कुनै ठाउँ यस्तो पनि हुने रहेछ ! जहाँ शान्ति बाहेक केही कुराको कमी हुँदैन । भिडभाड, कोलाहल, धुलो–धुँवा, ठगी, चोरी, डकिर्ती । र यसैको बिचमा पनि ममताको खानीबाट एउटा तरङ्ग आइपुग्छ । गोजीभित्र थर्किन्छ एउटा सेलफोन भाइब्रेसनले । भिडभाडबाट थोरै छेउँ लाग्छु र फोन उठाउँछु । घरमा ठ्याक्कै खाना खाने समय भएको हुन्छ । आफ्नो सन्तान जो कलेजोको टुक्रा भन्दा बेसी लाग्छ, उसले ठीक समयमा खाएको नखाएको भुटो त हुन्छ नै । त्यो सानो हातेफोनद्वारा म सुन्दछु ‘कहाँ पुग्यौ ? खाना खायौ खाइनौ ?’ । खाना त ठीक समयमा खाइसकेको थिएँ र अर्को गन्तव्यको तैयारीमा थिएँ । उहाँलाई यकिन थिएन कुन गन्तव्यको समयसिमा कति हो । उहाँले सोध्नुभएको प्रश्न अघिल्लो गन्तव्यको थियो । जुन म ६/७ घण्टा अघि नै पुरा गरिसकेको थिएँ । घरबाट प्रस्थान गर्नुपूर्व भनेको पनि थिएँ ‘पुगेपछि म फोन गर्छु नि ।’ तर म भुलक्कड आफ्नै तालमा यताउता नाचिरहेँ । औपचारिक/अनौपचारिक भेटघाट र चियागफमा ब्यस्त भइरहेँ । भुलक्कड भनिसकेपछि सबैकुराको बेलिविस्तार लगाइराख्नु नपर्ला पनि । एकपटक ‘जाऊ बाख्रालाई थोरै घाँस राखिदिएर आऊ’ भन्ने आदेश पालना गर्ने क्रममा बाटोमा लइनबद्ध कमिलालाई हेरेर एक घण्टा बिताइदिएछु । खासमा म बिर्सिसकेँ के कामले हिडेको थिएँ भन्ने । एक अघाएको पेटले भोको पेटको मर्म सितिमिति सायद बुझ्न सक्दैन पनि ।
कुराकानीकै क्रममा म फेरी नि उही बाचा दोहो¥याउँदै छु
। पुगेपछि फोन गर्छु नि । यसै बिचमा मेरो झोला (ह्याड क्यरी) एक च्यानकुटे फुच्चेले
घिसारेर एक हात पर पु¥याउँछ । म अली चर्को स्वरले बोल्छु ‘के
हो के ?’ उ एक बित्ता पर सर्दछ । अनुहारमा हेर्दछ, सायद चर्को स्वरले उ पनि कम्पित हुन पुग्यो । भन्छ ‘हेरेको मात्रै हो ।’ फोनको
कुराकानीलाई म छिटोछिटो टुङ्ग्याउँछु । त्यो फुच्चे उक्त झोलालाई फेरी पनि घिसार्न
खोज्छ । ‘के गरेको हँ ?’ भन्छ ‘हेरेको मात्रै हो ।’ उ स्लाइड
डण्डी समाएर तलमाथी गराउँछ । मलाई एक किसिमको झिँजो लाग्छ ।
त्यो फुच्चेलाई एकाएक केही कुराको सम्झना आउँछ । मेरो नजिक आउनुको उसको उद्देश्य
अर्कै थियो । झोलाको चक्करमा बिर्सिदियो । अब भन्न थाल्छ ‘१० रुप्पे’ । मानौ हाम्रो
पुरानो हिसाबकिताब बाँकी छ र उसलाई मैले १० रुपैँया दिनुपर्ने छ । अथवा उसको दररेट
पहिल्यै देखी कायम गरिएको छ । प्रत्येक मानिससँग मात्र रुपैँया दश । तर उसले प्राप्त
गर्न मात्रै सफल भयो भने पनि, केही कम अथवा केही बढीले उसलाई
फाइदै हुने छ । यदी प्राप्त हुनै सकेन भने पनि दिनचर्याको केही मिनेट खेर जाने छ ।
त्यो त दिनकै गइरहेको छ । त्यसको के हिसाबकिताब ।
उसका हात अझैपनि मेरो झोलामा दौडिरहेका छन् । भनिरहन्छ ‘दिनू, दश रुप्पे दिनू ।’ अघि झोला घिसारिरहेको बेलामा जुर्मुराएको रौद्ररुप सायद
सेलाइसकेको छैन । झोलाबाट उसको हात हटाउँदै भन्छु ‘छैन पैसा सैसा, गइहाल् यहाँबाट’ । सायद म देब्रेहात फन्काइरहेको छु । अथवा उसको हात हटाउन
मैले देब्रेहातको प्रयोग गरेँ । उसका आँखा एकाएक मेरो देब्रे हातको घडिमा ठोक्किन्छन्
। झोलाबाट हात हटाउँछ र मेरो देब्रे हातमा झुण्डिन पुग्छ । म हात हटाउँछु । उ फेरी
मेरो हातमा झुण्डिन्छ । उसलाई धपाउने असफल प्रयास गर्छु । उ मान्दैन, उसको ध्यान घडिमै छ । बाँधिराखेको घडिलाई मुसार्छ, तान्छ,
थिच्छ जथाभावी ।
उसको क्रियाकलाप एकैछिन हेर्छु र भन्छु
‘नचलाऊ भाई’ । मैले भाई भनेँ । हो त मेरो घरमा पनि एक भाई छ । मलाई एकाएक भाईको
सम्झना आयो । केही वर्ष पहिले यस्तै त थियो । ठ्याक्कै यस्तै । चकचके, उत्सुक, निर्दोश । केही वर्ष पछि यो फुच्चे मेरो भाई
जत्रै हुने छ । अब त उसको मुहारमा पनि भाई देख्न थालेँ ।
कतै सुनेको थिएँ, पत्थर छिटो तात्छ र छिटै सेलाउँछ ।
सायद म पनि यसैको वरिपरी छु । पत्थर जस्तै हृदय बिनाको मान्छे भन्ने आरोप त शिरोधार्य
गरेकै हो । अरुको भावनालाई बुझ्न नसक्नु पनि ठुलै कमजोरी हो रहेछ । जसलाई मानिसले बेवास्ताको
थप्पा लगाइदिन्छन् । अथवा एक शब्दमा भनिदिन्छन् 'घमण्डी' । त्यो समयमा घटिरहेको क्रियाकलापलाई एकछिन चुपचाप हेरिरहन्छु । एकाएक लाग्दछ,
कमसेकम सडक पेटिमा भेटिएको भाई, जसको उत्सुकतालाई
पुरा गर्न म चुपचाप बसिदिए काफी हुन्छ ।
उ थिच्दै छ कताकता, घरिघरी तान्छ पनि । सायद उसको हातमा
प¥यो भने उ बेतोडले भाग्ने छ । एउटा सफलतामा, एउटा विजयमा । उसको उद्देश्य हातपार्नु होस् नहोस् । कथमकदाचित उसको हात प¥यो भने यसको मोल ? सायद दश रुपैँया । यो भन्दा बढी उसले
अघि पनि मागेको होइन ।
अकस्मात घडी भाइब्रेट हुन थाल्छ । उ थिच्नै ब्यस्त छ । उसलाई थाहा पनि छैन
उ के गरिरहेको छ । म भन्छु ‘यसरी थिच्यो भने बिग्रन्छ नि’ । ऊ भन्छ ‘बिग्रन्न’ । यसरी
भन्छ, यस्ता स्मार्ट घडीहरु ऊ दिनकै खेलाउँछ । मात्र उसको नाडीमा
सजाउन सकेको छैन । म सोध्छु ‘यदी बिग्रियो भने ?’
कति पर्छ यस्लाई ? यसरी सोध्छ, बिग्रिहाल्यो भने पनि अर्को
किनिदिने रकम बोकेर हिडेको छ ।
मैले त चार हजारमा किनेको हुँ । त्यती त
पर्ला नि ।
ऊ जिब्रो टोक्छ, ओठ लेब्र्याउँछ र मेरो कुरालाई झुठ सावित गर्ने तवरले भन्छ इस्
पर्छ चार हजार, सय रुप्पेमा आउँछ सय रुप्पेमा । म भन्छु तर मैले
त चार हजारै हालेको हो नि त । भन्छ ठगेछन् तपाइँलाई । मान्छे चिन्न पर्छ के,
नत्र ठग्छन् । मनमनै भन्छु, हो बाबु हो । ठग्छन्,
मान्छे चिन्न जान्दिन नि म । घरमा भाइ, बहिनिले
पनि त्यसै त भन्छन् । तिमीले पनि ठ्याक्कै त्यही भन्यौ । कति धेरै मान्छेको संगतले
यति सानै उमेरमा आत्मज्ञान प्राप्त भएहोला ! म सोच्छु । ऊ भनिरहेकै छ । सय भन्दा त
पर्दै पर्दैन । सयमा आउँछ सयमा । मलाई भन्न मन लाग्छ । भाई यदी यो सयमै आउँछ भने,
गइसकेको वा आउँदै गरेको तिम्रो जन्मदिनको उपहार तिमीलाई । तिम्रो दाइको
तर्फबाट ।
सन्सार दुई किसिमले बिभाजित छ । एक खुला आँखाको सन्सार र अर्को बन्द आँखाको
। जब खुला आँखाको सन्सारमा भइन्छ, बन्द आँखाको सन्सार विर्षनै
पर्छ । यसबेला रातीको ९ बजे । म जहाँ छु फुटपातमा, मेरो भाई तिमी
पनि त यहीँ छौ । यसरी तिमी र ममा फरक के को रह्यो ? मात्र उमेरको
न हो । वर्तमानको जुन उमेर छ त्यो त तिमीले भोलिका दिनमा भेट्याई छाड्छौ ।
घडिको चक्करमा केहिबेर उसले अघि मागिराखेको दश रुपैँयाको सम्झना बिर्सिदिन्छ
। एक दाइले बिना सित्तैमा पैसा पो किन दिन्छ ? त्यो पनि डेनड्रइड
सुघ्न ! यो हुन सक्दैन ।
एकछिनको मौनाता पछि म सोध्छु । भाईको नाम ? भन्छ,
नाम किन चाहियो ? दाम नदिने अझ नाम रे ! आह,
नाम र दामको अनुप्रास । क्या गजब । ऊ च्याठिन्छ र भन्छ ‘खाते’ ! लाग्छ,
उसले मैलाई भनेको हो । तर तीन सेकेण्ड जतिको अन्तरालमा पुन भन्छ । हुँ
म । उक्त तुच्छ शब्दले हृदय निचोरिन्छ । मैले सोध्न नहुने प्रश्न पो सोधेँ कि भन्ने
पश्चतापले गाल्दछ । ऊ पुन दोहो¥याउँछ खाते हुँ म खाते ।
हातमा रहेको प्लास्टिकको थैलिमा सकिन बाँकी डेनड्रइड सुँग्छ, आकास तर्फ हेर्दै फु... गर्छ र परपर सर्दछ । एक दाईको असिम मायाँले यो सब के
देखी सहन्छ ? अहँ । जान्छु उसको देब्रो हात च्याप्प समात्छु ।
ऊ हात झट्कारेर झन पर पुग्छ । धुलो मैलो भएको टाउको मुसार्छु । हातमा समाएर पुन आफुतिर
तान्छु । कति कोमल छन् उसका हात् । बिचरा उमेर नै कति पो भएको होला र ? बच्चा, बिचरा बच्चा । वाल्यकालमै यस्तो हविगत ! म सोच्न
सक्दिन । भन्छु, त्यसो गर्नु हुन्न नि भाई । तर उसलाई अर्कै कुराको
सम्झना हुन्छ । भन्छ दश रुप्पे दिनू ।
उसको दश रुपैँयाको अनुरोध वेवास्त गरिदिन्छु । यसो गर्नु हुन्न नि भाई,
यो के हो ? मलाई थाहा छ । त्यो डेनड्रइड हो र पनि
सोधिदिन्छु । भन्छ, डेनड्रइड हो यो । सोध्छु, के हुन्छ नि यसले ? ट्रिप दिन्छ ट्रिप । त्यति नि थाहा
छैन ? ऊ हाँस्छ । कसले सिकाएको यस्तो गलत काम ? ऊ घुरेर हेर्छ मलाई, लाग्दो हो यो गलत काम ? हँ ? सायद उसलाई गलत भनेको मनै परेन । म फेरी उसको टाउको
मुसार्छु ।
बसेको ठाउँबाट ऊ अली पर सर्छ र दुइ पटक स्वाठ्ठ तान्छ, फूःफू गर्छ । जुरुक्क उठ्छ र हात फैलाउँदै हा हा, हु
हु गर्छ । उफ्रन्छ । फेरी हा हा, हा हा गर्छ । सायद उसले सिकेको
विद्या यही हो । सुँग्ने, फू गर्ने र हा हा, हु हु गर्ने यसको नियममै छ । बाख्राको पाठो जसरी बुरुक्क उफ्रन्छ र पुन मेरै
छेउँमा आइ बस्छ । भन्छ, त्यो डेनी दाइ छ नि, त्यसैले सिकाको । म सोध्छु, अनि ? यो नलिए के हुन्छ नि ? आफ्नो अनुभवद्वारा वस् एक वाक्यमा
भन्छ, तपाईँ पनि लिनू त अनि थाहा पाउनुहुन्छ, रिलेक्स हुन्छ रिलेक्स । मैले एक पटक चिया सम्झन्छु र सोध्छु । कसले दिन्छ
नि तिमीलाई यस्तो ?
'फिरिमा त काँ पाइन्छ र? किन्न पर्छ किन्न ।'
'अनि पसलेले बेच्छ त ? '
'अहँ'
'अनि ?'
हामिले त डेनी सँग किन्छम् । सय रुप्पे
भन्छ । दश रुप्पेको पनि दिन्छ थोरै ।
फेरी त्यही बेला, स्वाठ्ठ, फूःफू । हा हा, हु हु । उसको नियमित क्रियाकलाप भइछाड्छ । म पुन अघिकै गल्ती दोहो¥याइदिन्छु । सोध्छु । तिमीले नाम त भनेनौ नि मलाई । ऊ असन्तुलन हुन्छ र मलाइ
घुरेर हेर्छ । सायद उसलाई आफ्नै नाम अनौठो लाग्छ । कसैले पनि आजसम्म नामले बोलाएकै
छैन । सायद उसलाई नाम किन राख्छन, नामको काम के हो ? भन्ने पनि थाहा छैन । नाम भनेको त्यही होइन जसले व्यक्ति वा पदार्थलाई बुझाउँदछ
। त्यो फुच्चे, भाईलाई बुझाउने नाम के त ? के त्यही तुच्छ शब्द हो जसलाइ उसले आफ्नो पहिचान सम्झेको छ । नाम सम्झेको छ
। दुनियाले खाते भनेर बोलाउँछन् । सडकछाप, उसले आफूलाई त्यही सम्झन्छ, दुनियाले जुन नामले बोलाउँदछन् । उसको म प्रतिको घुराइलाई मुस्कानले टालिदिन्छु
। ऊ टाढाटाढा आकासमा तर्फ हेर्दै, केही सम्झेजस्तो गर्दै भन्छ
। दिपक नाम हो मेरो । तर कसैलाई थाहा छैन मेरो नाम ।
अब म पो असन्तुलन भइदिन्छु । यो नाम ? यो नाम त मेरो
पनि हो । तर म उसलाई बताउँदिन । एउटै आकासको छानो मुनी, फुटपातमा
बसेका छन् दुई प्राणी । उनकै अघिबाट कति मानिसहरु आवतजावत गरे । कति यात्रुवाहक आए,
छुटे । एक प्रतिक्षमा छ गन्तव्यको लागि । अर्को प्रतिक्षमा छ कुनै दाताको,
सले १० रुप्पे भन्नासाथ खल्तीबाट रु दशको नोट उसको हातमा थमाइदियोस्
। बदलामा गाली, मायाँ अथवा उस्तै परे एक थप्पड पनि सहर्ष स्वीकार
छ ।
भाई तिमी र म मा उमेरको हिसावकिताब बाहेक फरक नै के छ र ? समयले घुमाईफिराई एकै ठाउँमा ल्याउँछ नै । म हिडेको बाटो भोली तिमीलाई हिड्नु
छ । फरक छैन भाई फरक छैन । उमेरको हिसावकिताब बाहेक केही फरक छैन ।
'भाइले सोध्छ, तपाईको गाडी आएन ?'
'आउला नि एकै छिनमा ।'
'ए...!' यो ए.. को अर्थ हुन सक्छ । यहाँको
बारेमा उसलाई सबै थाहा छ । र उसलाई थाहा भइसक्यो मैले अझै कति समय कुर्नु पर्छ । यहाँ
गाडीहरु प्राय भनेको समय भन्दा ढिला आउँछन् । सधैभरी, सबैले कुर्नै
पर्दछ । त्यत्तिकैमा उसकै उमेर समुहका ५–७ जना दौदादौड गर्दै आइपुग्छन् । ऊ मलाई हेर्दै
हाँस्दै, भिडमा मिसिन्छ । दौडिन्छ, उफ्रन्छ
र मेरै छेउँमा आएर बस्छ । चुपचाप ।
जव प्रतिक्षा गरिन्छ भने, समयको एक न एक विन्दुमा उक्त
प्रतिक्षको घडी समाप्त हुन्छ नै । तर मेरो गन्तव्यको वहान अझै आइपुगेको छैन । यो हल्लाखल्लामा
उस्तै प्रकृतिका अनोकौँअनेक आए, गए । लेखाजोखा रहेन । त्यो बस्
जुन भर्खरै मेरो अघि रोकियो । मेरो भाई जो छेवैबाट जुरुक्क उठ्छ र कुँदेर बसको ढोकामा
पुग्छ । दश–दश रुपैँया पाउने लालसामा । पछि फर्केर मलाई हेर्दै पनि छ । भन्दै छ दाई
दश रुप्पे, अंकल दश रुप्पे, दिदी दश रुप्पे
।
त्यो सहचालक वा उक्त वाहनको कर्मचारी हुन पर्छ । ठूलै गर्जनले लखेटदछ् । तर
यस्तो त दिनदिनै भइनै रहन्छ । दिनकै पनि कतिपटक भइरहन्छ । त्यो फुच्चे भाई आफ्नो अडान
छाड्दैन । जबरजस्ती गर्दै ढोकामा झुण्डीन्छ । बसमा चढ्न खोज्छ । त्यो सहचालक वा चालक
जोसुकै होउस्, त्यसले गर्धनमा, टिसर्टमा
समाउँछ तान्छ र आमाचकारी गाली फलाक्दै जमाएर एक लात हिर्काउँछ ।
आखै अगाडी, आकस्मिक घटित दृष्यले मेरो आँखा खुलेको खुल्यै
हुन्छन् । चिच्याएर भन्न खोज्छु, ए ! के गरेको ? त्यो मेरो भाई । मैले चिच्याएको मैले बाहेक कसैले सुन्दैन । मेरो वाक्य फुट्दैन
।
फेरी चिच्याउँछु । ए ! लौन ! मेरो भाई । ऊ त्यो । त्यल्ले हान्यो ।
त्ये सडकछाप होइन । थाहा छैन । कहाँ गयो । ढुन्मुनिदै । ऊ मर्माहत् छ ।
हान्यो । त्यल्ले । त्यसका खुट्टा ....
लौन ! कहाँ गयो ? त्यो मेरो भाई । दिपक । लौन !

0 Comments