झोल – दिपक राज बन्जाडे


एक दिन बिहानै आँखा खुले, आलाराम बजेन । शंख बज्यो । शंख! त्यो पनि यति बिहानै ! अनि घण्टी नि ? घण्टी बजेन । प्राय सँगसँगै बज्ने चिज एक्ला एक्लै बज्दा अर्थ कति फरक लाग्छ । घण्टी एक्लै बजेपनि राम्रो सुनिन्छ तर शंख एक्लै र एकाहोरो बज्यो भने भत्किने रैछन केही मनका भित्ताहरु । जसको आवाजले मेरो आँखा मात्र खुलेनन्, अवचेतन मन पनि खुल्यो । ओडेको सिरक हुत्याएर पर फालेर दगुर्दै बार्दलिमा गएँ । शंखको आवाज उसैगरी बज्दै थियो एकोहोरो । अनि गल्याङमल्याङ आवाज पनि । त्यत्तिकैमा एकजनाले बोलायो “ए दिपक” म बार्दलीमा पुग्नु र मेरो नाम सुनिनु एकै पल्ट भयो । मैले हजुर भनिन, अत्तालिदै भने “कस्लाई ? कस्लाई ??”  जवाफ आयो “डाँडाघरे साईला दाई ।” लौ बर्बाद भएछ । साईला दाई भन्ने उत्तरले मलाई बार्दलीमै बुङ्ग ढलायो । छातिको भित्रीभागमा केहीले बेस्सरी घोचेजस्तो भयो । बेस्सरी दुख्यो तर ऐया भन्न सकिन । मानौ त्यो बार्दलीबाट उछिट्टीएर म आगनमा खसेको थिएँ । तर आगनमा खसेको थिएन । खसेको थिएँ त खुसीहरुको अग्लो चुचुरो बाट । त्यहाँबाट जुरुक्क उठेर म भर्याङका खुडकिनाहरु पनि नाघ्दै उनिहरुको पछि–पछि दौडिएँ । मलाई खुट्टामा चप्पल लगाउनु पर्छ भन्ने पनि होस भएन । दगुर्दै जाँदा अली पर पुग्दा पैतालामा नराम्ररी ढुङ्गा बिजायो अनि पो थाहा भयो । तर पनि खुट्टा भन्दा कैयौं गुना मन दुखीरह्यो ।


मेरा बा का साथी । पल्लो गाउँका साईला काका । गाउँलेले प्राय डाँडाघरे साईला भनेर बोलाउँथें । काका यसै नामले चर्चित हुनुहुन्थ्यो । कहिले हप्तामा एक दिन तथा महिनामा २  दिन म उहाँको घर अवश्य पुगेको हुन्थेँ । मलाई उहाँले छोरो भन्नु हुन्थ्यो । म पनि काका भन्थें । मलाई मेरै परिवारमा मिल्ने मायाँ र त्यो परिवारमा मिल्ने मायाँमा कत्ति पनि कम थिएन । मलाई असाध्यै माया गर्ने । घरमा पुग्यो कि, काकाले पहिल्लै भन्नु हुन्थ्यो । ल मेरो छोरा अएछ । यसलाई दुध अथवा चिया के छ ल्याइ हाल त । काकी पनि असाध्यै मायाँ गर्नु हुन्थ्यो मलाई । उहाँको घरमा गएको बेला खाना नखाई त फर्कनै दिनु हुदैन थ्यो । जति ब्यस्त भए पनि चिया त आइ हाल्थ्यो । मैले जान्ने बुझ्ने हुँदा देखी नै उहाँले यसै गरी मायाँ गरिरहेको पाइरहन्थे । मलाइ मेरा बा ले नभनेका नसुनाएका बाल्यकालका चकचके कथाहरु उहाँले नै भन्नु हुन्थ्यो । हामी यसो गर्थीम उसो गर्थीम भनेर । उहाँबाट मैले मेरो बा र उहाँका बाल्यकालमा भएका अनेक कृयाकलापहरु जान्न पाएको थिएँ ।

उहाँका दुई छोरी थिए । ठुली छोरीको नाम पुर्णिमा थियो त सानीको नाम तारा । पुर्णिमा म भन्दा ४ वर्ष कान्छि थिइ । उनिहरुले मलाई दाइ भन्थे म पनि उनिहरुलाई बहिनी भन्थें ।  उहाँका छोरा थिएनन् त्यसैले पनि होला मलाई त्यती धेरै मायाँ गर्नु भएको । हुन त उहाँले पुर्णिमालाई पनि ठुलो छोरो भनेर बोलाउनु हुन्थ्यो । उहाँलाइ सबैले राम्रो मान्थे । मिलनसार र अति सहयोगी मान्छे । उहाँको खराब बानी अरु केही थिएन त्यै मध्यपान गर्नु हुन्थ्यो । यो बानी देखी काकी पनि त्यती सन्तुष्ट हुनु हुन्नथ्यो । काकीले मलाई पनि समय समयमा भन्नु हुन्थ्यो । बाबु तिम्रा काकालाई यसो सम्झाई दिउन, हामीले भनेको कहिल्यै मान्ने होइन । काकाले उल्टै भन्नु हुन्थ्यो । धेरै पो खानु भएन पनि थोरै त केही हुन्न । म कहिल्यै खाएर बाटोमा सुतेको छु ? कहिल्यै खाएर अरु सँग झगडा गरेको छु ? कहिल्यै तिमिलाई गाली गरेको छु ? सबै प्रश्नको जवाफ एउटै हुन्थ्यो । त्यस्तो त छैन तै पनि नखाए हुन्न र ? यो खाने बानीले कुन दिन हाम्रो बिचल्ली पार्नुहुने हो भन्ने पिर लाग्छ ।

काका रमाइलो मान्छे । ख्याल ठट्टा र मजाक गरेर अरुलाई हसाउँन पनि सिपालु हुनुहुन्थ्यो । उहाँको घरमा कहिल्यै नैरास्यता भएको थाहा पाइन । सधै सबैजना हाँसी खुसी हुन्थे । यो सबै काकाकै देन थियो । उहाँले केही न केही गरेर सबैलाई खुसी पार्नु भएकै थियो । एक दिनको कुरा हो । पुर्णिमा भान्सामा खाना बनाउँदै थिइ, काकीले भन्दै हुनुहुन्थ्यो “अब पुर्णिमा पनि ठुली नै भई । कोही राम्रो घर आए पठाउनु पर्छ ।” काकाले भन्नु भयो “के चिन्ता लिन्छेस् अझै दुई चार वर्ष आत्तिनु हुँदैन बल्ल त १० मा पढ्दै छे । सके ब्याचलर नभए प्लस–टु त पढाउनु पर्छ । जमाना पनि तेरो मेरो समयको छैन । हाम्रो जमानामा पो सानै कम उमेरमा बिहे गरियो । अबका केटाकेटीलाई त सकेसम्म आफ्नै खुट्टामा उभिने गराउनु पर्छ । सबै कुरा आफुले बुझ्ने भए पछि मात्र बिहे गरिदिनु पर्छ ।” काकीले बिचमै कुरा जोड्नु भयो । छोरी मान्छेको जात भोली भने जस्तो नहोला, उमेर बढी भए पनि त गाह्रो पर्ला नि ? काकाले भन्नु भयो । “पहिला छोरीलाई सक्षम त हुन दे । केटाको के चिन्ता गर्छेस् मेरै साथीको छोरा छन् उनले म लैजान्छु काका भन्छन भने उनैलाइ दिउँला नि कि कसो छोरा ?” मलाई संकेत गर्नुभयो अनि आफु मज्जाले हास्नुभो । काकी पनि हाँस्नु भो । भान्सामा एक किसिमको हाँसोको फोहोरा छुट्यो । मलाई भने एकदमै अफ्ट्यारो महशुस भयो । म त्यस्तो अपत्यारीलो कुराले लाजले पानी पानी भएँ । न जुरुक्क उठेर हिड्न सकें, न बसीरहन । सायद अनुहारको रंगमा पनि परिवर्तन भएको थियो । पुर्णिमा पनि लजाइ थोरै बिपरित दिसा तर्फ फर्कीइ हल्का सिर निउराइ र हाम्रै अगाडी बाट बाहीर निस्की । मलाई भित्रै देखी अफ्ट्यारो लागेर आयो अनि भनेँ “कहाँ काकाले पनि त्यसो भन्नु भएको उ त मेरो पनि त बहिनी हो नि, उसको खुट्टाको जल खाएर मैले बिदाइ गर्ने हुँ ।” लजाउँदै बाहीर गएकी पुर्णिमा यो कुरा सुनि सुनिन थाहा छैन तर त्यसपछि धेरै बेर सम्म काकीले बोलाउँदा समेत हाम्रो अगाडी देखा परिन । हामी खाना खाएर सिध्याए पछि मात्र भान्सामा आइ । त्यही दिन देखी उ मेरो अगाडी कहिल्यै परिन । म बाहिर हुँदा उ भित्र र म भित्र हुँदा उ बाहीर भइ राखी । उ दिन भई म रात भएँ । सधैभरी यस्तै लुकामारी प्रकृया चलिरह्यो । हामी चुम्वकका दुई धुर्ब जस्तै भयौँ ।


पछिल्ला दिनहरुमा म पनि ब्यस्त हुँदै गएँ । बिहानको पढाई दिउसोको जागिर । कहिलेकसो सनिबार समेत कुनै न कुनै काममा ब्यस्त हुने कारणले म काकाको घरमा पहिला जस्तो जान भ्याउदिनथें । पहिला–पहिला महिनामा २ पल्ट अनिवार्य पुग्ने मान्छे महिनौँ सम्म पनि जादैनथें । कहिलकाँही काका सँग बाटोघाटोमै भेट हुन्थ्यो । भोटघाट जति पातलो भए पनि उहाँले मलाई गर्ने मायाँमा केही कमि महसुस भएको थिएन र म मा पनि उहाँ प्रति सधैब सम्मान रहिरह्यो ।

एक दिन साँझमा उहाँको घर पुग्दा काकाले उसै गरी भन्नु भयो । लौ–लौ छोरो आयो चिया ल्याउ त । एकैछिनमा भित्रबाट काकीले कागती राखेको चिया ल्याउनु भयो । काकाले छोराले तातो चिया पिउने मैले चिसो चिया है त । भनेर रक्सिको बोत्तलको बिर्काे खोल्न थाल्नु भयो । काका हजुरले पनि यस्तै चिया पिए हुन्न र ? मैले यति भनेपछि उहाँले मेरो छोराले भने पछि किन नहुनु हुन्छ नि । ल यसलाई आज छुट्टी भनेर बोत्तललाई सुरक्षित साथ आलमारीमा राख्नु भयो । अनि ल मलाई पनि चिया ल्याउ त भनेर भित्र आवाज दिनु भयो । काकी जिल्ल पर्दै हातमा चिया ल्याउनु भयो । हैन आज तपाईलाई के भयो? अचम्मै गर्नु भयो त ! भन्दै चिया दिनु भयो । काकाले भन्नु भयो “छोराले भनेपछि मैले नमान्ने के छ र ? छोराले चिया पिउँ भने मैले चिया पिएँ ।” अनि काकीले भन्नु भयो । लौ न बाबु तिम्रा काकालाई अलिदिन सँगै लगेर यो झोल खाने बानी हटाइ दिन पर्यो । हामीले त खुट्टै ढोगे पनि उहाँले छाडने होइन ।
मैले भने, अनि काका यो नखाए हुन्न र ? काका भन्नु हुन्छ किन नहुनु हुन्छ नि, तर बानी लागे पछि छाड्न निकै गाह्रो पर्ने । यो यस्तो झोल हो जसले हामीलाइ उल्लु बनाइरहेको छ । दुःख पिडा, थकान मेटिने अन्धविश्वास जोडिएको छ यसमा । आनन्द प्राप्तीकोे झुटो प्रतिमा दिइएको छ । यसले आनन्द दिने, थकान मेट्ने, पिडा भगाउने केही पनि गर्दैन । यसले त हाम्रो दिमागको सोच्ने बाटो साघुरो गराइदिन्छ जसले सरीरका सम्पूर्ण सुचनाहरु दिमाग सम्म कम मात्र पुग्छन । हामी खाने बानी लागेका मानिस त्यसैलाई आनन्द मान्छौँ । खाएर फाइदा त छैन नि तर पनि लत भन्या लत रैछ ।

काकाको पिउने बानी पछिल्लो समयमा दिन प्रतिदिन अली बढी नै भएछ । यो कुराले काकी एकदमै चिन्तामा हुनुहुन्थ्यो । हल्का फुल्का बिरामी भए पनि उहाँले पिउन छाडनु भएन । उहाँको यो बानीले एक दिन अस्पतालको बेड मै पुर्यायो । करिब १० दिन अस्पतालमा राखेपछि बल्ल निको भयो । १० दिन मध्ये ४ दिन अस्पतालमा त म पनि बसेको छु । अस्पतालमा डाक्टरले अब रक्सी खानु हुँदैन भने पछि मात्र काकाले मध्यपान गर्न छाड्नु भएको । त्यसपछि उहाँले करिब २ वर्ष सम्म रक्सीलाई हात पनि लगाउनु भएन ।


दुई वर्ष पछि उहाँले पुन रक्सी सेवन गर्न थाल्नु भयो । तर पहिलेको भन्दा दोब्बर तेब्बर तुलनामा । कारण लत थिएन न त कुनै थकान मेटाउन थियो । कारण थियो ठुली छोरी पुर्णिमा । जुन छोरी उहाँले असाध्यै मायाँ गर्नु हुन्थ्यो । उसले काकाको मनको रहरलाई भग्नावेशमा परिणत गरिदिइछ । मानौ उहाँ धरहरा हुनुहुन्थ्यो र पुर्णिमा भुकम्प थिई । काका र धरहरा दुवै भत्किए तर अलग–अलग तरिकाले । म सँग त्यती लजाउने मान्छे तर अर्कैको प्रेममा परी घर सल्लाह नगरी अन्तरजातिय बिवाह गरिछ । यो कुराले काकालाई असाध्यै पिडामा पुर्यायो । काकाको रहर थियो, आफ्नै घरबाट कन्यादान दिने तर उहाँको यो रहर रहरमै मात्र सिमित भयो ।

त्यसपछि काका घरमा भन्दा बाहीर धेरै बस्न थाल्नु भयो । गाउँकै राम्रो मान्छे एका एक एउटै खुसी भत्कीदा कति दुःखी हुन्छन भन्ने एउटा उदाहरण पनि थियो यो । कैयौ पल्ट मैले उहाँलाई बाटोहरुमा यत्तिकै पल्टीरहेको देखेको छु । डोहोर्याएर घर पुर्याएको छु । नखानु भनेर सम्झाएको छु । घरमै बस्नु पर्छ भनेर सम्झाएको छु । तर उहाँले कसैगरी मान्नु हुन्न । खाली त्यही पुर्णिमाकै मात्र सम्झना गर्नु हुन्छ । एक बचन भनेकी भए पनि उसैले खोजेको सँग नै पठाइ दिन्थें । त्यसो त म जात भात केही विश्वास नगर्ने मान्छे । जुन जात, जुन धर्म भए पनि म उसकै खुसी हेर्थेँ । उसले पनि त सोच्नु पर्थ्यो । उसको के हाम्रो लागि केही जिम्मेवारी थिएन ? हामीले उसको लागि गरेको त्याग के को लागि ? यस्तै यस्तै भन्नु हुन्थ्यो । पहिला पहिला कुनै कुराको समझदारीमा जाने मानिस आजकल जिद्धि हुनुभएको थियो । घरमा बस्नै मान्नुहुन्नथ्यो । भन्नु हुन्थ्यो, घरको कुना कुना सम्म पनि उसकै यादहरु छन, मलाइ घरमा झन बडी पिडा हुन्छ, म यही ठिक छु । म भन्थें “काका, हजुर उसको खुसि देख्ने मान्छे । उ पनि त आफ्नै खुसी खोजेर गएकी हो, हजुर बिथ्यामा किन पिर गर्नु हुन्छ ? उ खुसी छे भनेपछि हामी पनि त खुसी हुन पर्यो नि, होईन ? ” बाबु, तिमिले भनेको पनि ठिकै हो । यो दिल नै यस्तै हुन्छ जो पनि बसेको हुन्छ, सोधेर गयो भने केही दिन नरमाईलो लाग्छ, नसोधी गयो भने जिन्दगीभर । उ मेरो मुटुको टुक्रा थिइ । मुटुको टुक्रा त अझै पनि छे, टुक्रिएर जानेलाई के थाहा हुन्छ टुक्रीनुको पिडा ? पिडा त त्यसलाई हुन्छ जसबाट छुट्टिन्छ । घाउँ पनि त त्यसैमा हुन्छ र दुखाई पनि । त्यत्तिबेलै आफ्नो गोजिबाट एउटा आधा रित्तिएको क्वाटर निकाल्नु हुन्छ र घुटुक्क पार्नुहुन्छ । यो कस्तो अवस्था! यो कस्तो समय! यो कस्तो पिडा ! न त उहाँलाई रोक्न सक्छु न त पिउन प्रोत्साहन गर्न सक्छु । उहाँले पिइरहेको झोल जसले फाईदा गर्दै गर्दैन भन्ने थाहा हुँदा हुँदै रोक्न सक्दिन म । क्वाटरले आफ्नो जिन्दगी रित्याईदिन्छ । काकाले उक्त झोलबाट के कति सन्तुष्टी पाउनु भए होला ? रित्तो बोत्तललाई पर हुत्याउनु हुन्छ र बाबु मलाई आजकल यहाँ निर बहुत दुख्छ भन्दै, आफ्नो छातिको देब्रो पाटो तिर संकेत गर्नुहुन्छ । फेरी यहाँ दुख्छ यहाँ भन्दै ड्याम् ड्याम् दुईपल्ट छातीको देब्रे भागमै हिर्काउनुहुन्छ । उहाँ अहिले समुन्द्र हुनुभएको छ जसमा सन्तान प्रतिको प्रेम र विछोडको गहिराई उत्तिकै देख्न सकिन्छ । उसका यादहरु र टुक्रिनुको पिडाले उहाँ भित्र ज्वारभाटा निस्कन्छन् र सम्हालीएर भरिएको तलाउको सन्तुलन बिग्रन्छ । फेरी भित्र भित्र दौडिएको आँधीले सुनामी पैदा गर्छ । उहाँ छचल्कीनुहुन्छ र छाल बनेर खस्छन आँखाको बाटो हुँदै दुई चार थोपाहरु । यस्तो दृश्य म देख्नै सक्दिन र उहाँका आँसु भुईमा खस्न नपाउँदै हातले पुछिदिन्छु । ति न्याना आँशुको स्पर्षले थाहा हुन्छ उहाँ भित्र कति पिडा र कति जलन छ भन्ने कुरा । उहाँका आँशु पुछ्दै गर्दा आफु पोखीन बाट निकै प्रयास गर्छु र केही सिप नलागे पछि उहाँको विपरित फर्केर झार्छु दुई थोपा । उहाँले नदेख्ने गरी ।

पछिल्ला समयमा पटक त म सँग बाटोमा भेटिदा । छोरा मैले हिजो देखी केही खाएको छैन, भन्नु हुन्थ्यो । आफु सँग भएको २०–५० रुपैयाँ उहाँको हातमा राखिदिन्थें । उहाँले त्यसरी दिएको पैसा खानामा भन्दा रक्सीमा धेरै खर्च गर्नुहुने रहेछ भन्ने पछि मात्र थाहा पाएँ । सायद उहाँले यसैगरी म जस्ता अन्य चिने जानेका मान्छेसँग पनि त माग्नु हुन्थ्यो । त्यसपछि म उहाँलाई नगद कहिल्यै दिइन । केही किनेरै दिन थालें । कति पल्ट त मैले उहाँलाई मेरै घरमा लगेको छु । उहाँ मेरो घरमा पनि बस्नै मान्नु हुन्नथ्यो । देखेको भेटेको समयमा सकेसम्म उहाँलाई सेवा सहयोग गरी राखेँ । मानिस घर बाहीर ब्यवारिसे तरिकाले हिडे पछि ज्यान सुक्दै गयो । ज्यानमा रहेका अस्थिपञ्जरको संख्या बाहीरैबाट गन्न मिल्ने जस्तो हुन थाल्यो । अत्यन्त दुब्लाउनु भयो । ब्यथाहरुले झन झन च्याप्दै जान थाले । उहाँ बिरामी नै हुनु भयो र पनि कसैको साहारा खोज्नु भएन । घर छाड्नु भयो । खान छाड्नु भयो । हाँस्न बोल्न छाड्नु भयो तर झोल छाड्न सक्नु भएन । जसरी भएपनि, मागेरै भएपनि पिउन छाड्नु भएन त्यसैले हिजो मात्र उहाँले सन्सार छाड्नु भयो ।

"मध्यपान स्वास्थ्यको लागि हानिकारक छ ।" 

– दिपक राज बन्जाडे

भाषागत त्रुटिको बावजुत पनि पढिदिनुभएकोमा तपाईलाई हृदयदेखी धन्यवाद ।
मन परेमा मलाई भन्नुहोला । मन नपरे पनि मै लाई भन्नु होला ।

तपाईको अन्य साथीले पनि पढोस् भन्ने चाहानुहुन्छ भने । शेयर गरिदिनु होला ।
धन्यवाद ।

Post a Comment

0 Comments