती दिनहरुमा । अथवा मेरो बानी नै त्यस्तै थियो । आजको दिनहरुमा पनि जिवितै छ, त्यसैले आजका दिनहरुमा पनि कसैसँग ठाकठुक परिरहन्छ । हाम्रै वरिपरी रहनुभएका वरिष्ठ मान्छेहरु सँग, साथीहरुसँग, मन मिल्ने मान्छेहरुसँग र कमल जी सँग पनि जो मेरै साथमा हुनुहुन्छ ।
मेरो त्यो समय कति दिन अथवा महिना सम्म चलिरह्यो मलाई खासै सम्झना छैन । सायद म धन कमाउन भारत गएर फर्किए पछि चैं सुध्रिएर पो आएँ कि ? जब चार महिनामा तीन वटा जागिर गरेर फर्किएँ सायद म मा अलिअलि चेत पलाए होला! हुनसक्छ केही धैर्यता भन्ने सिकेर फर्किएँ । आत्म ज्ञान प्राप्त गरेर फर्किएँ । काम के हो र समय के हो भन्ने कुरा सिकेर फर्किएँ । भौगोलिक दुरी र सम्झनाको भनेको के हो भन्ने पाठ पढेर फर्किएँ । आफ्नाको साथ र पराईको दुव्र्यवहार देखेर फर्किएँ । देशको मायाँ के हो? परदेश के हो ? को आफ्नो ? को बिरानो ? यस्तै धेरै कुराको बोध भयो जब पञ्जाबी मान्छेको नमकिन फ्याक्ट्रीमा दिनको १०० देखी २०० गाली ग्रहण गर्नु प¥यो, त्यो पनि बिनाकारण । र पनि घरदेशको सम्झनाले बाहेक अन्य यावत कुराहरुले कहिल्यै सिरानी भिजाउने काम गरिन ।
साथी, ती अघिल्ला दिनहरुमा हाम्रो बिचार जति बाझिएता पनि खाना खाँदा, खाजा खाँदा, कतै घुम्न जाँदा, कुनै रमाइलो तथा मनोरञ्जनात्मक कार्यक्रमहरुमा भने हामी सितिमिती छुट्टिएनौँ । अझ हाम्रो घरका खेतीपातीका कामहरुमा समेत तिमी साथै हुन्थ्यौ । नत्र तिमीलाई के खाँचो हुन्थ्यो ! कहाँ न कहाँको केटो, न आमा तिरको न बाउ तिरको जसको साथसाथै रहनु, हिड्नु, डुल्नु ! मनको सम्वन्ध थियो । हामी साथी थियौँ । तिमीले साथीको असली परिभाषा सिकाएका थियौ । र आजपनि छौ । सम्मान छ तिमीलाई ।
म भारत बाट फर्किदा पनि तिमी त्यही पुरानो ठाउँमा आफ्नो कर्तव्य निर्वाह गरिहेका रहेछौ! केही दिन पछि जिल्ला निर्वाचन कार्यालयद्वारा फोटो सहितको नामावली संकलन गर्न कम्प्युटर अपरेटरको लागि टाइपिङ्ग टेस्टको सूचना जारी भयो । करिब पाँच महिना पछि मैले पुनः किबोर्डमा हात राखें । आवेदन तिमी पनि दिएका थियौ तर टेस्ट नदिने अड्डी कस्यौ । मैले के भनें कुन्नी! सम्झना छैन र टेस्टमा सहभागी हुन राजी भयौ । नाम हामी दुवैको निस्कियो । म त अझ प्रथम भएछु! दोश्रो हुनेले भन्दा १८ वटा शब्द बढी टाइप गरेछु! केही दिनपछिको अर्को टेस्टमा सिता मिस (अहिले म्याम) प्रथम हुनुभयो । जुन नवलपरासीमा कम्प्युटर अपरेटरमा कार्यरत हुनुहुन्छ ।
नाम निस्कियो । प्रथम त भएँ तर अन्तरवार्ताबाट मलाई काममा जान नमिल्ने उर्दी जारी भयो । कारण मैले पढ्दै गरेको दोश्रो पटकको कक्षा १२ को परीक्षा चल्ने समय थियो । सरहरुले पढाइ भन्दा ठूलो पैसा होइन भनेर धेरै समय सम्झाई बुझाइ गरिरहनु भयो । पढाइ ठूलो की पैसा त म आज परदेशमा सांकेतिक भाषामा दिनभर जोतिदा मात्रै बुझेको छु । त्यो समय उहाँहरुले जे बुझाउनु भयो मैले बुझेजस्तो गरेर बाहिरिएँ ।
पछि, जब तीन जना कर्मचारी निलम्बित हुनुभयो तिम्रै जानकारीमा पुनः कार्यालय गएपछि उक्त कार्यक्रममा सहभागी हुने मौका मिल्यो । नयाँ कर्मचारीमा साथीको बहिनी सिता र म थियौँ । त्यो समयमा नारायण भुसाल ज्यू को सहयोग पनि म भुल्न सक्दिन । त्यस पछि त कति रमाइलो भयो–भयो, के कुरा गर्नु! एक जना सँग त धन्नै मायाँ बस्या ! मैले भो भनेर मात्रै ।
सम्झनाकै शिलसिलामा मलाई अर्को कुरा याद आउँछ ।
मैले माथी नै भनें । हामी मेलापात अथवा खेतिपातीहरुमा पनि संगै हुन्थ्यौँ । एक दिन हाम्रोमा धान रोप्ने कामको आयोजना थियो । तिमी आँखाको सुरक्षाको लागि कालो चस्मा लगाएर हिलो खेतमा पस्यौ र गोरु समायौ । खोक लगाउन थाल्यौ । तिम्रो आँखाबाट चस्मा कतिबेला गायब भयो भन्ने सुइको समेत पाएनौ । हामी त्यो दिन केही बेर खुब हाँस्यौँ । पुरन, उमकान्त, म अनि बहिनी शारदा पनि थिई कि..!
त्यो दिन रमाइलो मा बित्यो । अहिले पो त्यो चस्माले मलाई अर्को कुराको याद गरायो । उक्त चस्मा मलाइ एकजना केटीसाथीले उपहार दिएकी थिइन् । जुनबेला म कम्प्युटर ईन्ष्टिच्युटमा काम गर्थे । करिब १०–११ घण्टा लगातार सिआरटी मनिटर सँग आँखा जुधाइरहेको देखेर उनको मनमा दया जागेर दिएकी होलिन् ! आँखा नदुखुन् भनेर । कहिलेकाँही डिजाईनको कम गर्दा भने रंगहरुनै फरक देखिने भएकोले उनको सामु बाहेक मैले त्यो चस्मा खासै लगाइन । उनी त्यही ईन्ष्टिच्युटमा कम्प्युटर सिक्न बिद्यार्थीको रुपमा आएकी थिइन । सधै एक दुई घण्टा छिटो आउने र एक दुई घण्टा ढिलो जाने गर्थीन् । आफूले सिक्ने १ घण्टाको समय बाहेक अन्य समय मेरै नजिक बसेर मैले काम गरिरहेको हेर्थिन् । सायद के के भन्थिन् पनि! तर जब म काममा मात्रै ध्यान लगाउँथें, अन्य कुराको खासै वास्ता हुँदैनथ्यो । उनले सोधको जवाफ नजानेरै वेवास्ता गर्दो रहेछु! अथवा एकदम ढिलो जवाफ फर्काउने रहेछु! कुनै–कुनै कुरा त सुन्दो नै रहेनछु! एउटा अचम्मको वेवास्ताले उनको मन दुखाउँदो रहेछु! हुन त म आज पनि उस्तै छु । कुनै कुराको गहिराइमा छु भने अन्य कुराहरुले खासै छुदैनन् । साच्चै हो मैले सुन्दै सुन्दिन । यो कुरा मेरा निकटतम साथीहरुलाई मात्रै थाहा छ । बिमला आन्टिलाई पनि थाहा छ । भन्नु हुन्थ्यो । “यो केटाले केही गरिरहेको छ अथवा मोबाइल÷कम्प्युटर चलाइरहेको छ भने यसलाई नबोलाए कै जाति, यसले सुन्दै सुन्दैन । बोली मात्रै खेर जान्छ । यसले त गाली गरे पनि थाहा पाउन्न ।”
उनि त्यसरी नजिक भइरहनु, बोल्न खोज्नु, समय समयमा फोन तथा म्यासेज गरिरहनु सायद शिक्षक र बिद्यार्थी भन्दा अर्को कारण पनि थियो कि ? अन्य कारणहरुलाई मैले अन्जानमै वेवास्ता गरिरहें । उनका फोन तथा म्यासेजहरु मैले मेरो फुर्सदमा मात्रै सम्बोधन गरें । त्यो पनि पूर्ण औपचारिक । अन्य समयमा भने राम्रै सँग हाँस्ने बोल्ने गथ्र्यौँ । मेरो वेवास्ताको सिमा बढ्दै गयो । उनको मन साँघुरिदै गयो । यसै क्रममा उनको मनमा नजानेरै फक्रेको मायाँको फूल पनि बिस्तारै ओइलाउँदै गयो । त्यो समयमा म यी कुराहरुबाट अनविज्ञ रहें जबसम्म उ उनको बिहमा सामेल भइन । सायद उनी मलाई मन पराउँदी रहिछन्!
एक दिन फेरी म भएको ठाउँमा आइन । म के काममा ध्यान मग्न थिएँ कुन्नी ! केहिबेरको प्रतिक्षा पछि एउटा कार्ड मेरो टेवलमा छाडेर गइन । नबोली आएकी मान्छे नबोलेरै गइन । जब कामबाट मुक्ति पाएँ अनि हेर्दा पो थाहा पाएँ! बिहेको कार्ड रहेछ! फोन गरेर तुरुन्त बधाई दिएँ । औपचारिकतामा धन्यवाद भनिन् र अर्को औपचारिकता जसरी भए पनि आउनुस् है । म एकदिनको छुट्टी लिएर उनको बिहेमा सामेल हुन गएँ । औपचारिकता पुरा गर्न । सायद त्यो निमन्त्रणा पत्र औपचारिक कर्तव्य पालन मात्रै थियो । यो कुराको ज्ञान पनि पछि मात्र थाहा भयो ।
जब म उनको घर पुगें । उनी मात्रै होइन घर पनि बेहुली जस्तै सिगारिएको छ । हल्ला खल्ला, भोज भतेर, बाजागाजाहरु धेरै कुराहरु छन् । जो देख्न सकिन्छ । म पुग्दा गोडा धुने काम भइरहेको थियो । म उनको घर पछिाडी जान्छु र एउटा खाममा रु १०५ राखेर फर्कन्छु । अब टिका लगाइदिने पालो मेरो ।
जब उनले मलाइ देखिन् एकाएक उनको मुहारको ज्योती निभ्यो । एकैछिन अघिकी उज्याली मान्छे कसरी अध्यारी भइन्! लाग्यो मेरो उपस्थितीले मुहारको दियोलाइ फुः गरेर निभाइदियो । एक पूर्ण चन्द्रमा ग्रहण लाग्यो । अनुहरुमा कालो बादल छायो जुन सहजै देख्न सकिन्थो । मन भित्र भएको उथलपुथल र अकल्पनिय रुपमा बिष्पोट ज्वालामुखीको त म के अनुमान गरु! म जे देखें त्यो मात्रै भन्न सक्छु । अनुमानहरु त गलत पनि हुन सक्छन् । म त्यो परिस्थिती बाट गुज्रिएँ जहाँबाट म फरक्क फर्किएर भाग्न समेत सक्दिनथें । उनको इच्छा पनि सायद यहि थियो कि मेरो नजर बाट भागिहाल् । तुरुन्त । भर्खरै । अहिल्यै ।
मुहार उस्तै अध्यारो छ । उनले भुईंतिर हेरिरहेकी थिइन् । आँखामा नजानिदो किसिमको ताल बनेजस्तो देखें । जब म उनलाइ टिका लगाइदिन हातमा टिका उठाएँ, उनले अलिअलि हेरेका आँखा पनि बन्द गरिदिइन् । यो अवस्थाले मलाई पनि घाइते जस्तै बनायो । म हात कमाउँदै जसोतसो उनको निधारमा केही राता अक्षताहरु टाँसिदिएँ । अब म पनि उनको मुहार हेर्न सकिन र अन्यत्र बायाँतिर मुन्टो फर्काएँ । भर्खरै तैयार एउटा खाम उनको हात नजिकै पु¥याएँ । बन्द आँखाले देखिनन् वा उनी समाउन चाहिनन् ! केही समयमा त्यो खाम उनकी लोकन्त बसेकी साथिले समाएर राखिदिइन । म उनको मुखै नहेरी केही पर सरें र एकै पल उनलाइ हेर्न साहस बटुलें । भर्खरैको कालो बादल त झरीमा परिणत भएछ! उनले त आँखाको चेपबाट आँशुका थोपाहरु गुडुल्काइछन् ! उनको श्रृंगार नबिग्रियोस भनेर अथवा उनको गाजल नबिग्रियोस जस्तो गरेर लोकन्त भने उनको मुहारमा सानो रुमाल लतारिरहेकी थिइन ! यो अवस्थाको साक्षी को–को भए, अथवा को–कसले ख्याल गरे! कसले के सोंचे ! त्यो त म भन्न सक्दिन तर मलाइ भने उक्त समारोहमा सहभागी भएको ग्लानीले केहिबेर पोल्यो । उक्त कोलाहल बाट अली पर, एकान्तमा गएर लामो लामो स्वास लिंदै फोक्सोमा चिसो वायु पु¥याएँ र करिव १० मिनेट सम्म, म सामान्य बन्ने प्रयास गरिरहें ।
उनी थिइन मलाई चस्मा उपहार दिने मान्छे । अन्जानबस् जसको भावनाको कदर गर्न सकिन । त्यही चस्मा थियो जुन दिन खेतका गह्रामा हराएको थियो । यदी कुनै बिज हुन्थ्यो त टुसाउथ्यो, उम्रन्थ्यो र ठूलो रुख बन्थ्यो होला पनि । त्यो दिन, मैले चाहेर पनि फाल्न नसकेको चस्मा, भगवानले तिम्रो हातबाट माटोमा विसर्जन गराइदिए । सँगसँगै उनि सँगको सम्बन्ध र सम्झनाहरु पनि बिस्तारै माटोमै मिल्दै गए । धन्य भगवान, धन्य तिमी । मलाइ एक बल्झिइरहने दिर्घरोग बाट पार लगाइदियौ ।
हाम्रो मित्रता दुनियालाई डाह लाग्ने थियो थिएन! तर आहा लाग्ने चैं पक्कै थियो । जब हामी तीन जना मिलेर एउटा डेस्कटप कम्प्युटर किन्यौँ त्यसपछिको रमाइलोको त के कुरा गर्नु! केही कुरा सिकियो । फिल्महरु हेरियो । गीतहरु बजाइयो । कुनैकुनै काम खोजेर कोठामा लिएर गरियो । धेरै कुरा गरियो । अझ धेरै मनोरञ्ज गरियो । गीत बजाइयो, ढोका थुनियो र खुब नाचियो पनि ।
खासमा म नाच्न एकदमै लजाउने मान्छे हो । अझ गाउँघरमा तीजको गीतहरुमा, धेरै मान्छे गीत गाउँदै थपडी बजाउने, बीचमा एक जना छम्–छम् नाचेको देख्दा त झन कस्तो–कस्तो लाग्छ! यही कुरा म सिर्जना र प्रतिभालाई पनि सायद भनेको छु । उहाँहरु मेरो मिल्ने साथी हुनुहुन्छ ।
नाच्न त म नाच्छु । खुब नाच्दछु, यस्तो अवस्थामा नाच्छु कि, या त सबै मानिस नाचिरहेकै हुनु पर्छ या त एक्लै हुनुपर्छ । कुनै दर्शकको अघि नाच्न त के को सकुँ । बाफ्रे! खुट्टा काम्छ मेरो ! हुलमुलमा बीच बीचमा नाच्न चैं सक्छु । जहाँ कसैले ख्याल नगरोस् भन्ने खालको क्या । धेरै जना एकैपटक नाचेको अवस्थामा । बसेर, उठेर, घुमी घुमी नाच्न सक्छु । नाचको आफ्नै तरिका छ मेरो । सायद सबैको भन्दा पृथक पनि हुन सक्छ ।
अब आफ्नो नाचको तारिफ आफै गरौँ ?
म जस्तो सुकै गीतमा पनि नाच्न सक्छु । यो मेरो आफ्नै क्षमता हो । मलाइ यो कुरामा कुनै घमण्ड चैं छैन है । नेपाली, हिन्दी, अंग्रेजी, कोरियन, जापानिज, सबै प्रकारका गीतमा नाच्न सक्छु । बस् मेरो मुड मात्रै हुनु प¥यो । म । रेडियोमा बज्ने जिङ्गगलमा पनि नाच्न सक्छु । प्रोग्रामको सुरुमा बज्ने साइनिङ्ग ट्युनमा पनि नाच्न सक्छु । कार्यक्रमको पृष्ठभूमिमा बज्ने पार्श संगितमा नाच्न सक्छु । समाचारको बीच बीचमा बज्ने ब्रिज ट्युनमा समेत नाच्न सक्छु । समाचार, बिज्ञापन, सबै कुरामा म नाच्न सक्छु । अहिले तपाइ कुरा गर्दै हुनुहुन्छ भने त्यसमा पनि नाचिदिन सक्छु म । यो त मेरो नाच्न सक्ने क्षमता हो । अदभुत ! तर यो कुरामा कहिल्यै घमण्ड चैं गरिएन है ।
अब सुन्नुस् ! अर्को कुरा । नाच्ने कुरा कि त धेरै जान्यो भने सजिलो होला । कि त जान्दै नजान्दा सजिलो होला । म कुनमा परें थाहा पाइहाल्नु भए होला ? छैन भने अव थाहा पाउनुहुन्छ ।
खासमा तीज गीत होस वा लोक दोहोरी, हिपहप होस वा भजन किर्तन, जस्तोसुकै जुनसुकै गीतमा नाच्ने मेरो आफ्नै स्टाइल छ । यसलाई तपाइ सिद्धान्त भनेर बुझे बुझ्नुहोस् । नाच्नु भनेको के हो ? मेरो तरिका अनुसार नाच्नु भनेको अलिअलि घुम्ने, जाने हात घुमाउने नजाने हात ठाडो भएपनि बनाउने । अलिअलि खुट्टा चलाउने । बस् म र म जस्ताको लागि नाच भनेकै यही त हो । अनि मलाई नाच्न कुनै पनि गीत संगितको गतिले असर गर्दैन । चाहे घाँटु नाच होस् । चाहे भजन किर्तन होस् । चाहे रक गित होस् । म मेरो लाइन छाड्दैन । बरु लाइन त तीनै तिब्र गतिका गीतहरुले छाड्छन् । उनिहरु डबल स्पीडमा पर पुगिसक्छन् । आफू बिस्तारै बिस्तारै .. । कुरो बुझ्नु भो नि ? हो ती दिनहरुमा चुकुल लगाएर यस्तै प्रकृतिका नाचहरु खुब नाचियो । धेरै त म नै नाचें । हैट! फुस्कट म, के–के भनें भनें !
यी त भए अलि पहिलेका कुरा । जब तिमी र म केही समय छुट्टियौँ तिमी राजधानी छिर्यौ । के–के पढ्यौ, के–के गर्यौ । समय समयमा कुराहरु त भइ नै रहन्थे । जब म कोरियान भाषा पढ्ने मन गरेर राजधानी पस्ने कुरा तिमीलाइ सुनाएँ, तिमी पढ्दै गरेको जापानिज भाषा छाडेर सँगसँगै कोरियन पढ्न थाल्यौ । हामी दुबैलाई सजिलो भयो ।
चिन्ने जान्ने सबैलाइ लोकसेवा पढ्छु भन्दै राजधानी छिरेको म लुकिलुकि कोरियन भाषा पढ्दाको कुरा सम्झ्यो भने हाँसो उठ्ने कुरा कुरा धेरै छन् । पढिरहेकै अवस्थामा कसैले ढोका नक ग¥यो भने । को हो के हो सोच्दै नसोची सुरुमै किताब खाटमुनी हु¥याइन्थ्यो । कि त सिरानी मुनि च्यापन्थ्यिो । लुकिलुकि पढ्न बहुत गाह्रो रहेछ! कति पटक पाहुनाको रुपमा आएका साथीहरुलाई कोठामा सुताएर उनिहरु उठ्नु पूर्व कक्षा पुगेर आइन्थ्यो । र भनिन्थ्यो । यसो बिहानको हावा खाएर आएको । मर्निङ वाक । जाउँ चिया खान ।
बुद्धनगरको ओरालोमा एल.बि. सरसँग त कयौ पटक जम्का भेट पनि भयो । मेरो सधैको उत्तर हुन्थ्यो । मर्निङवाक गएर आएको । अथवा अन्य अरु बनाबटी उत्तरहरु । सबै कुरा सत्य बोल्थें तर यो भाषा पढाइको कुरा म सबैसँग लुकेर किन पढें ! त्यसको उत्तर मसँगै छ । म यहाँ प्रस्तुत गर्न चाहान्न । भाषा पढाइ सम्बन्धमा जो जसलाई थाहा थिायो अथवा भनेको थिएँ, उहाँहरुबाट बहुत राम्रो सहयोग प्राप्त भयो । उहाँहरु सबैको ऋणी छु म । जो जससँग छल गरेको थिएँ । उहाँहरु प्रति क्षमा प्रार्थी छु । सबै कुराले साथ दियो । अरु त अरु भाग्य र भगवानले पनि । आस्थिक हुँ, अलिअलि त विश्वास लाग्छ नै । सायद त्यो वर्ष म भाषा पास नभएको भए र कोरिया न आएको भए । आज यो पोष्ट कतारको कुनै कम्पनीमा बसेर लेखिरहेको हुन्थें कि ! अथवा नलेख्न पनि सक्थें ! कस्तो अचम्म ! कतार उढ्न तैयार भएको एक युवक कोरिया आयो !
अनि,
म कति सम्म स्वार्थी छु/थिएँ ?
सायद जानेर/नजानेर आफ्नो फुर्सदमा मात्रै उनिहरुसँग कुरा गर्ने साथीहरुलाई थाहा छ । आफूलाई समस्या परेमा मात्र मैले सम्झने गरेका गुरु अथवा अग्रजहरुलाई थाहा छ । केही राम्रो अवसर आयो भने पुराना काम÷कार्यालयहरुबाट अनुमति नहुँदा नहुँदै राजीनामा पत्र लेखेर बाहिरिने क्रममा उनिहरुलाई थाहा छ र मलाई पनि थाहा छ ।
म कति सम्म घमण्डी छु/थिएँ ?
जानेर/नजानेर गरिएका वेवास्ता झेल्ने साथीहरुलाई थाहा छ । बेफुर्सदीले उनिहरुको सवालको जवाफ एकदम ढिलो प्राप्त गर्ने अथवा प्राप्त नै नगर्ने हरुलाई थाहा छ । उनिहरुले अनुच्छेदमा सोधेका प्रश्नको उत्तर एक वाक्य अथवा एक शब्दमै प्राप्त गर्नेलाई थाहा छ । मायाँ गर्छु भन्दा भन्दै पनि माफ पाउँ म चैं तपाइलाइ मायाँ गर्न सक्दिन भन्ने उत्तर पाएका कसैलाई थाहा छ । आई लाभ यु को जवाफ थ्याङ्क्यु प्राप्त गर्नेलाई पनि थाहा छ । अझ धेरै थाहा त घमण्डी भन्दै म्यासेज गरेर ब्लक ठोकेर जानेलाई थाहा छ । सायद !
तर, म मा कुन कुराको घमण्ड छ भन्ने मलाई नै थाहा छैन । न त धनको, न त ज्ञानको, न त रुपको नै ! तर, खै.. भन्नेले घमण्डी पनि भन्छन्! यदि मेरो घमण्डको श्रोत थाहा हुन्थ्यो त म जरैबाट निमिन्यान्ट पारेर घमण्ड बाट मुक्त हुने थिएँ । सायद एक दिन पक्कै पत्ता लाग्ने पनि छ ।
र, म एक दिन अवस्य सुध्रने छु,
मानिसलाई सुधार्ने भनेको मायाँले हो रे! कसैसँग मायाँ बस्यो भने त अझ छिटो पो सुध्रन्छु कि !
कुरो क्या !
0 Comments