प्रेम र पागलपन - Deepak Raj Banjade

थाहा छैन प्रेम कसरी सुरु हुन्छ । थाहा छैन कसरी सुरु भयो । न त्यस्तो सुन्दरताले नै तान्यो । न त जुधे नजरहरु र बस्यो एकै नजरमा । अहँ यस्तो केही भएन । भयो त केबल प्रेम भयो । प्रेम यहाँ सम्म कसरी पुग्यो ? यसको उत्तर म सँग पनि छैन । कहिले बाट सुरु भयो ? यो पनि यकिन छैन । अनि अन्त्य ? म स्वयं सँग यसको जवाफ छैन । प्रेम गर्नेहरु सन्सारबाट हराए पनि जिवितै छन कतिपय प्रेम हरु । तर, मेरो प्रेम त्यसरी जिवित पनि त हुने छैन । किनकी यो प्रेममा म एक्लै परे, एक्लै मायाँ गरे । आफै हराएँ, आफै सकिएँ, आफै बर्बाद भएँ र आफै भासिए । एक्लै सपनाहरु सजाए, सबथोक एक्लै गरे । प्रेमको खाल्डोमा एक्लै परेँ र धेरै पल्ट खाल्डो बाट निस्कन खोँजेँ । कुवाको भ्यागुतोलाई जमिन किन पो प्यारो लाग्थ्यो ? म धेरै पल्ट लडेँ र आज आफै उठेर हिडिरहेकी छु । यो पनि थाहा छैन कि मैले प्रेम गरेको मान्छेलाई यो कुराको जानकारी छ ? बस् भगवान अब नहोस जानकारी । अब सक्दिन यो घाईते मुटुले उसलाई प्रेम गर्न । अब फेरी फर्कन मन छैन ति दिनहरुमा जहाँ म जानेर वा नजानेर भुल गरिरहेकी थिएँ । एउटा मिठो भुल, बिर्षनै नसकिने भुल ।  

हामी एउटै कलेजमा पढ्थ्यौँ । हामी मतलब ? उ आकाश, म, र अन्य बिद्यार्थी । म को ? साथीहरुको प्रियंका । मम्मी बाबाको कान्छी । दाजुको पिरे, प्राय दाजुले पिरे भनेर बोलाउँथ्यो । भाउजुको नानी  र उसको हुन नसकेको प्रियतमा । कलेज पो एउटै तर बिषय, संकाय फरक–फरक । कलेजको पहिलो बर्ष त्यस्तो खासै आकर्षण भएन । उ ठिक ठाक । म ठिक ठाक । मेरो पढाई पनि राम्रै थियो । मलाई उसको बारेमा त्यती धेरै थाहा थिएन । नाम र नाम सँग जोडिएका सामान्य जानकारी मात्र थाहा थियो । घर पनि निकै पछि थाहा भएको । पुर्व झापामा रैछ उसको घर । हामी साथी थियौँ । साथी त म अझै पनि छु उसको नजरमा । कलेजमा हुने बिभिन्न जम्का भेटमा पनि त्यती नजिक थिएनौँ सुरुका दिनहरुमा । कहिले उस्ले हाई भन्थ्यो, कहिले मैले । अनि सन्चै ? सकिए कुरा । प्रायजसो भेट पनि कहाँ हुनु ? पढाईमा राम्रै भएपनि हप्तामा २ देखी ३ दिन त गयल नै हुन्थ्यो । सामान्य परिवारको मान्छे निकै सहयोगी रैछ । बिस्तारै संगत गर्दै जाँदा थाहा भयो । केही ठुला त केही साना सहयोगहरु पाएकी छु मैले उ बाट । म उसको गुन कहिल्यै बिर्षन सक्दिन । यो सहर हो, कसैले स्वार्थका लागि सहयोग गर्छन । कसैले सहयोग गरेर स्वार्थ पुरा गर्न खोज्छन त कोही यी दुबैमा पर्दैनन् । ति दुबैमा नपरेको एउटा मन्छे उ पनि थियो । साधारण मान्छे, उसलाई कहिल्यै देखिन चुरोटको धुँवा सँगै । न त कहिल्यै सुन्न सकें म्या.. फलानो ढिस्कानो उसको मुखबाट । सायद यसैकारण पनि उ मेरो आकर्षणको बिन्दु बन्न पुगेको पो हो की ?

                    ***

क्याम्पसको स्नातक तहको पहिलो वर्षको परिक्षा फर्म भर्ने अन्तिम दिन । आज, बिहानै उठेँ । अरुदिन भन्दा सबेरै तैयार भएँ । फर्म भर्नको लागि चाहिने चिज कक्षा कक्षा ११ र १२ को जम्मा प्रतिशत, सिम्बोल नं. चाहिने चिज एउटा चिर्कटोमा लेखेर झोलामा राखेँ । नगदको रुपमा २ हजार मात्र बाँकी रहेछ । ए.टि.एम. कार्ड पर्समा छ छैन चेक गरेँ । खातामा पैसा थियो, अस्ती भर्खत त मम्मीले १० हजार राखिदिनु भएको । मैले फर्म भर्नलाई ९ हजार लाग्छ भनेकी थिएँ । क्याम्पसमा ७ हजार थियो । छोरी मान्छे के–के हो के–के किन्न मन लाग्ने । ओठमा लगाउने, आँखामा लगाउने । मुखमा लगाउने, मुख धुँदा लगाउने, आदी । तर अरु भन्दा म कम मात्रै प्रयोग गर्थेँ, लगभग अरुले प्रयोग गर्नेको २५ प्रतिशत । मलाई आफु साधारण देखिनु नै मन पथ्र्यो । कलेज जाँदा बाटोमा ए.टि.एम. मेसिन बाट नगद निकाल्नु पर्ने थियो । बाटैमा एउटा ए.टि.एम. मा गएँ । लौ यहाँ त आउट अफ सर्भिस पो छ ! केही छैन कति छन कति ए.टि.एम. के चिन्ता भयो र ? कलेजको नजिकै पनि त छ एउटा । खाजा खाने समयमा त्यतै बाट निकाल्नु पर्ला भन्ने सोँचे । कलेजको नजिकै पुस्तक पसल । पुस्तक पसलको छेउमा क्यान्टिन र अल्ली पर ए.टि.एम. मेसिन थियो । २ पिरियड पढेपछि २० मिनेटको खाजा खाने समय हुन्थ्यो । खाजा खाने समयमा पैसा निकाल्नु पर्ने थियो, पर्स हेरेँ र कार्ड लिएर म हिँडे । साथीहरु खाजा खान थाले । म पैसा लिन भनि ए.टि.एम. मा पुगेँ । ए.टि.एम. मेसीन ठिक थियो । ढुक्क भयो पैसा निस्कने भयो । कार्ड ईन्सर्ट गरेँ, पिन नं. थिँचेँ तर पैसा आएन । म्यासेज आयो “योर कार्डस् ईज एक्सपायर्ड” झसङ्ग भएँ । कार्ड हेरेँ आज डिसेम्बर २२ कार्डको समयवधी नोभेम्बर २८ । यतिका दिन सम्म मैले कत्ति ख्याल पनि गरीनछु । ड्याम्मै केहीले थिँचे जस्तो भयो । यता उता धमिलो देखेँ । मन अत्तालियो र रिंगटा चल्ला जस्तो भयो । तुरुन्त बाहीर निस्के । भित्रै बसेको भयो म ढल्ने निस्चित थियो । बाहीरको चिसोले मलाई ढल्न दिएन । त्यो चिसोमा पनि सरिर बाट चिट चिट पसिना आए । लाग्यो मनमा सानो पहिरो गयो । के गरौँ, के नगरौँ सोच्नै सकिन । कार्डलाई फेरी गोजिमा राख्न थालेँ । त्यत्तिकैमा गोजिको मोबाईलमा हात लाग्यो । यति बेला सम्म म एक कल साथीलाई वा घर फोन गरेर माग्छु भन्ने पनि सोच्न सकिनछु । रमा स्कुल पढ्दाको साथी पनि यही बस्थी । उ अर्कै कलेज पढ्थी । उसलाई फोन गरेर माग्छु भन्ने सोँचे । उ सँग पनि छ कि छैन थाहा थिएन । एक पल्ट सोधी हेरौँ भन्ने सेँचेर फोन डायल गरेँ । घण्टी बज्यो ।
“हेल्लो ।”
“रमा सन्चै छेस् ।”
“अँ ठिक छु । त नि ?”
“म पनि ठिकै । आज कलेज गैनेस् ?”
“नाई । आज २ वटा कलास थिएन । अनि अल्छी लाग्या म त अझै बिस्तारामै छु । अनि यति बिहानै फोन गरिस तँ पनि कलेज  गएकी छैनेस् र ?”
“नाई म कलेज आएको । हेर न आज कलेजको फर्म भर्ने अन्तिम दिन, मेरो एटिएम ले कामै गरेन । तँ सँग पैसा छ भने दे न ।”
“होर ? कति चाहिएको हो ? खै हजार–पाँच सय कति छ, तँलाई त्यतीले पुग्दैन होला ? हेर न हिँजो घरबेटीले यो महिनाको भाडा देउ है भनेर हिँजो दिउसो लगे भन्या ।”
“ए.., ७००० चाहिएको हो । पछि कुरा गरौँला है भनेर फोन राखेँ ।”

रेखा पनि यही थी, उसलाई फोन गरें । तर उसको मा त घण्टी नै गएन । ४, ५ पल्ट डाएल गर्दा पनि ईङगेज सिग्नल मात्रै देखायो । अब एउटै बिकल्प थियो अब घर फोन गर्ने । घरबाट पनि अस्ती भर्खर फर्म भर्नकै लागि भनेर पैसा मागेको । के भन्ने घरमा पनि, छ–छैन थाहा थिएन । फेरी बुबाले खै कहाँ घडेरी किने कान्छी । पैसा सबै उतै खर्च भयो भन्दै हुनुहुन्थ्यो । घर भन्या घर हो । भए अवश्य दिनुहुन्छ । नभए पनि खोजेर भए पनि पठाउनु हुन्छ भन्ने ढुक्क थिएँ । हतार हतार घर फोन गरेँ । २ पल्ट रिङ्ग हुँदा पनि फोन उठेन । तोश्रो घण्टी जाँदा स्वीच अफ भन्यो । जिल्लामा लोडसेडिङ्ग थियो, हिजो साँझ मम्मी सँग बोल्दा पनि लाईन नआएको ३ दिन भयो । मोबालईलमा चार्ज सकिनै लागेको छ भन्नु भएको थियो । फोन स्वीच अफ भएछ ।
मन फेरी आत्तिन सुरु ग¥यो । हिड्न सकस भयो । खुट्टा लुला भए । म चिच्याएर रुन सकिन, तर डडेलो लागेको मनबाट केही पिडाका बुँदहरु बास्पीकरण हुँदै आँखामा ठोकिन पुगे । झरी त बर्षेन तर झरी पर्ने पुर्व संकेत देखा प¥यो । नुनीला थोपाहरु खस्दै गए आँखाबाट । लाग्यो एक वर्षको पढाई बेकार भयो । म एक वर्ष लस हुने भएँ । मेरा बा आमाको सपना साकार पार्न नसक्ने भएँ । के सोचेकी थिएँ, के भयो । म पोखीदै पोखीदै कक्षामा गएँ । साथीहरु खाजा खाएर फर्किसकेका रहेनछन्  । डेक्सको झोलामा टाउको अड्याएर पग्लीन थालेँ आखाँबाट । आखाबाट बगेका केही बुँदहरु गालामा घेरो बनाउँदै झोला सम्म पुगीरहे ।  झोलाले पनि चाख्यो आँसुको स्वाद । मलाई सबैभन्दा पछुतो लागेको समय त्यही थियो । परीक्षा फर्म समेत एक महिनाको समयावधीमा नभरी अन्तिम दिनको लागि साँची राखेर ठुलो गल्ती गरेको कुरा बाराम्बर सम्झें । एक छिन पछि साथीहरु हाँस्दै, हल्ला गर्दै आए । कृती आई, कक्षाकी मेरी मिल्ने साथी । रेइरहेको देखेपछी आश्चर्य मन्दै सोधी ।
“ओई के भो ? किन रोएकी ?”
म बोलीन, आँशु पुछेर झन सुख्ख सुख्ख गर्न थालें ।
“ओई भन न.. , के भो ?” फोरी दोहो¥याएर सोधी ।
“पेट दुख्यो ? कि, के भो ? बिरामी भईस ? हिड् क्यान्टीन मनतातो पानी खाए पछि ठिक हुन्छ नी ।” भनी तर म भने टस मस नगरी रोईराखेँ । उसले नरो भन्दै सम्झाउन थाली । मलाई भने झन रुन मन लाग्यो । मनमा चाहिने भन्दा नचाहिने कुराले रडाको मच्याउन थाले । कसैसँग बोल्न मन लागेन । कसैलाई हेर्न मन पनि लागेन । न त कलासमा बस्न नै मन लाग्यो । डेक्समा रहेको झेला टिपेर कसैसँग नबोली बल्ल तल्ल लराङ्ग लुरुङ गर्दै । कलेज बाट निस्कीएँ । निस्कने बेला कृतिले भन्दै थिइ । रुक म पनि जान्छु, अस्पताल जानै परेपनि जाउँला भनेर । तर म सुनेको नसुने जस्तो गरेँ । गेटमा पुग्नै लाग्दा आकाशले देखे । म त उनिबाट पनि छलिएरै जान लागेकी थिएँ । 
एक्कासी “ओ प्रियंका.. के भो ? किन ?” भनेर सोधें
म झसंग भएँ, मैले जवाफ दिईन, हिडिरहेँ ।
“केही त भन, कस्ले के गर्यो ? सन्चो भएन ? के भो ? के ही त भन ?”
म अझै बोलीन अघि बढ्नै लाग्दा मेरो देब्रे हातमा च्याप्प समातेर “के म तिम्रो साथी होईन ? रोएर समस्या समाधान हुन्छ ? समस्या के हो भन न । मैले हल गर्न सक्ने समस्या भए म सहयोग गर्छु नि ।”
यत्ति भने पछि । मलाई बोल्न कर नै लाग्यो । केहीबेर अघि बाट अबरुद्ध भएको मेरो बोली अकमकाई अकमकाई निस्कीयो । “हेर्नुहोस न.. आज कलेजको फर्म भर्ने अन्तिम दिन । ए.टि.एम. ले कामै गरेन, नगद पनि छैन । साथीहरु सँग पनि रहेनछ । मेरो त एक वर्षको पढाई खेरै जाने भयो ।”
यति भन्दा अघि सम्म अलीअली चुइहेका आँसु झन बरर झर्न पो थाले । आँसु रोक्नै सकिन । उनको अलीकती साइडतिर फर्कीएर हातमा रुमाल थियो त्यो रुमालले पुछेर सुक्क सुक्क गर्न थालेँ । “धत् यति सानो कुरामा पनि यति दुखी हुन्छन् । चिन्ता नगर फर्म भर्ने म्याद आज अन्तिम भए पनि एकसाता जति फर्म यही रहने भएकोले, क्याम्पसको प्रसासनमा गएर अफ्नो समस्या देखाउन सके, भोली पर्सी पनि भर्न सकिन्छ नि । तिमिलाई अफ्ट्यारो लागे म कुरा गरिदिउँला । त्यो पनि हुन्न भन्छौ भने कति चाहिएको हो भन, म दिन्छु नि” भन्दै पर्श निकाले ।
“दुई हजार त म सँग छ । पाँच हजार भए पुग्छ ।” भनेँ
“ए.. लौ” भनेर हजारका ३ वटा र पाँच सयका ४ वटा नोट निकालेर मेरो हातमा थमाईदिनु भयो । त्यती बेला लाग्यो । यो सन्सारमा भगवान छन । भगवानले हाम्रो दुःख देख्छन् र सहयोग पनी गर्छन । सहयोग तब गर्छन जब कुनै समस्याको समाधान हामी बाट हुन सक्दैन । पहिला परीक्षा लिन्छन्, सकेसम्म आफै समाधान गरोस् भन्न चाहान्छन् । त्यो पनि हुन नसके बल्ल सहयोग गर्ने मान्छे पठाउँछन् । आज पनि यस्तै भयो । भगवानले आकाशलाई जाउ उसलाई सहयोग गर भने । आकाश खासै कलेज नआउने मान्छे मेरै समस्या हुने दिन कलेज आउनु । म कोठामा फर्कनै लाग्दा जम्का भेट हुनु यो सम्योग मात्रै थियो त ?

अघि भर्खरको लखतरान जिउमा केही उर्जा आए जस्तो भयो । पैसामा कति शक्ती हुने रैछ । भिटामिन र फलफुलमा भन्दा पनि धेरै । अब आसा पलायो । आकाशले दिएको पैसा लिएर म क्याम्पसको प्रसासन कक्षमा गएँ । एउटा फर्म मागेर फर्म भरेँ । फर्म भरीसकेपछी मनमा केही राहत भयो । छुट्टी हुने समय भएको थिएन र मलाई कलासमा जान मन पनि लागेन । आफ्नै कोठा तर्फ लागें । बाटोमा मनमा धेरै कुराहरु मनमा आएँ । अघि भर्खरको दृश्य सपना जस्तै लागिरहेको थियो । तर सपना थिएन । आज के हुन्थ्यो होला , आकाश भेट नभएको भए ? फर्म भर्न नपाएको भए, मेरो एक वर्ष लस भएको भए ? आदी ईत्यादी प्रश्नहरु उब्जिरहे तर कुनैको पनि उत्तर फेला परेन । अलीअली लाज पनि लाग्यो । समस्याको समाधानको लागि त साथीहरुसँग सल्लाह पो गर्नु पथ्र्यो मैले । म त रोएछु, म त अझै बच्चा नै रहेछु । आमाले पनि बेला बेला भन्नु हुन्थ्यो । साह्रै पिन्चे छेस् तँ । सानै कुरामा पनि आसु खसालीहाल्छेस् । यसरी त कसरी घर गर्लीस तैँले ? यहीकुरा झ्प्पै सम्झीएँ । मलाइ लाज लागेर आयो । कक्षाका साथी सँग भन्दा आकाश सँग लाज लाग्यो । उनले के सोचे होलान ? तर जे भए पनि धन्य भगवान मेरो फर्म छुटेन । अनि मनमनै भने धन्यवाद आकाश ।

कोठामा गएँ । खाना बनाउन पनि जागर चलेन । नजिकैको खाजा पसलमा गएर चाउमिन खाएर फर्किएँ । दिनभर पढ्न मन पनि लागेन । साँझ तिर घर फोन गरें । एटिएम बिग्रिएको, पैसा नभएको, साथीले पैसा दिएर फर्म भरेको सबै कुरा सुनाएँ । अनि मम्मीले भन्नुभयो “त्यसो भए म रेमिट गरिदिन्छु पैसा झिकेर साथीलाई दिनु अनि एटिएम कार्ड पनि बनाउनु ।” भन्नु भयो ।

अर्काे दिन कलेज गएँ । जाँदा बाटोमा आकाशलाई धन्यवाद भन्छु । पैसा म भोली दिन्छु है । आज घरबाट पठाउँछु भन्नुभएको छ भन्छु । यस्तै सोच्दै गएँ । तर आज आकाशलाई कलेजमा देखिन । उसै त कहिलेकाँही कलेज आउने मान्छे । आज पनि नआएकोले मैले उसलाई राम्रोसँग धन्यवाद भन्न नपाएकोमा मनमा अफ्ट्यारो महशुस भयो ।  कलासमा कृतिले हिँजो म रोएको कुरा दुई चार जना साथीलाई भनि सकिछे । कक्षामा पुग्नासाथ सोधी
“साँच्चै हिँजो तँ किन रोएको थिइस् ?”
मलाई आफैमा हाँसो लाग्यो म कति बच्चा जस्तो छु । आफ्नो मन नियन्त्रणमा गर्नै सक्दिन, समस्या त्यती ठुलो थिएन । सानै समस्यामा पनि म रोइहाल्थेँ ।
अर्कीले भनी “ए... ब्रेकअप भएर होला । ह्या छाड्दे यो लभमा रुने, हाँस्ने धेरै नै हुन्छ । त्यती ठुलो कुरो होइन् ।”
“धत् जे पायो त्यही, हिँजो मलाई सन्चो थिएन” भनिदिएँ । त्यो दिन कलेज बाट सिधै बैंक गएँ । एटिएम कार्डको लागि निवेदन दिएँ । अनि मम्मीले पठाईदिएको पैसा पनि लिएर आएँ । त्यो दिन यसै बित्यो । अर्काे दिन आकाशलाई दिन भनेर पैसा लिएर गएँ । त्यो दिन पनि आकाश आएनन् । त्यस्तो अफ्ठ्यारो अबस्थामा सहयोग गरेको रकम सकेसम्म छिट्टै फिर्ता गर्न पाए हुन्थ्यो लागेको थियो तर पनि उनको अनुपस्थितीमा म कसरी दिनु । धेरैले भन्ने सुन्ने गरेको कुरा । साथीबाट ऋण नलिनु रे । ऋण अर्थात पैसाको कारोबारले सम्वन्धमा चिसो पना ल्याउँछ । हाम्रो त सम्बन्ध पनि राम्रोसँग बनेको थिएन । कसरी टुट्नु नबनेको सम्बन्ध ।

अर्काेदिन पनि आकाश नआएपछि म उसको कक्षामा गएँ । कक्षामा उसको एकदमै मिल्ने साथीमात्र थिइ । प्रतिक्षा । कलेज आउँदा, घर फर्कँदा । खाजा खाँदा, क्लास बंक गर्दा । सौचालय जाँदा बाहेक अन्य समयमा  उनिहरु सँगै हुन्थें । कलेजमा उनिहरुको प्रेम सम्बन्ध छ भन्ने अधिकाशं भेटिन्थे तर । उनिहरु स्वंले हैन हामी साथी मात्र भनेपछि के भन्नु । उनिहरु स्कुल पनि सँगै पढेका रे ! त्यही भएर उनिहरु एकदमै घनिष्ठ साथी थिएँ । प्रतिक्षालाई आकाश लगाएत केही साथीहरुले कलेजमा कान्छी भनेर बोलाउँथें । सायद कान्छी भन्न सुरु आकाशले नै सुरु गरेको हुनुपर्छ । तर बिस्तारै आकाशको सिको गर्न थाले अन्य बिद्यार्थीले पनि । कलासमा यत्तिकै मोबाईल चलाइरेकी प्रतिक्षलाई सोँधे ।
“प्रतिक्षा ।”
“ए.. प्रियंका ! किन ?”
“आज आकाश कलेज आएका छैनन् ?” भनेर सोधें ।
“नाई, अस्ती कुरा भएको थियो । ८–१० दिन आउँदीन होला भन्थ्यो ।” उनिहरु एक आपसमा तँ भनेर सम्बोधन गर्थे ।
“उहाँको फोन नं. छ ?”
“फोन नं. त थियो, तर खै नयाँ सिम ल्याएको छु भन्थ्यो । नयाँ नम्बर त छैन ।”
“तिमीसँग कसरी कुरा भएको नि ।”
“फेसबुक बाट नि ।”
“अनि किन नआएको रे, केही थाहा छ ?”
“खै.. बुबालाई सन्चो भएन भन्दै थियो ।”
“फेसबुकमा के नाम छ ?”
“ ल आकाशको नाम आकाश त हुन्छ नि, अरु के हुनु..” भन्दै हाँस्दै जवाफ फर्काइ ।
उनको कलास बाट फर्कें । लाग्यो, कतै प्रतिक्षाले आफुसँग नं. भएर पनि दिइन की ? त्यस्तो पक्कै हुनै सक्दिन, उ त मिल्ने साथी थिइ । प्रेमिका भएको भए त्यो पनि हुन सक्थ्यो । म भएको भए मनपरेको मान्छेको नम्बर केटी साथीलाइ दिने थिएन । दिए पनि उल्टो नम्बर दिन्थें । अनि उनलाई पैसाको कत्ति खाँचो थियो होला, त्यसै माथी बुबा बिरामी हुनुभएको । अब फेसबुकमा खोजेर म्यासेज पठाउँछु र खाता नं. मागेर भएपनि फिर्ता गर्छु भन्ने सोचेर । कक्षामा गएर आकाश अधिकारी भनि खोँजे । फेसबुक लिस्टमा करिब १०० भन्दा धेरै जना जति आकाश भेटिए । मैले खोजेको आकाश कुन हो त ? छुट्याउनै मुस्कील प¥यो । करिब ५०–६० जना जतिको प्रोफाईल तस्बिर हेरें तर आकाश ती मध्ये कुनै पनि हो जस्तो लागेन । फेरी कलेज छुट्टी हुनु भन्दा पहिले प्रतिक्षाको कलासमा गएँ । प्रतिक्षा त अघिनै पो निस्की सकिछ । फेरी आफ्नै कक्षामा फर्के । कृतिलाई सोधें ।
“कृति तिम्रोमा आकाश साथी छ ?”
“कुन आकाश ।”
“त्यही हाम्रो कलेजमा पढने क्या प्रतिक्षाको साथी ।”
“अँ, छ नी । किन ?” भन्दै सोधी ।
“मैले रिक्वेस्ट फठाउने भनेको । कुन हो कुन भेट्याउनै सकिन ।”
“ए. खै ल्याउ यता ।” एकैछिन लिस्ट खोजेपछी, यीनै त हुन आकाश भनेर देखाईदिई ।

सर्च गर्दा जुन नाम, जुन तस्बीर सुरुमा थियो । उही नै आकाश रहेछन् । उनलाई म कसरी चिन्न सक्नु । प्रोफाईलमा रातीको आकाश । जहाँ जुन चम्कीरहेको तस्बिर थियो अनि कभर फोटोमा चैँ बिहानको आकाश, हल्का बादल सहित सुर्य उँदाउदै गरेको सुर्य देखी आकाश सम्मको तस्बीर । उनको नाम त्यसै आकाश भएको होइन । उनी साच्चै आकाश नै थिए । बिसाल, फराकिलो मुटु भएको । एकदमै सहयोगी भावना, आकाश एउटै भएपनि विभिन्न किसिमको देखिन्छ । अन्तरिक्षबाट बेग्लै देखिन्छ । चन्द्रमाबाट बेग्दै देखिन्छ । रातीमा बेग्दै देखीन्छ त्यो पनि पूर्णीमा र औंसिमा पनि बेग्लै, घामलागेको बेला, बादल लागेको बेला । पानी परेको बेला समय समयमा यसरी एउटै आकाशलाई फरक फरक देख्छौँ आकाश । उनलाई पनि त मान्छे र सोचाइ अनुसार फरक फरक दृष्किोणले हेर्दाहुन् ? तर मैले उनलाई घामलागेको आकाश । एकदमै उज्याले आकाश । सफा आकाश र रातै परेको भएता पनी पूर्णीमाको आकाश देखें । जो आफु अध्यारोमा भए पनि टह–टह जुच चम्कीरहेको हुन्छ । उनको आई.डि.मा तुरुन्तै रिक्वेष्ट पठाएँ । अनि छिन छिनमा नोटिफिकेशन चेक गर्दै राखें । कतिबेला एसेप्ट गर्छन अनी म्यासेज गरु भन्दै करिब १०–१५ मिनेटमा चेक गर्दै राखें तर साँझ ६ बजे सम्म पनि एसेप्ट भएन । उनले किन एसेप्ट गरेनन् होला ? पैसाको कति खाँचो थियो होला, म सँग रिसाएर पो हो की ? यस्तै सोचे । साँझको खाना खाइसकेपछि फेरी फेसबुक खोलें । नोटिफिकेसन आएको रहेछ । आकाश अधिकारी एसेप्ट योर रिक्वेष्ट १ आवर अगो । यसको मतलब मैले खाना बनाउने समय परेछ । झट्ट म्यासेजमा क्लिक गरी । म्यासेज लेखें ।

“नमस्ते, सन्चै हुनुहुन्छ ? मलाई समस्या परेको समयमा हजुरले लगाएको गुन म कहिल्यै बिर्सन सक्दिन, त्यसको लागि धेरै धेरै धन्यबाद । हजुरलाई पैसा चाहिएको थियो होला । कलेजमा भेटेर दिन्छु भनेको हजुर आउनुभएको रहेनछ । प्रतिक्षालाई सोधेको हजुरको बुबा बिरामी हुनुहुन्छ रे, उहाँलाई अहिले कस्तो छ ? हजुरले मलाई बैंक खाता नं. पठाउनु म पैसा जम्मा गरिदिन्छु नि ।” एकै प्याराग्राफमा यति म्यासेज लेखेर पठाएँ । तर उनि त अफलाइन रैछन् । त्यो दिन राती १० बजेसम्म पनि म्यासेज सिन भएन । अर्काे दिन बिहान कलेज जानु अघि म्यासेज चेक गरेँ । फेरी कलेज गएपछि चेक गरें अहँ । अझै म्यासेज सिन भएको थिएन । कलेज बाट घर फर्कने बेलामा बल्ल एउटा म्यासेज आयो ।
“नमस्ते । धन्यबादको कुरै छैन । एकजना साथीले अर्काे साथीलाई आबश्यक परेको बेला सहयोग नगरे कहिले गर्नु ? मैले त्यो समयमा गर्न सक्ने सहयोग थियो । समस्या नभएको मानिस हुँदैन । हरेक ब्यक्ति सँग कुनै न कुनै समयमा केही न केही समस्या हुन्छन् । कुनै समस्याका सामाधान आफु सँग हुन्छन् त कुनै समस्याका समाधानहरु अरु सँग । सामान्य कुरा त हो । अनि बुबालाई सुधार हुँदै छ । पैसाको लागि चिन्ता नगर्नु म कलेज आएपछि दिए पनि हुन्छ ।”
यत्ति म्यासेज पठाएर पुनः अफलाईन भएका रहेछन् ।
“अनि कलेज कहिले आउनुहुन्छ नी ?”
“आज डिस्चार्ज हुने, भोली वा पर्सिबाट आउँछु ।” साँझ मात्र म्यासेज आयो ।

अर्काेदिन कलेजमा बिहानै आकाशलाई देँखें । अत्यन्त खुसी लाग्यो । हराइरहेको चिज भेटीदा कसलाई खुसी लाग्दैन ? जसको खोजी भइराखेको हुन्छ उसलाई देख्दा कस्लाई खुसी लाग्दैन । २–३ देखी खोजी उहाँको खोजी गरीरहेकी थिएँ त्यसैले पनि होला धेरै खुसी लागेको । पढाई सुरु हुने समय हुनै लागेकोले म पहिला कक्षामा गएँ । कक्षामा पढाइ भइ रह्यो । तर के पढाइ भयो, कुन पाठ पढाइ भयो मेरो ध्यान कक्षामा एक पल पनि रहेन । कतिबेला दोश्रो कक्षा सकिन्छ र आकाशसँग भेटेर पैसा फिर्ता गर्न पाउँछु लाग्यो । त्यो बेला मलाई पैसा फिर्ता गर्न हतार थियो वा आकाशलाई नजिकबाट देख्न थाहा भएन ।  दोश्रो पिरियड सम्म कक्षामा बसेपछि खाजा खाने समयमा क्यान्टीन जाँदै गर्दा उनी अल्ली अघि थिए । सुन्ने गरी बोलाएँ ।
“आकाश जि ।” उनले म तिर फर्केर मुस्कुराए ।
 मैले टाडैबाट “नमस्ते भने ।” दुइ हात जोड्दै ।
“साथीलाई पनि नमस्ते भन्छन् ? हाई । हेल्लो पो त । अनि सन्चै छ ?” भन्ने जवाफ फर्काए ।
“हजुर सन्चै छ, हजुरलाई पैसा कहिलेदेखी दिन खोजीरहेकी थिएँ । ” भन्दै उनलाई दिन भनेर राखेको पैसा पर्सबाट निकालेँ ।
“लिनुस हजुरले गर्नु भएको सहयोगको पैसा । सहयोगको लागि धेरै धेरै धन्यवाद ।”
“तपाईसँग पनि थिएन होला । एक दुई दिन पछि दिएको भए पनि भै हाल्थ्यो नि ।”
“हैन घरबाट पठाईदिनु भयो । छ म सँग ।”
“खाजा खान जाउँ ?” भनेर सोध्नु भयो ।
“हुन्छ जाउँ ” भनेँ । 

हामी खाजा खायौँ, कक्षामा आयौँ । यसरी नै बित्तै गए दिनहरु । पहिलो वर्षको परीक्षा आयो । परीक्षा राम्रै भयो । हामी दोश्रो वर्षको कक्षामा गयौँ । दिन प्रतिदिन आकाश सँग बोलचाल बढ्दै थियो । सन्चो–बिसन्चो हेलो हाई भईरहन्थ्यो । कलेज नआएको दिन फेसबुकमै कुरा हुन्थ्यो । कलेज आएको बेला एक पल्ट भेट हुन्थ्यो । हरेक भावनात्मक सम्बवन्धहरु बोलचाल र परिचय बाट सुरु हुन्छन् । कुनै सँग मनका कुरा साट्न सकिन्छ त कुनै सँग दिमागका कुरा । मानिसको मन एक आपसमा जोड्ने पहिलो माध्यम बोली हो । त्यसपछिका सहायक माध्यम ब्यवहार । मानिसलाई बोलचाल र कुराकानीले कति नजिक गराउने रैछ मलाई कलेजका ती दिनहरुमा मात्र महशुस भयो । हरेक भेटघाटमा हेलो हाई, सन्चै ? सहितका कुराकानी र मुस्कानको आदान प्रदानले साथी बाट असल साथीको दर्जामा राखेँ । कलेजमा उ सँग एकदमै मिल्ने प्रतिक्षा घरी उ सँग जिस्कीन्थी, हाँस्थी, बोल्थी, मस्कीन्थी । यसो गर्दा मलाई प्रतिक्षा सँग डाहा लागे जस्तो हुन्थ्यो । मलाई पनि हाँस्न बोल्न जिस्कीन मन लाग्न थाल्यो आकाश सँग । तर डर पनि लाग्थ्यो । पछि पछि खाजा खाने समयमा म पनि उनिहरु सँगै जान थालें । आकाश कलेज नआएको दिन प्रतिक्षा सँगै जान्थें । हामी खाजा खान्थ्यौँ । आउँथ्यौ, प्रतिक्षा लाई क्यान्टीनमा केटा, केटीहरुले जिस्क्याउँथे । आज चै एक्लै ? कहाँ एक्लै हुनु देखेनौ प्रीयंका । त्यही पनि, तिम्रो आकाश आज कलेज किन नआएको भनि सोध्थे । खै मेरो आकाश किन आएन । तिमिहरुलाई के चासो त नि ? भन्दिन्थी । म सँग भने घरी आकाश यस्तो घरी उस्तो भन्थी । जतिबेलै उस्कै कुरा गर्थी । यसरी बिस्तारै आकाश झन पछि झन राम्रो लाग्दै जान थाल्यो । कलेजमा देख्न मन लाग्ने । कलेज नआए पनि आज किन आएनन् होला भन्ने लाग्थ्यो । उनी हाँसेको मन पर्ने । उनी बोलेको मन पर्ने । उनले गरेका हरेक कृयाकलाप मन पर्ने हुन थाल्यो । खै यो प्रेमको सुरुवात थियो वा असल मित्रता ।

हुन त हामी फेसबुकमा साथी थियौँ । तर खासै बोलचाल हुँदैन थ्यो । प्राय पहिलो म्यासेज मैले नै पठाउनु पथ्र्यो । यता बाट हेलो । हाई, सन्चै ? अनि नयाँ ? खासै केही छैन त्यता ? अनि लाईक स्टीकर । कुरा सकिन्थे । औपचारिक कुरा बाहेक अरु कुरा कहिल्यै हुन सकेनन् । समय–समयमा उनलाई हेर्न मन लाग्थ्यो । अनि फेसबुक खोल्थें अनि म्यासेज लेख्थें । आज पनि उनलाई हेर्न मन लाग्यो अनि फेसबुक खोँले एक्टीभ १ मिनेट अगो देखायो । अफलाइन भएर चलाउँदा पनि यस्तै देखाउँथ्यो । मैले म्यासेज लेखेँ । के गर्दै हुनुहुन्छ ? भोली कलेज आउनुहुन्छ कि नाई भनेर म्यासेज पठाएँ । अनि उनकै प्रोफाईलम गई उनका पुराना पुराना पोष्टहरु पढे । पुराना पुराना फोटाहरु पनि हेरें तर लाईक भने गरिन  । लाईक गरेमा उनकोमा नोटिफिकेशन जान्थ्यो । नोटिफिकेशन गएपछि उनर्लाइ थाहा हुन्थ्यो । उसले मेरो प्रोफाईल भिजिट गरी पुरानो पुरानो पोष्ट सम्म हेर्न भ्याईछ भन्ने । उनको प्रोफाईल हेर्न लागेको करिब १ घण्टा भएछ । हेर्दा हेर्दै उनको म्यासेज आयो ।
“यत्तिकै बस्दै । अनि तपाई ? सायद भोली कलेज आउँछु, अनि तपाई ?”
“सायद म पनि आउँछु, घरमा सबै सन्चै हुनुहुन्छ ?”
“हजुर सबैजना सन्चै । अनि तपाइको ?”
“हाम्रो तिर पनि सबै ठिक ठाक । अनि नयाँ ताजा ?”
“खासै केही छैन, अनि त्यता ?”
“यता पनि त्यस्तै हो । खासै केही छैन ।”
कुरा सकिए । अनि लाइक बटनको स्टीकर । लाइको रिप्लाइमा लाइक । अनि अफलाईन ।

अर्काे दिन कलेज सायद आउँछु भनेको थिए, तर आएनन् । अर्काेदिन मात्र होइन तीन चार भयो उनि कलेज आएनन् । कसलाई सोध्नु ? फेसबुक पनि एक्टिभ थिएन । त्यो दिन प्रतिक्षालाई नै सोध्न गएँ । “आकाश आज भोली कलेज किन आएका छैनन् थाहा छ ?” भनेर सोँधे ।
“के हो ? आजकल आकाशको खुबै खोजी हुँदै छ ? चक्कर चल्या छ कि क्या हो ?” उस्ले जिस्काउँदै जवाफ उल्टै मलाई सोधी ।
“हैन त्यस्तो, जस्तो तिमी त्यस्तै म । तिमिलाई उनको बारेमा अली धेरै थाहा हुने भएर पो सोध्या नि ।” जवाफ दिएँ । 
“अँ हिजो फोन गरेंथे । सन्चो छैन खासै भन्थ्यो ।”
उनलाइ सन्चो भएन यता मेरो ज्यान भारी भयो । कतिबेला भेटौँ भयो । कहाँ देखौँ भयो ? अनि सोधें । “कुन हस्पीटलमा छन् ? ”
“त्यती साह्रो बिरामी हैन । घरमै आराम गरेको छ ।”
“ए...” भनेर म फर्कें ।
अली वर आएपछि प्रीयंक खाजा खान जाम भनी प्रतिक्षाले । भो म आज नखाने आज मेरो ब्रत हो भनिदिएँ । त्यस्तो ब्रत त म कहिल्लै बस्दिनथें । यो सुनेर प्रतिक्षा पनि जिल्ल परि होला । मेरो भने अनुहारको रंग पनि उडेको थियो जस्तो लाग्छ । कक्षामा पनि बस्न मन लागेन । जसो तसो अर्काे पिरियड बसें । ध्यान उतै गईराख्यो । आकाशले औषधी खाए कि नाई ? के गर्दै होलान ? कस्तो होला ? सुधार भयो कि नाई । आदि इत्यादी ।

कलास नसकिदै म कलेज बाट बाहीर निस्के । पढ्न मनै लागेन । कोठा तिर लागें । फर्कदाँ बाटैभरी उनलाई सोँचिरहेँ । कोठामा गएँ हिजोँ साँझको थोरै खाना बचेको थियो । त्यसैलाई तताएँ अनि खान थालें तर मिठो हुँदै भएन । सबै खाना त्यत्तिकै फालेँ । उनले खाना खाए कि खाएनन् ? अहिले कस्तो होला ? फेरी फेसबुकमा हेरें उनि अनलाईन थिएनन् । अफलाईन म्यासेज भए पछि छोडें । हजुरलाई सन्चो छैन रे भन्ने थाहा पाएको । अहिले कस्तो छ ? औषधी लिनु भएको छ ? आफ्नो ख्याल गर्नु भनी म्यासेज छाडेर किताब हेर्न थालें । नजर किताबका अक्षर अक्षर दौडिए पनि दृष्टी चैं उनै आकाश तिर गयो । उनको बारेमा यत्ति धेरै सोँचेको पहिलो पल्ट । आजसम्म कलेज । क्यान्टीनमा भेट हुन्थ्यो मलाइ उनको मायाँ लागेको थाहा थिएन । आज उनी देखिएनन् । त्यसैमाथी सन्चो नभएको थाहा पाएपछि एक्कासी मायाँ जागेर आयो । त्यती घनिष्ट त थिएनौँ तर उनलाई मनभित्र पहिले देखीनै राखेकी रहेछु । हल्का मन पथ्र्यौ । तर यती धेरै उनै प्रति समर्पित भएको छु जस्तो लागेको थिएन । प्रेमको अनुभुती कि त टाढा हुँदा हुने रहेछ । कि त मनको मान्छे समस्या वा दुःखमा छ भन्ने थाहा पाउँदा हुने रैछ ।

दिन प्रतिदिनको याद र एकोहोर प्रेमले सायद म उनलाई भुल्नै नसक्ने भएकि थिएँ । उनि खासै फेसबुक नचलाउने भएकोले कुनै पनि म्यासेजको रिप्लाई समयमा आउँदैन थ्यो । यस्तो हुँदा मलाई छटपटी हुन्थ्यो । मन परेको मान्छेले समयमा जवाफ नदिँदा । उसको पलपलको खबर जानकारी नपाउँदा कस्तो हुँदो हो । त्यसैले उनको नम्बर आवश्यकता थियो । आजसम्म उनको नम्वर रहेछन । भोली कलेजमा प्रतिक्षा सँग माग्नु पर्ला सोँचे । हुन त मोबाइल नं. पनि के अरुसँग माग्नु । त्यसैमाथी उसले नानाभाती भनी भने । मलाई लाज हुँदैन कि क्या हो ? उनै सँग माग्नु पर्ला सोँचे । तर प्रत्यक्ष ? प्रत्यक्ष त म उनिसँग सिधा नजरले हेर्न नि सक्दीन । फेसबुक बाटै माग्छु भनेर उनलाई म्यासेज गरें । “मलाई तपाईको मोबाईल नम्बर दिन सक्नु हुन्छ ?”
उनि अनलाईन नै रैछन् । तुरुन्त रिप्लाई आयो । “नम्बर ? छैन तपाई सँग ?”
यही हो मेरो नम्बर भनि नम्बर पठाए ।
“म कल गर्न सक्छु ?” लेखेर पठाएँ ।
“एकदम् । तर हामी अहिले त यही बोलीराखेका त छौँ नि ।” म्यासेज आयो ।
म्यासेज पढे तर रिप्लाई नगरी सिधै फोन गरें । मलाई उनको बोली सुन्नको हुटहुटी थियो । फोनै गरेपनि औपचारिक कुराहरु । सन्चो, बिसन्चो, पढाई, आदि इत्यादी सकिए कुराहरु ।

यसै त फेसबुकमा बोलीरहुँ लाग्ने । मोबाइल नम्बर भए पछि म दिनकै फोन गर्न थालें । उनले पनि कुनै आपत्ती जनाएनन् । फोन तुरुन्तै उठाउँथे र हामी कुरा गथ्र्यौ । कुरा त के भन्नु सन्चो बिसन्चो । दिन कसरी बित्यो, यस्तै औपचारिक कुरा मात्रै । दिनको एक पटक आबज सुनिन भने पनि के बिराएँ । के बिराएँ लाग्न थाल्यो फेसबुकमा कुरा गर्दा एक दिन कुरामा कुरा चल्दै गए । उनलाई म तपाइ भनेर सम्बोधन गर्थें । उनि पनि मलाई तपाई भनेर सम्बोधन गर्थे । कुन चैं केटी मान्छे होलान आफुले मन पराएको मान्छेले आफुलाइ तपाइ सम्बोधन गरोस् । जसलाई मनमा सजाइन्छ, जो सँग भविष्यको कल्पना गरिन्छ उसले तपाइ भनेको फिटिक्कै मन पर्दाे रहेनछ । एक दिन बहस नै भयो ।
“तपाई मलाई तपाई भनेर नबोलाउनुस् ल ।”
“किन ? के भयो र ?”
“हुन त केही भएको छैन ”
“अनि के त ? ”
“मलाई हजुरले तपाई भन्दा कस्तो कस्तो लाग्छ । म तपाइले तपाई भनेर बोलाउने हैसियतको मान्छे होइन ।”
“अनि के भनौँ त ?”
“जो इच्छा तर तपाई बाहेक अरु जे भने पनि हुन्छ । ”
“तिमी भनौँ वा तँ ?”
“हुन्छ । तपाईलाई जे भन्न सजिलो लाग्छ ।”
“मलाइ त तपाई भन्न सजिलो लाग्छ ।”
“प्लिज, तपाइ त भन्न पाइन्न ।”
“तपाइ पनि त तपाई भन्नु हुन्छ नि ।”
“मैले त भन्न पाउनु पर्छ । तर तपाइले पाउनु हुन्न ।”
“हुन्छ । अब देखी तिमी भन्छु नि है” भन्दै मेसेन्जरमा निक नेम नै तिमी राखिदिए ।
“हुन्छ,”  भनेर रिप्लाइ दिएँ ।

त्यो दिन अत्यन्तै खुसी लाग्यो । लाग्यो अब उहाँले पनि मन पराएको कुरा बुझ्नु हुनेछ । मलाई लाग्यो, मैले मेरो प्रेम प्रश्तावको पहिलो चरण पार गरेँ । तथा मैले प्रेम गर्छु भन्नै परेपनि अब अली सहज हुनेछ । फेरी सोँचें, कतै उहाँलाई अफ्ट्यारोमा त पारिन ? भोलीपल्ट बिहानै अफलाईन म्यासेज लेखेँ । “हिँजो मैले हदै गरेँ है ? त्यसको लागि सरी, हुन्छ हजुरलाई जे सजिलो लाग्छ त्यही भन्नु । सकेसम्म तपाई नभन्नु है ।” अनेर अनुरोध बिसाएँ । “हुन्छ अब देखी तिमी नै भन्छु,” भन्ने रिप्लाई आयो । मेरो मन प्रफुल्ल भयो ।

घरी घरी म सोँच्थे उनि मलाई कुन नजरले हेर्छन् ? साथी वा असल साथी । सायद साथी मात्रै होला । असल साथी त उनको प्रतिक्षा थिई । उनि सँगै हुन्थी जतिबेलै । पहिला उ सँग त्यसरी हिड्दा मलाई खै केही महसुस हुँदैनथ्यो । तर आजभोली उनिसँग नहिडिदिए हुन्थ्यो । उनि सँग नहाँसिदिए हुन्थ्यो । आकाश मेरो मात्रै भए हुन्थ्यो । म सँग मात्रै बोले हुन्थ्यो । म सँगै हिडिदिए हुन्थ्यो लाग्न थालेको थियो । प्राय छोरीमान्छे म जस्तै हुन्छन त ? डाहा गर्ने ? आफ्नो पति पर्मेश्वर तथा प्रेमी पर स्त्री सँग हाँसेको बोलेको देख्न नपरे पनी हुन्थ्यो लाग्ने । उनिहरु एकदमै मिल्ने साथी थिएँ यो कुरा मलाई मात्र नभएर कलेजका सबैलाई थाहा थियो । तर पनि मनले भने प्रतिक्षाको ठाउँमा म हुन पाएको भए भन्ने चाह राखि रहन्थ्यो । उनले प्रतिक्षालाई कहिलेकाँही कान्छी भनेर बोलाउँथेँ । काँस् आकाशले मलाई पनि कान्छी भनिदिए । कान्छी म पनि त हुँ नी घरकी । बाबाले मलाई सधै त कान्छी भन्नु हुन्छ । भगवान आकाशले मलाइ कान्छी भनिदिए म अझ कति नजिक हुने थिएँ होला । तर यस्तो कहिल्यै भएन ।

दिनहरु बित्दै गएँ । एकतर्फी मायाँ अझ बढ्दै गयो । सम्बन्ध, पढाई, खाजा खाने, हाँस्ने बोल्ने सबै उस्तै तरिकाले चलिरहेको थियो । मेरो मनमा मायाँ झन झन बढीरहेको थियो तर आकाशलाई यो कुरा थाहा थिएन, थाहा होस् पनि कसरी ? न मैले खुलेर भन्न सक्थें न उनले बुझ्ने कोसिस गरे, वा बुझेर पनि भनेनन् यो विषयमा म अनविज्ञ नै रहेँ । एक दिन खाजा खाने बेलामा । आकाश म र प्रतिक्षा थियौँ । आकाशको मजाक गर्ने बानी । खाजा मुखमै रहेको बेलामा खै कुन प्रसंगमा हसाए । एक्कासी म सर्कीएँ । प्रकाशले भर्खर झुठो मात्र राखेको पानी थियो टेवलमा ट्याप्प टिपेर पिएँ । अल्ली राहत भयो । मलाई कस्तो कस्तो अफ्टयारो लाग्यो । उनि अरुको झुठो नखाने मान्छे । त्यो पानी त्यसै छाडे पिएनन् । मैले ठुलै गल्ती गरेजस्तो लाग्यो । तर समस्यामै सही उनको जुठो खाने मौका मिल्यो । मायाँ अझ बढ्ने भयो । कहीलेकाँही भावनाको सागरमा धेरै नै डुब्ने गर्थेँ ।  उनलाई पति परमेश्वर सम्झेर सोँच्थे, मैले ए हजुर खाना खान आउनु भनुँ । उनि आउन, खाना खाउन र उनले खाना खाई सकेपछि त्यही जुठो थालमा खाना पस्केर खाउँ । तर यो कल्पनामा मात्र सिमित थियो । न म उनलाई मन पराउछु भन्न सक्थें । न त उनि नै जान्दथे ।  म यसरी उनको मायामा एकतर्फी पागल बनेकी थिएँ । भावनाको सागरमा डुब्ने र तैरने मेरो दिनचर्या नै थियो ।

कोठामा एक्लै बसीरहँदा पनि उनि सँगै भए जस्तो लाग्थ्यो । कतिबेला त लाथ्यो मलाई होइन आकाशलाई अफ्टयारो भइरहेको छ अब बाहीर पनि निस्कनु पर्छ भनी बाहिर निस्के । निलो आकाश देखें । उनैलाई सम्झीएँ । हरेक निला चिज बस्तु उनैहुन लाग्न थाल्यो । मलाई निलो कलर मन अति नै मन पर्न थालेको थियो । पहिले पहिले त पिंक कलर मन पथ्र्याे । मेरो कोठामा मैले पिंक कलरका पर्धा लगाएकी थिएँ । तर आजभोली त्यसको सट्टा निलो कलरका पर्धा झुण्डाएँ । निलो कलरको वानी पिउने बोत्तल किने ताकी पानी पिउँदा पनि उनकै हातबाट पिएको जस्तो महशुस होस । सिरानी को कभर निलै राखें । निलो अर्थात आकाश । आकाश जस्तै निलो । केही थोरै समय भयो कि उनैलाई सम्झन्थें । फेसबुक हेर्थें । म्यासेज पठाउन मन लाथ्यो तर मेरो म्यासेज गर्ने खासै बानी थिएन । अनावश्यक म्यासेज गरे पनि उनलाई डिस्टर्ब हुने हो की सोच्थेँ । अब पल पल उनकै आवश्यकता महशुस हुन लागे जस्तो भयो । हुँदा हुँदा मैले मेरो भविस्यको जिवनको परिकल्पना पनि उनि सँगै गर्न थालें । तर यो कुनै पनि कुरा उनलाई थोरै पनि थाहा थिएन र मैले भन्न पनि सकेकी थिइन ।

हुँदा हुँदा यहाँसम्म भयो । हरेक आकृती आकाश जस्तै जाग्न थाले । हरेक मनपरेका चिज बस्तु आकाश सम्झीन लागेँ । केही मिठो चिज खान थाल्यो कि यो चिज आकाशलाइ कति मन पर्दाे हो लाग्ने । नमिठो चिज खाए यो आकाशलाई कस्तो लाग्दो हो ? खानामा अल्ली नुन बढी भएको भए आहो नुन पो पढी भएछ, आकाश भएको भए पक्कै गाली गर्थे । के थाहा चुपचाप मिठो छ भनेर पो खान्थे की ? चियामा चिनी बढी लाग्यो खुब मुख मिठो बनाउँदै खान्थे होला । अहो तरकारीमा पिरो बढी भएछ के आकाशले यो खान सक्लान ? बजार गएर कुनै चिज बस्तु किन्दा पनि आकाशलाई यो कस्तो लाग्छ होला ? आफुलाई मन पर्ने कुनै कपडा किन्दा पनि यो लगाएँ भने आकाशले के भन्लान ? पक्कै राम्रो छ भन्लान, न्यु पिच भन्दै चिमोटलान्, की यो तिमीलाई अल्ली म्याच भएन भन्लान ? साँच्चै के भन्लान ? यस्तै यस्तै अनेकौँ अनुत्तरित  प्रश्नहरु उब्जिरहन्थे मनैभरी । किनकी म बाट हुने हरेक कृयाकलापमा उनी नै देख्न थालेकी थिएँ ।

खुसीमा मात्र होइन दुःखमा पनि अथवा कहिलेकाँही स साना समस्या पर्दा समेत म उनैलाई सम्झन थालेकी थिएँ । मोबाइलको ब्याट्री लो हुँदा समेत उनैलाई सम्झन्थें । खाना पकाउँदा हात पोल्यो भने पनि उनैलाई सम्झन्थें । हिड्दा बाटोमा कोही आकाशे कलरको कपडा लगाए उनैलाई सम्झन्थें । बादल लागे आज आकाश लाई बादलले छेकेछ उनैको याद आउने । खुसी हुँदा उनैलाई सम्झन्थें । धेरै खुँसी हुँदा उनैलाई सम्झन्थें । डर लाग्दा उनैलाई सम्झन्थें । बजारमा कुनै राम्रो कपडा देख्यो भने पनि यो आकासलाई कति सुहाउँदो हो भनेर अनुमान गर्थे । कुनै दिन क्याफेमा एक्लै कफि पिउँदा छेउको खाली कुर्सीमा उनि चुपचाप बसेर हेरीरहेछन की जस्तो लाग्थ्यो त कहीले ठिक अगाडीको खाली कुर्सीमा उनि भएको भए कस्तो हुन्थ्यो भनी कल्पना गरी रहन्थेँ ।   जतिबेलै जुन बेला पनि उनकै मात्र याद आउन थालेको थियो । यति धेरै याद आउन थाल्यो कि म आफैलाई बिर्षन थालें । राती सुत्ने बेलामा उनकै फोटो मोवाईलको वालमा राखेर उनलाई हेर्दै निदाउँथें । बिहान उठ्दा पुन वालबाट फोटो हटाउँथें । किनकी यो एकतर्फी मायाँको बारेमा कसैलाई बताउन सक्दिनथें ।


उनलाई मायाँ जति धेरै गरे पनि । म मायाँ गर्छु भन्न सकिन । बरु मै मायाँया पागल बनेँ । उनलाई पठाउन भनि म्यासेजमा कैयौँ पल्ट आई लभ यु भनेर लेखें तर पठाउन कहिल्यै सकिन । लेख्ने मेट्ने शिलसिला चलिरहन्थ्यो । फुर्सदमा मोबाईलको फोटो इडिटरबाट उनको फोटोमा मेरो फोटो जोड्थें । आफै मख्ख पर्थें । हेर्थे सेभ गर्थें । फेरी डिलिट गर्थें । उनलाई मन पराएको कुरा । उनी बिना बाच्न नसक्ने भएको कुरा प्रत्यक्ष भन्न नसके पनि उनलाई चिठी पठाउँछु भनेर जानी नजानी एउटा चिठ्ठी लेखें । तर त्यस्तो मौका जुर्दै जुरेन । एक दिन खाजा खाने समयमा उनि खाजा खान गएको मौका परि उनकै कक्षामा गएँ । उनको झोला खोली चिठ्ठी राखिदिन खोजें तर मुटु बोस्सरी ढुक ढुक भयो । हतपत त्यो चिठी झिकेर दौडदै आफ्नै कक्षामा गएँ । आफैलाई मनमनै गाली गरेँ । केटी तेरो काम छैन न भन्न सक्छेस्, न त केही गर्न नै सक्छेस् । यदी उसलाई मायाँ गर्छु भन्न सक्दैनेस् भने किन पागल बन्दैछेस् आफैभित्र ? हँ ? भनेर आफैलाइ भनेर आफुलाई नै गाली गरेँ ।

दिनदिनैको उनको मायाँ प्रतिको पागलपनले म आफै कमजोर बन्दै थिएँ । उनलाई जसरी पनि मायाँ गर्छु भन्नै पर्ने थियो । उनलाई म्यासेजमा भन्न सकिन । चिठ्ठी दिन सकिन । अब कुनै बिकल्प थिएन । यो मायाँमा म पागल बनेकी थिएँ वा मेरो मायाँ गलत तरिकाले अघि बढेको थियो थाहा थिएन । उनलाई माया गर्छु भन्न नसक्नु एउटा गल्ती हो । भुल्न नसक्नु अझ ठुलो गल्ती हो । माया बुझाउन नसके एकतर्फी यसरी मायाँ गरिराखे आफैलाई घात हुनेवाला थियो । उनकै प्रेममा परेर दिन प्रतिदिन पढाई पनि खस्कदै थियो किनकी जतिबेलै उनैलाई सम्झ्यो बस्यो । कक्षा कोठामा उनै । बाटोमा उनै । कोठामा उनै । निदाउँदा उनै । ब्युझे पछिको सुरुको सम्झना उनै । उनि यादै यादमा यसरी बसेका थिए कि म नै उनि भईसकेकी छु । मात्र मेरो सारीरिक बनाबट र नाम मात्र मेरो हो । अरु सबथोक उनैको । नगर्नु थियो एकतर्फी प्रेम । प्रेम गरेँ एउटा गल्ती । अत्याधिक प्रेम गरेर पनि भन्न नसक्नु अझ ठुलो गल्ती । मलाई गल्ती गर्न नै आनन्द आइरह्यो । बच्चा अवस्थामा आमाले आगनमा सुकाएको बिस्कुन आगन भरी छरेर हेर्नु भन्दा पनि अझ आनन्द । आहा कति मिठो गल्ती । आहा बडो गजबको आनन्द, जहाँ आफु कहाँ छु ? के गर्दै छु ? म के गर्ने वाला छु ? र भोलीको दिनमा के हुने हो ? केही थाहा नहुने । थाहा भए पनि मतलब नै नहुने । बडो अचम्मको प्रेम । के अधिकांशले गर्ने प्रेम यस्तै हुन्छ ? की म प्रेम गर्न जान्दै जानिन हँ ? आफैलाई प्रश्न गरेँ । सरल प्रश्नको अति जटिल उत्तर आफुले आफैलाई दिएँ । हो म म प्रेम गर्न जानिन । जान्दै जानिन ।

यसरी कतिदिन सम्म चल्नु । कहिलेकाँही पढाई, बुबा आमा र भविष्य सम्झदा आफैमाथी रिष उठ्थ्यो । म किन यसरी गलत बाटोमा छु । मायाँ गलत हुँदै होइन । तर मेरो मायाँ गर्ने तरिका गलत भयो । यसरी एकतर्फी आफै पागल हुँनु पक्कै सही होइन । कित मायाँ गर्छु भन्न सकेको भए उनले हुँन्छ वा हुन्न भन्ने थिए । अनि एउटा बाटो लाग्थ्यो । कित मौलाउँदै जाने थियो प्रेम कि त बिस्तारै सकि नसकि भुल्ने थिएँ । एक दिन मैले निर्णय लिएरै छाडे । अब मैले उनलाई भुल्नै पर्छ ।

उनलाई भुल्नको लागि मोबाइलका उनका सबै फोटा हटाएँ । फेसबुक आई डि डिएक्टीभेट गरें । पढन बसें तर पढ्दै गर्दा हरफहरुका बिच बिचमा भएका अक्षरमा भेटिन अ अथवा आ देख्यो कि फेरी उनैको याद । कुनै निलो पदार्थ जनाउने सब्द भेटियो कि उनै । कुनै प्रेमी सब्द भेटियो की उनै । यसरी किताबका प्रत्येक पाना पानामा उनकै तस्बिर भेटीन थाल्यो । किताब बन्द गरेँ सकिएन कसै गरी भुल्न सकिएन । बेस्सरी रुन मन लाग्यो । म कस्ती पागल । यतिका समय लगाएर गरेको प्रेम कही एकैछिनमा भुल्न सकिन्छ त ? फेसबुक डिएक्टीभेट गर्दमा भुल्न सकिन्छ त ? सकिदैन । तर यस्ता दैनिक अथक प्रयासहरु असफल हुँदै गए । उनलाई भुल्नकै लागि । उनलाइ देख्न नपरोस् भनेर नै केही दिन कलेज गईन । चौथो दिनको दिन उनको फोन आयो ।
उनको फोन आए पछि यत्ति धेरै खुसी लाग्यो कि खुसीको सिमा नै रहेन । फोन उठाएँ
“हेलो । ”
“प्रियंका सन्चै छौ ?”
“अँ ठिक छु । तपाई ? ”
“म पनि ठिक, किन कलेज आएकी छैनौ र ? दुई चार दिन भयो नदेखेको । अनि फेसबुक पनि बन्द गरेछौ । ”
“हजुर बन्द गरेको । अनि हल्का सन्चो थिएन । त्यसैले । ”
“ए के भो ?”
“हल्का ज्वरो आएको थियो । ”
“अनि अहिले कस्तो छ ? ”
“ठिकै छ ।”
“अस्पताल जानु पर्छ ? पर्छ भने भन है । ”
“होइन औषधी खाँदैछु । पर्दैन ” भनें ।
“हुन्छ, आफ्नो ख्याल गर समयमा औषधी खाउ खै भनेर फोन राखे ।”

फोन राखेपछि एकपल्ट बेस्सरी रोएँ । पहिलो पल्ट उनको फोन आयो । उनीसँग पहिलो पल्ट झुट बोलें यो कस्तो सम्योग । न त म कुनै बिरामी नै भएकी थिएँ न त कुनै औषधी सेवन गरेकी थिएँ । बिरामी थिएँ त प्रेम मायाँको । हो मलाई मायाँको रोग लागेको थियो र यसको डाक्टर उनै थिए । अर्थात आकाश । हत्तपत्त फेसबुक फेरी खोलें । उनको प्रोफाइलमा गएर उनको दुई तीन वटा फोटो डाउनलोड गरेँ । जुन कुराको हिम्मत हारेर बिर्षन आटेकी थिएँ उसैको फोन र कुराकानीले प्रेममा थोरै आसा जगायो । उनलाई भुल्ने प्रथम चरणको तरिका पुर्ण रुपले असफल भयो । यति हुँदा हुँदै पनि प्रियंका बाट म उनको प्रियतमा बन्न सकिन ।

अर्काे दिन कलेज गएँ । उनलाई देखें जनिकै जान मनलाग्यो, बोल्न मन लाग्यो तर उनि प्रतिक्षा सँगै थिएँ । मन मारेर आफ्नो कक्षा तर्फ लागें । उनले मलाई देखेछन् । म कक्षामा पुगेपछी पछिपछि उनि पनि आएका रहेछन् । सन्चो भयो ? अँ । ठिक छ । अरु सबै ठिकै होला, अहिले खजा खाने समयमा भेट्ने है । भनेर उनि कक्षा बाहिर निस्के । एकैछिन म उनि गएको बाटो हेरिरहेँ । कक्षा सकियो, दोश्रो कक्षा पनि सकियो खाजा खान जाने समय भयो । तर खाजा खान जान मनै लागेन । उनिसँगको प्रतिक्षाको हिमचिम मलाई देख्नै मन लागेन । त्यो दिन हाम्रो भेट त्यतिनै भयो । कक्षा सकेर म कोठामा आएँ । कोठामा आउनसाथ उनैको फोन आयो । फोन उठाइन, म अब उनलाई भुल्नै पर्छ भन्ने निर्णय गरेकी थिँए । दोश्रो कल पनि आयो तर उठाउन बाद्य भएँ । मैले फोन उठाएर हेलो पनि भनिन । उतैबाट आबाज आयो, “आज क्यान्टीन किन नआएको ? तिमिलाई अझै सन्चो छैन हो ? समयमा औषधी खाउ ल.. ।” यति कुरा भन्दा समेत म केही उत्तर दिइन । यत्तिकै फोन राखिदिएँ । मलाई उनको याद । उनको साथ अब भारी लाग्न थालेको थियो । पहिला हिँजो डाउनलोड गरेको फोटो डिलिट गरेँ । फेसबुक बाट उनलाई अनफ्लो गरेँ । त्यतिले नपुगेर ब्लक नै गरिदिएँ । मोबाइल बाट उनको नंबर हटाएँ । नम्बर हटाएर के गर्नु । मलाई मेरै आफ्नो नम्बर बताउन परे एकपल्ट सोच्नु पर्दाे हो । उनको नम्बर याद थियो ।

साँझ दाइले फोन गर्यो । “के छ ? तेरो पढाई कस्तो छ ? ” भनेर सोध्यो ।
“ठिकै । ”
“अलि राम्रो सँग पढ है । जाँच पनि आउन लाग्या होइन ? ”
“हजुर हो । हुन्छ पढ्छु ” भने ।
सन्चो बिसन्चो कुराकानी भए । अर्काे साता भाउजु पनि काठ्माण्डौ आउने कुरा भयो ? के को ल्याउनु पर्ने छ भन् भनेर फोन गरेको रहेछ । सबै छ, केही पर्दैन भने । काठ्माण्डौमा पैसा भए सबै पाइन्थ्यो । बिद्यार्थीलाई समस्या पैसाको त हो ।

भाउजु आउनु भयो । भाउजु आउने दिन अघिल्लो दिन कोठामा भएका केही नमिलेका सामान मिलाएर राखेकी थिएँ । भाउजु आएपछि खाना भाउजु बनाउनु हुन्थ्यो । मलाइ कर गरी गरी खाना खुवाउनु हुन्थ्यो । असाध्यै माया गर्नुहुन्थ्यो । लगभग ४ दिन बस्नु भयो । भाउजु कोठामा आएको दिन मन नलागी नलागी भए पनि मलाई कलेज जानै पर्थ्यो । मन नलागी नलागी भए पनि किताब छोपेरै बस्नु पर्थ्यो । उहाँको अगाडी आज्ञाकारी बिद्यार्थी । ज्ञानी बन्ने नाटक सकेसम्म सफल नै भयो । महिनौ भएका थिए मैले नोटकपी पल्टाएर पनि नहेरेको । भाउजु बसेका ४ दिनमा किताबका केही नोटहरु तैयार गरेँ ।

भाउजु घर जानु भयो । मलाई फेरी आकसको यादले च्याप्न सुरु भयो । उनको असाध्यै याद आयो । फेरी उनलाई ब्लक लिस्ट बाट हटाएर म्यासेज पठाएँ । सन्चै हुनुहुन्छ ? के गर्दै ? लेखें म तपाइलाई मन पराउँछु, भन्नै सक्दीन, के तपाइ मेरो मायाँलाई बुझ्न सक्नुहुन्छ ? आई लभ यु सो मच लेखेँ । तर सेन्ड बटनमा क्लिक गर्न सकिन । लेखेको कुरा पुन मेटेँ । यदी झुक्कीएर त्यो म्यासेज गएको भए आकाशले मलाई के सोँच्दा हुन ? आफैलाई प्रश्न गरेँ । जे सोँचे पनि एउटा टुँगो त लाग्थ्यो । तर म कति डरपोक छु मनको कुराहरु पनि पठाउछु भनी लेख्ने तर पठाउन के सक्नु । एकैछिन पछि फेरी सोँच परिवर्तन भयो । अब उनलाई भुल्नु नै उचित हुन्छ भन्ने ठानेर फेरी ब्लक लिस्टमा उत्याइदिएँ उनलाई । हुन त भाउजु भएको बेला पनि उनको याद नआएको होइन । तर भाउजुको अगाडी रुनु भएन, बौलाउनु भएन । जसरी पनि किताब छोपेर बसे घरमा सन्देस पनि राम्रै जान्थ्यो । फेरी भाउजु मिल्ने साथी जस्तै हुनुहुन्थ्यो । मैले नपढेको भए पनि उहाँले घरमा त्यस्तो केही भन्नु हुने थिएन । तर सकेसम्म उहाँको अघी म असल नै बनेर देखाएँ ।

मेरा दिनचर्याहरु यस्ता हुँदै गए । उनलाई सम्झने रुने । बिर्षन खोज्ने फेरी रुने । फेसबुक खोल्ने उनकै फोटो हेर्ने रुने । भुल्न खोज्ने ब्लक गर्ने । फेरी सम्झने रुने । फेरी अन ब्लक गर्ने यस्तै पक्रिया दिनदिनै चलीरह्यो । कहीलेकाँही त मध्य रातमा रोइरहन्थेँ । म किन यस्ती भएँ । किन म मायाँमा पागल भएँ भनेर । एक्लै बसेको कोठामा रोए पनि सम्झाउने कस्ले ? जे गर्नु थियो आफै गर्नु थियो । बेला बेला बुबा, आमा, दाइ, भाउजु र उहाँहरुको सपना र इज्जत सम्झँदा आकाशलाई भुल्नै पर्छ जस्तो लाग्थ्यो र ब्लक गर्थे । फेरी हरेक कृयाकलापमा उनीनै देखीँदा उनको यादले खपी नसक्नु हुन्थ्यो फेरी अनब्लक गर्थे । उनलाई कम्तिमा पनी सयौँ पल्ट ब्लक लिस्टमा राख्ने र हटाउने गरेँ हुँला । कुनै कुनै दिन त एक दिनमै ३–४ पल्ट ब्लक र अनब्लक गर्थे । उनलाई भुल्नको लागि मैले कुन उपाए नअपनाए हुँला । युट्युबमा “हाउ टु फर्गेट लेखेर सर्च गर्दै थिएँ, हाउ टु फर्गेट योर एक्स भनेर माथी नै लिस्ट आयो । त्यसलाई वास्ता नगरी फेरी हाउ टु फर्गेट लभ लेखेर खोजेँ । करिब ३८४००००० रिजल्ट भेटिए । त्यहाँ भेटिएका भिडियोहरुको टाइटल फरक फरक भएपनि एउटै ट्रेण्डका थिए, कुनै कुरा वा प्रेमी कसरी भुल्न सकिन्छ भन्ने विषयका । के थुप्रै मान्छे मेरो जस्तै प्रेमको तनाबमा थिए ? के अरु पनि मैले जस्तै युट्युबमा कसरी भुल्ले भन्ने कुराको खोजी गरे ? के उन्ले भुल्न सके होलान ? यस्तै प्रश्नहरु एकाएक आए । ती मध्ये सबैभन्दा माथील्लो लिस्टमा “हाउ टु स्टप थिङ्किङ अबाउट समवन (फर्गेट समवन यु लभ)” भनेर भेटियो । दोश्रो तेश्रोमा सन्दीप महेश्वरीका भिडियो पनि भेटीए । त्यती धेरै भिडियोहरु कुन हेर्नु ? त्यसमध्ये सन्दीप महेश्वरीको भिडियो सुरुमै खोलेर हेरेँ । भिडियोमा टेक्नीकली कुराहरु धेरै थिए तिनै कुराहरुमा बिचबिचमा मान्छेहरु हाँसीरहे । बिच बिचमा ताली बजाइरहे तर म प्राक्टीकल्ली उनको भिडियो बुझ्नै सकिन । अन्य प्राय भिडियोहरु खोल्ना साथ बिज्ञापन आउँथे, रिस उठ्थ्यो उनिहरु पनि हाम्रो भावनामा खेलीरहेका छन् । हाम्रो भावना सँग खेलेर डरलको खेती गरीरहेका छन् । उनिहरुको यो पेसा होला हाम्रो समस्या । माथिल्लो लिस्टमा भएका केही केही भिडियो हरु हेरेँ । तर कुनै पनि भिडियोले मलाई खोजेजस्तो जवाफ दिन सकेनन् । धेरै भिडियोमा एउटै कुरा थिए “उ बाट टाढा जानु, सोसियल साइट बाट हटाउनु, मोबाइलमा सम्झनाका कुनै चिज नराख्नु, नोबेलहरु पढ्नु, मन पर्ने गित सुन्नु आदी ।” यी सब मैले नगरेको हो र ? पढ्न बस्यो किताबमा उनै । गित सुन्यो धुनमा उनै । एक्लै बस्यो यादहरुमा उनै । कुनै कुनै भिडियोहरुमा मेडिटेसन गर्नु । ध्यान गर्नु । चित्त अन्य स्थानमा लैजानु । मनपर्ने भगवानको जप गर्नु यस्तै यस्तै थिए तर मलाई यी सबै सुत्र तथा तरिकाहरुले कुनै पनि असर गर्ने छाँट देखाएन । मेरो समस्याको समाधान युट्युबमा भेटिएन ।

म कलेज जान छाडे । खान खान छाडे। के गर्ने वाला छु ? मेरो गन्तब्य के हो ? म के गरिरहेकी छु? म आफैलाई बुझ्न सकिरहेकी थिइन । मलाइ झ्यालका पर्धाहरुले पनि गिज्याए जस्तो लाग्न लाग्यो । झ्यालमा रहेका निलो रंगका पर्धाहरु हटाएँ । नसा सेवन गरौँ लाग्यो । रक्सी, वाईन, चुरोट जे-जे खाएर हुन्छ उनलाई भुल्छु लाग्यो । के नसा सेवन गरेर साँच्चै भुल्न सकुला त ? अहँ सक्छु जस्तो लागेन । फेरी नसाको लत बस्यो भने झन बर्बाद हुन्छु भन्ने सोचेर नसा सेवन गर्ने गल्ती गर्न सकिन । जे भए पनि गाउँमा मेरो आमा बुबाको इज्जत थियो । कहीँ कतैबाट यो कुरा बाहीर गयो भने के हालत होला भन्ने ठानेर यो गल्ती गरीन । जती प्रयासहरु गरेपनि उनलाई भुल्न सक्ने सबै प्रयासहरु बिफल भए ।

भाउजु घर गएपछि धेरैदिन सम्म उहाँले कोठा जस्तो छाडेर जानु भएको थियो कोठा त्यस्तै थियो । उहाँ गए पछि २ दिन सम्म त मैले खाना नै खाइन ।  बाँकी दिनहरुमा पनि हप्तामा एक दुई दिन मात्र खाना पाक्थ्यो ।  हरपल आकाशकै यादले गर्दा केही गर्नै मन लाग्दैनथ्यो । करिब दुईमहिना सम्म पागलपनको हदै पार गरेँ मैले । कहीले भोकै सुतिदिन्थे त कहिले चाउचाउ वा बिस्कुटले गुजारा गरिदिन्थेँ । चाउचाउ र बिस्कुटका खोलहरु कोठाको भुइमा छरपस्ट थिए । ज्यान सुकेर हाड छाला मात्र भयो । ऐना हेरेर म आफै तर्सीन्थें । कोठामा साना साना सामान उचाल्न खोजे पनि हात थरर काम्थे । केही लेख्न थालौँ भने पनि हात कामेर भर्खर क ख सिक्न थालेका बच्चाका जस्ता अक्षर कुनै ठुला त कुनै साना हुन्थे । तल्लो लाईन र माथिल्लो लाइन हुन्थे । सरीरको अधिकांश सक्ति हराएको थियो । मलाई मेरै सरीर र शक्तिमाथी डर लाग्यो । लाग्न थाल्यो म अब जिन्दगीको नै अन्तिम घढीमा छु । मलाई आफु र आफ्नै शरीरमाथी डर लाग्यो ।

करिब २ महिना पछि भाउजुलाई फोन गरेँ । म रोँए भाउजु तपाई जसरी हुन्छ काठ्माण्डौ आउनु भने । हजुर आउनु भएन भने म नरहन पनि सक्छु भनें । फोनमा उहाँसँग रोएको पहिलो पल्ट नै थियो । उहाँ आत्तिनु भएछ र दाईलाई भन्नु भएछ । घरमा आमा, दाइ, बुबा सबै आत्तिनु भएछ । साँझ आमाले फोन गर्नु भयो । के भयो ? सन्चो छैन र भन्नु भयो । होइन ठिकै छ तर १ २ महिनाको लागि भाउजुलाई जसरी भए पनि पठाइदिनु भनि रोए पछि । अर्काे दिन नै भाउजु काठ्माण्डौ आउनु निधो भयो ।

भाउजु फेरी आउनु भयो । उहाँ त मलाइ देखेर झसँग हुनुभयो । के बनाउनु भएको नानी यो सरीर ? किन यसरी दुब्दाउनु भयो ? भनेर सोध्नुभयो । भलाई भने उहाँलाइ देख्ना साथ बेस्सरी रुन पो मन लाग्यो । उहाँलाई अँगालो हालेरै रोएँ । उहाँ पनि आसुँ सम्हाल्नै सक्नु भएन । म सँगै रुनुभयो भाउजु पनि । भाउजुले  के भो भनेर कैयौ पल्ट सोध्नु भयो तर मेरो एउटै जवाफ थियो आँशु । बिस्तारै परिस्थीती सामान्य बन्दै गयो । उहाँ साथी जस्तो भएकोले यो सबै हुनुको कारण सोध्नु भयो । कसैलाइ केही कुरा नभन्ने सर्तमा । आकाश म र मेरो एकतर्फी प्रेमको बारेमा सबै कुरा भने । सबैकुरा सुनिसके पछि भाउजुले पनि अचम्म मान्नु भयो । यस्तै हो यो समय चिन्ता नगर्नु अब सबै ठिक हुन्छ भनेर मलाई सान्त्वना दिनुभयो ।

मेरो दोश्रो वर्षको परिक्षा नजिकदै थियो तर पढाइ भने फिटिक्कै नभएको कारण जस्ट पास पनि हुन्छु कि हुन्न आफैलाई थाहा थिएन । भाउजु हरेक दिन बिहान बेलुका जतिबेला पनि उहाँ म सँगै हुनुहुन्थ्यो । उहाँले पढाइ छाडेको ५ बर्ष भए पनि मेरा किताबहरु पढ्नु भयो । सँगै पढ्दिनु भयो मेरै लागी । उहाँले प्रश्न गर्ने मैले जवाफ दिने । मैले प्रश्न गर्ने उहाँले जवाफ दिने । खाजा सँगै बनाउने, खाना सँगै बनाउने । सँगै खाने । मलाई बच्चालाई जस्तै स्याहार गर्नुभयो । साँझ बिहान यसो घुमफिरमा जाने । दिनको एक दुई पल्ट कमेडी फिल्म हेर्ने मोटिभेसन सेमिनार हरु गरेर आकाशको यादलाई बिस्तारै बिस्तारै टाढा गराउन सफल गराउनु भयो । एकजनाको प्रेमले पागल बन्न पुगेकी मँ अर्काे एकजनाको प्रेमले पागलपन बाट छुटकरा पाउन सफल भएँ । मान्छे सप्रन वा बिग्रन दुबैकुराको लागि प्रेम आवश्यक रैछ भन्ने प्रत्यक्ष अनुभव गरेँ । पछिल्लो दुइ महिनामा उहाँ मेरो गुरु बन्नु भयो । आमा बन्नु भयो । साथी बन्नु भयो । आकाश बन्नु भयो । म रुदा सम्झाउनु भयो । जिन्दगी, भविष्य सबै सिकाउनु भयो । हाँस्दा सँगै हास्नु भयो । मेरो अर्काे जिन्दगी भाउजु बन्नु भयो । ति दिनहरु मेरा एकल दुर्घट्ना थिए । उहाँकै रोहबरमा मैले दोश्रो वर्षको परिक्षा पनि राम्रै भयो । दोश्रो वर्षको परिक्षा सकिए लगत्तै मैले कलेज ट्रान्सफर गरेँ । भाउजुको कुशल उपचारले म पुर्ण निको भइसकें । आज जिन्दगीको नयाँ सुरुवात भएको छ ।

Post a Comment

0 Comments