समय चक्र

 साउनको महिना । बाहिर झरी परिरहेको छ । एक नारी शरीर घरको मझेरीमा घरी यता घरी उता डुलिरहेको छ । केही दिनको झरीले मौसम चिसो छ । तर त्यो नारी शरीर आगोको लप्कासँग खेलेजस्तै तातिरहेछ । चिटचिट पसिना आइरहेछ । पिडा झनझन बढ्दो छ ।

त्यसैको एक समय शरीर हिँड्न नसक्ने अवस्थामा पुग्दछ र एउटा कुनामा फलिन्छ । सायद यो नै अन्तिम समय रहेछ कि ! सायद जिन्दगी भोग्नु यत्ति रहेछ कि ? ए बा ! मरेँमरेँ ! ए आमा हो मरेँ मरेँ ! जस्ता शब्दहरू उच्चारण हुन्छन । यो जीवनको पहिलो अनुभव । प्रसव पिडा भयानक हुन्छ ।

घण्टौँको छटपटि पस्चात एक पल पिडाको महसुस अझ उच्च विन्दुमा पुग्दछ र एउटा नानी भूमिमा शिर टेकाउन आईपुग्छ । एकैछिनमा रुन्छ पनि ।

            जिन्दगीको यही घडी त हो जो एक रुँदा अर्को खुसी हुन्छ । हाँस्दछ । हर्षबढाई गर्दछ । अन्य समय त हाँस्दा हासिन्छ, रुँदा सहानुभूती प्रकट गरिन्छ । आँखा रसाउँछ । यदि त्यो समयमा त्यो नानी नरोएको भए वरिपरिका अरु मानिसहरू रुन सुरु गर्ने थिए । तर हाँसे । खुसी भए ।
लौ ! नाती भयो । लौ ! छोरो भयो । भन्दै हर्ष बढाइ गर्न थाले । नवप्रसूता नारी स्याहार गर्न थाले । नानीलाई न्यानो बनाउन थाले ।

            समय बित्यो । बित्दै गायो । प्रसव पिडा भोगेको केहि दिनमै कमजोर नारी शरीर आफ्नो काम आफै गर्दछ । कपडा धुन्छ । पानी बोक्दछ ।

            उता आमाले छोरी सपनामा रोइरहेको देख्दछिन् र सानी छोरीलाई भन्छिन् । लौन छोरी दिदी लिएर आइज । सपनामा रोइरहेको देखेँ । दुःख पाइ कि कतै !

            नवप्रसूताकी बहिनी दिदीलाई लिन आउँछिन र २० औँ दिनमा नानी लिएर माइतिघर पुग्दछिन् । नानीकाे हजुरबा बाख्राको खाेरमा पस्दछन् र भएभरकाे ठूलो बाेकाे छानी ल्याउँछन् । ढाल्न लगाउँदछन् । नानी र आमाको उचित स्याहारसुसार हुन्छ । 

            छ महिनामा नानीलाइ मामाघर बाट घरमा ल्याइन्छ । त्यसको छ महिना पश्चात अर्थात करिब बर्षदिन नपुग्दै नानी बिरामी हुन थाल्छ । रातभर रोइरहन्छ । दिनभर पनि रोइरहन्छ । डाक्टरको अनेक औषधीको झोलहरूले पनि शान्त पार्न सकेन उसको रुवाई । खै किन रुन्छ यो नानी ! न थाहा पाउँछ डाक्टरले, न धामी झाक्रिले । भोकले रुन्छ कि, ब्यथाले । नानीकी आमा पनि झनझन कमजोर बन्दै छिन । आहार व्यहारको कमी छ । छातिबाट प्रशस्त दुध रसाउँदैन जति रसाउनु पर्ने । त्यो भन्दा बढ्ता त बरु आँखा सराउँछ ।


            बिरामी हुन साथ माइत लैजान्छिन् । केही दिनमा निको हुन्छ । घर ल्याएको केही दिनमै पुनः बिरामी पर्दछ । यो प्रकृया चलिरहन्छ ।

            गाउँ त हो । घरहरु केही दुरीमा पक्कै छन् तर आत्मियता साथमै छ । कमसेकम जान्दछन् एक अर्काको व्यथा । छिमेकीहरू आफ्नो कामको मेलो सकेर बुझ्दछन् । जान्दछन् । खै भोकाएर रोयो कि ? जसजसका छाती रसाउँछन, दुध चुसाउँदछन् । त्यो नानी भर्दछ आफ्नो आन्द्राको केही भाग । तर सधैसधै त्यो व्यवस्था कहाँ पाउनु ?

            रुन्छ घरीघरी । शरीर झनझन सुक्दै जान्छ । नानीकै पिरले नानीकी आमा पनि बिरामी हुन्छिन् । अनुहार नै अध्यारो । शरीरमा रगतै नभएजस्तो ।

            गाउँबाट मानिसहरू आउछन् । भेट्छन् । सहानुभुति प्रकट गर्छन । चुक्चुकाउँछन् । भन्छन्, के साह्रै दुःख पायौ नि बरै !  यो उमेरमा ! उनको उमेर त्यो समय करिब २२ वर्षको हुन्छ । मन झन चिरिएर आउँछ । बरर आँशु खसाल्न बाहेक गर्न पो के सक्दछिन् ?

            अवस्था यस्तो छ । भगवान ! घर छाडेर जाउँ ! कहाँ जाउँ ? एक्लै छु, बसौँ कसरी बसौँ ? नानीको बाबु पनि घरमा छैनन् । घरमै भएपनि राम्रोसँग बोलचाल त हूँदिन । बोलचाल नभएपनि एउटा कर्तव्य त हुन्थ्यो । त्यै पनि जागिरमा छन् । के गरौँ कसो गरौँ । यो अवस्थाको बारे बेखबर कसलाई खबर गरुँ ?

            कठै बरा यो हालत । बाच्दैन कि यो नानी ! ज्यान सुकेर यस्तो भयो । कुनबेला छाड्ने हो । एक्लै नबस यस्तो बेला । कि कसैलाई बोलाऊ । बाबुलाई खबर पठाऊ । कि माइत जाऊ । यहाँ बस्दै नबस । सल्लाह सहानुभुति प्राप्त हुन्छ एउटा छिमेकी बाट ।

            यो अवस्थाको हदै पार हुन लाग्दा । एकदिन ढोकामा ताल्चा झुण्ड्याएर, पछ्यौरीको गाजोमा अनिस्चित भविष्यको यो नानी बोकी जन्मघरको बाटो नाप्छिन् ।

            बाटोमा चिनेजानेका महिलाहरुले देख्दछन् र सोध्दछन् । नानी बिरामी थियो भन्ने सुनेका थियौँ । के कस्तो भयो ?

            आमा पछ्यौरीको गाजो फुकालेर नानी देखाउँछिन् । जव नानीलाई देख्दछन् ति महिलाहरु जिब्रो टोक्दछन् । नानीकी आमालाई हेर्दै आँशु झार्दछन् । कठै बरा कति दुःख पायौ नि !

            यो नानी बाच्दै बाच्दैन । तिमिलाई बाटैमा छाड्छ । तिमी एक्लै नहिँड्नु पर्ने । बाटोमा छाड्यो भने तिम्रो के अवस्था होला । यही छाड बरु । यसले साथ छोड्छ । सास छाडे यतै पुरपार गरिदिउँला । दुःख पायौ बा, दुःख पायौ ।

            नानीको आमा बरर आँशु ढिका खसाल्दै नानीलाई लिन्छिन र हिँड्दछिन । रुँदै रुदैँ बाटो लाग्छिन् ।

            बाटोमा देउराली आउँछ । देउराली दाइने पारेर एउटा फूल चढाउँछिन् । मनमनै भन्छिन् । हे परमेश्वरी माइत पुगुन्जेल यो नानीलाई केही नहोस् । बचाइदेऊ परमेश्वरी देउराली माई । यो बच्चालाई केही नहोस् ।

            सुनसान जंगलको बाटो । आमा घरिघरि जाँच गर्दछिन, नानीको स्वास चलिरहेको छ ? साथी भन्नु कोही छैन । एउटा फुस्रो कुकुर कुन ठाउँमा भेटियो र पछि लागेर साथै आइरहेछ । भगवानले साथी पठाइ दिएहोलान् । साथी भन्नु यही छ । जंगलको बाटोमा, बाघभालु लाग्ने ठाउँमा ।

            जे–जे भोग्नु लेखेको रहेछ भोग्नु पर्ला भन्दै हिँड्दछिन र घाम नडुब्दै माइतीको आगनमा टेक्न पुग्छिन् ।

            आमाले भित्रैबाट देख्दछिन छोरी आई । खुसी हुने कि दुःखी हुने बिलखबन्दमा पर्दछिन् । छोरी आएकोमा खुसी त हुनु पर्ने हो तर रुँदैरुँदै पो आएकी छे ! के बित्यो मेरो छोरीमा । आँखा रसाईहाल्छ र पछ्यौरीको सप्को आँखामा पुर्याई हाल्छिन । र भित्रतर्फ आवाज दिन्छिन् । ए! सुन्नुस् तो छोरी आइछ, बाइर आउनू ।
            बाबु बाहिर निस्कन्छन् । मुहार अध्यारिन्छ । किंककर्तव्यविमूड भई छोरीलाई हेर्दछन् । सोध्दछन् । के भो छोरी 
? उक्त नानीको आमा भक्कानो छाडेर रुन्छिन् । त्यो पल लाग्दछ वाक्य नै फूट्दैन । नानीलाई आफ्नो बुबाको काखमा राखिदिदै भन्छिन् । यसलाई बचाईदिनु बुबा यसलाई बचाईदिनु ।

            त्यसपछि नानीको हजुरबुबा जो बनारसबाट ज्योतिस विद्या सिकेका थिए । ग्रहगोचर हेर्दछन् । बिचार गर्दछन् । सोध्दछन् । यो नानीले दुध खान्छ के ? आमा भन्छिन् । दुध आएपो खानू । आउँदिन । खाली रुन्छ मात्रै ।

            एकछिन बिचार गरी नानीको हजुरबा खोरमा भएको बोको छानी ल्याउँछन् । ढाल्न लगाउँदछन् । लाग्दछ कतै छोरीलाई आवश्यक पोषण तत्वको कमीकै कारणले यसो हुन गयो की ? बच्चा त जे होला । छोरी त बचाउनु पर्यो । फू गर्दा ढल्ने भएर आएकी छे । यति धेरै लामो बाटो कसरी आएकी होली !

            नातीका लागि आफुले जानेको तन्त्र, मन्त्र, झारफूक सबै गर्दछन् । भगवान पुकार्दछन् । डाक्टरलाई देखाऊँछन् । व्यथा कम हुन निकै समय लाग्दछ ।

            लक्षणले कुपोषण लागेको बच्चा खाली रोई मात्र रहन्छ । त्यो समयमा बच्चा बाँच्दछ वा बाँच्दैन भन्ने अनुमान गर्नका लागि गोबरमा जोख्ने चलन थियो । तुलाको एकापट्टी गोवर र अर्कोपट्टी गोवर राखी तौल गरी उक्त गोवरलाई कुनै ठाउँमा राखिन्थ्यो । उक्त गोवर आवश्यक सुक्ने प्रकृयाले बच्चा बाँच्ने वा नबाँच्ने सम्भावना पत्ता लाग्दछ भन्ने विश्वास थियो । यदी छिटै सुक्दै गयो भने बच्चाको अन्त्य निश्चित छ जस्तो अनुमान लगाईन्थ्यो ।

            उक्त नानीलाई गोवरमा जोख्दा पनि पहिलो पटकको जोखाईले दुःखद खबरको संकेत दियो । बाको संकल्पमा धक्का लाग्यो । कहीँ कतै त्रुटी पो भयो की ? परमेश्वरी भन्दै, भगवान जप्दै तीन–तीन पटक नानीलाई गोवरमा जोखियो । साथमा डाक्टरी झोल दवाइ तथा झारफूक चल्दै गयो ।

            समय बित्दै गयो । आमाको उचित स्याहारसुसार भयो । छाती प्रसस्त रसाउन थाल्यो । नानीले दुध चुस्न थाल्यो । डाक्टरको औषधीले काम गर्यो अथवा नानीको हजुरबुबाको प्रयास सफल भयो वा भगवानले उक्त नानी, आमा तथा हजुरबा माथी दया देखाए थाहा छैन । केही समय पछि महिनादिन पछि नानी हाँस्न खेल्न थाल्यो ।

            त्यो दिन नानीकी आमाले सहि कदम नचालेकी भए । नानीको हजुरबुबाले बचाउने हर प्रयास नगरेको भए । बर्षौँ पछि आजका दिनमा त्यो नानी आफ्नो जिन्दगिको कथाको एक अध्याय आफै लेख्न सक्ने थिएन । जुन तपाई भर्खरै पढ्नु भयो ।

दिपक राज



Post a Comment

0 Comments