स्व. पिताको सम्झना, दोश्रो स्मृती दिवस

आज भन्दा ठिक २ बर्ष अघि २०६९/१२/०२ गते मेरो जीवनमा लागेको महा भुकम्पको धक्का थियो । जुन धक्का १९४५ मा हिरोसीमा र नागासाकि मा बिष्पोट भएको अणु बम भन्दा कम थिएन । हिरोसिमा र नागासाकीमा १९४५ मा अमेरिकाले अणु बम खसाल्यो र विष्पोटको परिणाम आज सम्म पनि केही हद सम्म छ । मेरो जीवनमा पनि भगवान, दैव, यमराज वा जे भनौ उसैले महा भुकम्पको धक्का थिएको थियो । जसको असर मेरो स्वास रहुन्जेल सम्म, मेरो जीवनकाल सम्म असर रही रहने छ ।

    हुन त सन्सार स्वार्थी छ । म मान्छु म आफै पनि केही हद सम्म स्वार्थी हुँला, यो त अरुबाट मुल्यांकन हुने कुरा न हो, तर यो सन्सार भगवान र यमराज वा जे भनौ उसले यसरी म बाट स्वार्थ लुट्यो की सिमा नै छैन । स्वार्थ त लुट्यो साथै मेरो जीन्दगी र जीवनलाई नै तहस नहस पार्ने गरी लुट्यो । एकतर्फी आफ्नो निर्णय आफै गर्न नसक्ने अवस्थामा मलाई यत्ति ठुलो जिम्मेवारी सुम्पदै स्वार्थ पुरा ग¥यो । आज पनि ताजै छन ति दृष्यहरु जुन म उजाडिन पूर्व यी नयनमा पनि रेकर्डिङ्ग भै रहेका थिए । म कल्पना पनि गर्न सक्दिन आफ्नै काखबाट आफ्नै पिता गुमाउनुको पिडा । स्व. पिता, हजुरले प्राण त्याग गर्नु अघिका ति वार्तालाप, ति क्रियाकलाप, पूर्णविराम पनि फरक नपारी ताजै छन आजपनि । स्व. पिता पछिल्लो २ वर्षमा जब हजुर स्वर्गिय हुनु भयो अनि म मा के–के कष्ट आईपरे, मेरो जीवनमा के–के भयो तपाईलाई कसरी बताउँ ? कसरी व्यक्त गरौँ । आफन्तै बाट ठगिएन की ? विभिन्न क्षेत्रमा ठक्कर खाएन कि ? सोँचेको सपमाहरु चकनाचुर भएनन् की? .... के–के न भएन भनौँ ।

    यदि आत्मा स्वर्गीय हुने कुरा धुर्वसत्य हो भने, यो कुरा पनि सत्य हो, स्वर्गिय आत्माले यहाँको क्रियाकलाप नियाल्न पनि सक्दछन् । मेरा यी दर्दहरुलाई हजुरले पनि नियाल्नु भएको भए सायद ति निर्देश नयनहरुबाट नयन जल नखसे होलान भन्न सक्दिन । जीन्दगिको पहिलो पाठसाला घर र पहिलो शिक्षक, गुरु अबिभावक अर्थात आमा बुबा । आज यी लेखिएका शब्दको एक अक्षर वर्णहरु (क, ख, ग...) हजुरबाटै सिकेको थिँए तर जीन्दगीको शिक्षा पुरा नसिकाई हराउनु भयो, छाडेर जानुभयो । भन्छन यहाँ अरुको हेरेर जिउन सिक्नुपर्छ तर यहाँ त जस्को देखेर जीउनु पर्ने हो । उ स्वयं काल्पनिक जिवन जिईरहेका छन् । उ बाट जीवन जिउने तरिका कसरी साभार गर्न सक्छु र ?
      हजुरले सुम्पिएका जिम्मेवारी र कर्तव्य त कति पुरा गरेँ र कति पुरा गर्न सक्छु त्यो त म भन्न सक्दिन तर हजुर सँगको सहयात्रामा मैले जति शिक्षा ग्रहण गरे त्यसैलाई सार्थकता दिने छु । तपाई बाट सवल पक्षहरु अनुसारण गर्ने छु । सकि नसकी वा जानी नजानी सदैव अरुको भलो सोच्ने छु, सदैव भलो चाहाने छु, सकेकसम्म परिवारमा खुसी ल्याउने छु, हजुरलाई सदैव याद गर्ने छु, अन्य धेरै सकारात्मक कार्य गर्ने छु ।

    मैले कतै सुनेको थिँए, छोराले बाउको नाम मेट्याउँछ रे !, पहिला म उस्को यस कुरामा असहमति जनाए पनि पछि उसको जवाफ त्यति अ–सान्दर्भिक पनि लागेन । साच्चै छोराले क्रमश.. नाम मेटाउदै जाँदो रैछ, पहिला बैंक खाताको नाम सारी, चल अचल सम्पत्ति, लालपुर्जा, गाडी, घर, जाय जेथाबाट नाम परिवर्तन गर्दो रहेछ । भोली घरमा आउने विभिन्न चिठी पत्रमा समेत उसको नाम भेटिदैन ।  यहाँनिर नाम मेटाउछ भन्दा पनि, नाम मेटाउन अनुरोध गरिन्छ, नाम मेटाउन लगाइदो रैछ । तर हजुरको नाम म मेटाउने होइन अझ बढी लेख्ने छु । विभिन्न स्थानहरुमा लेख्ने छु । लेख्न मिल्ने जतिमा लेख्ने छु । प्रमाणित गर्ने छु नाम मेटाउने मात्र होईन छोराले चाह्यो भने नाम अझ धेरै स्थानमा लेख्न सक्छन भनेर । मैले लेख्ने प्राय गजल मुक्तकहरुमा हजुरमै समर्पित हुन्छन तर यहाँ कैयै पाठकहरुले बुझ्ने अर्थको अनर्थ पनि हुने गरेको छ । मैले कुनै दिन लेखेको थिँए । 
मेरो नसा नसामा हजुर अवस्थित ।
र यी दुई आँखामा हजुर अवस्थित ।।
 कसरी मेरो अस्तित्व वन्थ्यो होला र ?
 नभए नागरिकतामा हजुर अवस्थित ।।

मेरो नागरिकता, हाल सम्म प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाण–पत्रहरु, राहदानी यी हरेक चिजमा हजुरको नाम अवस्थित छ । यि त भए देख्न सकिने स्थानमा भएका नाम । अझ धेरै अदृस्य चिजमा हजुरको स्थान अग्र पंतिमा छ, उदाहरण नै दिन परेमा मेरो, तन, मन, रक्त सञ्चार, स्वास र धढकन... आदि ..., । रह्यो नाम लेख्ने कुरा, आगामि दिनमा हजुरकै नाममा स्मारिका प्रकाशन गर्ने छु । विभिन्न संग्रह लेख्ने छु जुन हजुरमै समर्पण गर्ने छु । मनले चाहेको सामाजिक काममा हजुरकै नामबाट गर्ने छु...., अन्य थुप्रै कामहरु गर्ने छु । भन्न त विभिन्न कामहरु गर्नेछु भन्दै छु, के थाहा यमराजले म बाट पनि यही स्वार्थ लुट्ने प्रयास ग¥यो भने सारा सपना सपनामै सिमित त हुने होलान्, हजुरले पनि त मनमा विभिन्न योजनाहरु तय गर्नु भएको थियो नि, यस्तो गर्नेछु, उस्तो गर्नेछु भनि, तर कस्लाई थाहा थियो र त्यो दिन त्यस्तो होला भनेर । स्वयं हजुरलाई पनि थाहा थिएन ।

पाल्पा मिसन अस्पतालमा पुग्न करिब बढिमा २ मिनेट न थियो मेरो काखैबाट हजुरले उच्चारण गरेको अन्तिम बाक्य – “छो..रा स्वास फेर्न गाह्रो भयो, क..कसैले घाँटी थिँ.,चे ज.स्.स्तो भ....भयो, सा..सा..सास फेर्नै.. दिए’को छैन...... ,” यही बाक्य भन्दै छटपटाउनु भएको थियो, मेरो मन थातमा तिएन । मेरो आधा होस त गुमि सकेको थियो । तर बेहोसिमै भए पनि काख अझ सजिलो बनाइ दिँदै थिएँ । कतै म पनि सोही बाटोमा त जाने होईन ? कतै मेरा पनि हजारौ योजनाहरु विफल हुने त होईनन्? यही कुरामा पल पल डर लाग्दछ तर यस्तो नहोस् । अन्य योजनाहरु चाहे विफल नै किन नहुन, चाहे अल्प आयुमै मलाई सोही मार्गमा होमिनु किन नपरोस, तर विभिन्न स्थानहरुमा हजुरका नाम अंकित गर्न पाउँ । दैव, देवता, ईश्वर, यमराज...हरुमा मेरो अुनरोध, एउटा ईच्छा चाँही पुरा गर्न पाउँ । विभिन्न स्थानमा स्व. पिताको नाम अंकित गराउने यो योजना चाँही सफल बनोस् ।
      – दिपक राज बन्जाडे,

Post a Comment

0 Comments