पागल बनाउने समाज

     यो समाज उसैको हो । जहाँ जन्मिएको हो । हुर्किएको हो । उ, म र हामी भएर यो समाज बनेको हो । हामी मध्ये जो कोही यही समाजमा बस्न चाहान्छ र मर्न चाहान्छ यही समाजमा । जहाँ चार जना मिलेर पु¥याउन् अन्तिम यात्रा तर्फ । उ अर्थात एक पात्र । जसमा म पर्न सक्छु । तपाईं पर्न सक्नुहुन्छ ।

     सबै समाजमा एकै किसिमका मानिसहरु कहाँ हुन्छन् र? सबैको ब्यवहार फरक फरक हुन्छ । रहनसहन, बोलीबचन, जात, धर्म, पेशा, रुची, दृष्टिकोणमा भिन्नता । यीनै कारणहरुले गर्दा सबैको सोचाइ पनि त एकैनासको नहुन पनि सक्छ । एउटै समाजका आम बासिन्दाहरुको सोचाइ एकै कसिमको भइदिए के फरक पर्थ्याे ? तर दुर्भाग्य सहीलाइ सही भन्न हिच्किचाउने समाज । गलतलाइ छाती पिटेर गलत भन्दै कुर्लन तम्सिन्छन् । र, यस्तो हुन्छ पनि । फरक यत्ति हो, यस्ता कुरामा कहिले म पर्छु, कहिले तपाईं । कहिले तेश्रो व्यक्ति । अथवा बस्न सक्छौँ हामी तटस्थ, जहाँ अन्तरमनदेखी लागिरहने छ, गलत कुराहरुको बेवास्ता गर्नु पर्छ । यस्तो हुने त गाउँमा हो । जहाँ अभाबै अभाबको जालेमा जेलिएर ब्यतित गरिरहेका छन जीन्दगी । सहर त आफैमा तटस्थ छ । जसलाई प्रवाह छैन बिभिन्न घटना दुर्घटनाहरुको । सञ्चारकर्मीहरुलाइ बाहेक ।

     ग्रामिण भेगमा समाजकै एक छेउँमा हुन्छ धारो वा पधेंरो । जहाँ लाईन बस्नु पर्छ, पालो कुर्नु पर्छ । मन पखाल्न र घडामा पानी भरेर ल्याउन सकिन्छ । मैले जसलाई परम्परागत सामाजिक सञ्जालको रुपमा पो हेरेको छु । जहाँ, घरमा तरकारी डढेको कुरा । भात गिलो भएको कुरा । बालबच्चा बिरामी भएको कुरा । नयाँ बुहारीका कुरा । कोही पोइल गएको कुरा । कसैले नयाँ ल्याएका कुरा । नयाँ लुगा फिटिङ भए नभएका कुरा । गाइ भैसीले दुध दिन छाडेको कुरा । भैंसिले राँगो खोजेको कुरा । बाख्राले ब्याएको  कुरा । खेतिपाती भित्र्याउने कुरा । कुखुराले करेसाबारी सत्यनास गरेको कुरा । छोराछोरीले उच्चतम अंकमा पास भएको कुरा । लाहुर हिडेका कुरा । गाउँमा कोही मानिस बढे वा घटेका कुरा । केही राम्रा कुरा । केही नराम्रा कुरा र सासु बुहारीको झगडा भएसम्मका कुरा पधेंरोमै हुन्छन् । अब त हुन्थे भनौ क्यारे, मैले देखेको समयले केही कोल्टो फेर्यो कि ! होइन होइन – गाउँको समस्या गाउँमा अझै छ । किनकि सहरको समृद्धी मोटर चढेर गाउँ पुग्नै सक्दैन ।

      त्यती मात्रै होइन प्राय कलहको बीउ धारो, पधेंरो बाट सुरु हुन्छ । धेरैजसो पालो मिचिएको सन्धर्वमा झगडा हुने गर्दछ । कहिलेकाँही तर्क वितर्कले पनि ठुलै रुप लिन्छ । कहिलेकाँही जातिय भेदभाव र छुवाछुत पनि त्यहीँ बढी हुन्छ । कहिले आँठो किलो तथा साँधका कुराहरु त्यही पधेंरोमै चर्चा हुन्छ ।

    एक दिनकाे कुरा हो । त्यस धारो वा पधेंरोमा त्यस्तै हुन गयो । जे नहुनु थियो । राजनीतिको हल्का तर्क वितर्कले ठुलै रुप लियो । भनाभन भयो र झगडाले उग्र रुप लियो । यस्तो कुराहरुमा छुट्याउने, सम्झाउने भन्दा रमितेहरु धेरै हुन्छन् । छुट्याएर पो के गरुन? साँडेको जुधाइमा बाच्छाको मिचाई भयो भने ? अझ महिलाहरु पुरुषहरुको विवादमा सितिमिति मुछिन चाहादैनन् र सक्दैनन् पनि । केटाकेहीहरु बिचरा के गरुन् तमासा हेरेर बस्छन् मात्र । त्यो दिन, सामान्य विवादमा एउटै गाउँको केही घरधुरीको फरकमा बस्ने प्रकाश र भरतको झण्डै हात हालाहाल नै भयो ।

     भरत रिषले चुर हुँदै घर पुग्छ । पधेंरोमा भएको झगडाको रिष आगनमा लगेर घोप्ट्याइदिन्छ । र भन्छ । बहुला हो उ बहुला । एक नम्बरको बहुला । साला पागल । उसकी श्रीमती लक्ष्मी अगेनामा आगो फुक्दै गरेको ढुंग्रो सहित बाहिर आउँछे र आश्चर्यजनक भावमा हेर्छे । अलिकति कौतुहलता मिसाएर सोध्छे । के भो ? जवाफमा उसले भएको घटना भन्दा केही बढाइचढाइ भन्छ । स्वर नभएकाले जे पनि गर्छन । झण्डै हात हालेको । बँचेर आँए ।

     अर्कोदिन सोही पधेंरोमा लक्ष्मी र राधिका भेट हुन्छन् । लक्ष्मीले राधिकालाइ हिजोको आफ्नो श्रीमान सँग भएको घटनाको बेलिबिस्तार सुनाउँछे । केही कुरा थपथाप पार्दै, जे जे कुराहरु आफ्नो श्रीमानको आक्रोशमा सुनेकि थिई । यही कुरा भुसको आगो बन्दै भित्र भित्रै सल्कन थाल्छ ।

     राधिकाले घरमा लोग्ने रामेको कान फुक्छे । फलानोको त स्वर छैन रे नि..! पधेंरामा त्यही कुरा गर्थी लक्ष्मीले । कस्सैलाइ नभन्नु भन्दै भनेकी । अब रामेको उसलाइ हेर्ने नजरमा अर्कै किसमिको चस्मा लाग्छ । मानौँ उसकी श्रीमतीले पधेंरोमा सुनेको कुरा सत्य हो । होइन होला भनेर सोच्न समेत सक्दैन । किनकी प्रकाश थोरै धेरै पढेलेखेको मान्छे हो । बुझेको मान्छे हो । तर्क बितर्क गर्न सक्ने मान्छे हो । रामेले बरु मनमनै सोच्न थाल्छ – “मान्छेले धेरै पढे भने बहुलाउँछन् भन्थे, साच्चै बहुलायो कि क्या हो?”  च्व! च्व!

     रामेले भट्टीमा गएर यही कुरा ओकल्छ । कस्तो जाति थियो । पढेलेखेको मान्छे । बिचराको स्वर हरायो रे! बहुलायो रे! हाम्रांकीले कताबाट थाहा पाइछे!  मैले पनि हिँजो मात्रै थाहा पाएको । कठै..! ईश्वरको लिला । उसले भनेको कठैमा सहानुभुति थियो अथवा तीन पानेले जित्न थालेपछिको भावनात्मक असर थियो कुन्नी ? तर जब रक्सी लाग्दै जान्छ मानिस मनमा कुरा लुकाउन सक्दैन । भनेपछि यो कुरामा विश्वस्त हुन सकिन्छ । रामेको दिमागमा प्रकाश पूर्ण रुपमा बहुलाएको छ । जे होस् भट्टीमा भेटिएका ४–५ जनाको दिमागमा मा फेरी केही गलत कुराको सही छाप लाग्यो । 

     हुँदा–हुँदा अब, जुवा घरमा यही कुराको चर्चा चल्छ । कचहरीहरुमा यही कुरा ओकलिन्छ । कसैले नयाँ खबर भन्ने उत्तरलाई यसै विषयलाई नयाँ बनाइन्छ । पुर्याईन्छ टाढा–टाढा सम्म । यसरी खबर एक कान दुई कान मैदान हुन्छ । एउटा भ्रमलाई सत्य सावित गराइन्छ । बृद्ध, बच्चा, किसोर, अधवैसे आदी इत्यादी दिमागमा । एक विवाद वा झगडाले अर्को आम मानिसलाई पर्धा पछाडी पागल बनाइरहेछ । सायद यो कुरा उसलाई थाहा छैन जो हरेकको नजरमा पागल सावित हुँदै गईरहेको छ ।

     माथि प्रयोग गरिएका नामहरु भरत, लक्ष्मी, राधिका र रामे यस कथाका प्रतिनिधि पात्रहुन त्यसैले यी पात्रहरुलाई यहीँनिर बिदाई गर्दछु । प्रकाशलाई भने म अन्तिम सम्म लैजान चाहान्छु । बरु सर्वनामको सहायताले ।
 
     उ अन्य मान्छे जस्तै । हाँस्छ, बोल्छ, हिड्छ, डुल्छ, काम गर्छ, खान्छ, सुत्छ । अनावश्यक कुराहरुमा तर्क गर्छ । सामाजिक कुप्रथाहरुको खुलेरै बिरोध गर्छ । भविष्यमा हुन सक्ने सम्भावनाहरुको बारेमा बोल्छ । गलत कुराहरुमा कुनै हालतमा आत्मसाथ गर्दैन । उ एक जिम्मेवार मानिस हो । उ आफैमा दृढ छ । यथास्थितिवादी छ । के सही र के गलत हो भन्ने उसलाई स्पष्ट थाहा छ । सहीलाइ सही र गलतलाइ गलत भन्छ । कसैलाइ समस्या पर्दा हतपत सहयोग गर्छ । उ सहयोगी मनिस हो । उ सेवाकारी भावना भएको मानिस हो । उ त एक कर्तव्यनिष्ठ मानिस हो । यीनै कुराहरुले प्रमाणित गर्दछन् कि पागल भइसकेको छैन । तर, यो कुरा सबैको दिमागमा बसिसकेको छ, उ पागल हो ।

     एक दिन, सोही गाउँमा करिव ३–४ वर्षको बालकले भन्छ । आमा बहुला आयो । आमा बहुला आयो । डराउँदै आमाको काखतिर हाम फाल्छ । त्यो कोमल हृदयमा बहुला भन्ने शब्दको विषारोपण कसले गर्यो ? किन गरियो ? उसको वालमनोवैज्ञानिकमा कस्तो असर पर्छ वा पर्यो भन्ने कुराको हेक्का कसले राख्ने ? यो कुराको दृश्यावलोकन गरिरहेको छ त्यही मान्छे । जसलाइ बहुला वा पागलको संज्ञा दिइएको छ । उ मुसुक्क हाँस्छ । यही दृश्य देखिरहेकीछे बच्चाकी आमा । हतपत बच्चा सम्हाल्छे र भन्छे । बद्मास । अंकललाइ त्यस्तो भन्ने हो ? उहाँ त अंकल पो त । उ एकछिन बिश्राम गरिसकेपछि गाउँको उकालो चढ्छ । बच्चाकी आमा साहुती गर्न थाल्छे । त्यसरी भन्ने होइन नि, मान्छेको अगाँडी । अब मान्छेका अगाडी कहिल्लै नभने है । बच्चा अलमल पर्छ । अघिको मन्छे साच्चैको पागल थियो वा सद्दे ? अनि मान्छेको अगाडी भन्न नमिल्ने कुराहरु मान्छेको अनुपस्थितिमा भन्न पाइने हो ? बच्चाले गलत तर नयाँ शिक्षा सिक्छ । पर्दा पछाडी चैं भन्न मिल्ने रहेछ! चाहे गलतकुराहरु नै किन नहुन् ।

     आजकल उसलाई गाउँमा आयोजना हुने बिभिन्न कामहरुमा समावेस गराईदैन । विशेष गरी समारोह तथा भोज भतेरहरुमा । कारण एउटै हो । समाजका हरेक अधिकांशले उसलाइ हेर्ने चस्मा बदलेका छन् । आम मानिसमा भन्दा धेरै क्षमता किन नहोस् । आम मानिसले गर्ने काम गर्न किन नसकोस् । जव हेर्नेहरुले गलत देख्छन् भने ? दिमागमा खराब कुराको बिजारोपण भएको छ भने ? कसैको केही लाग्दैन । स्वयं उसैको पनि । जसलाइ सामान्य तर्क वितर्कको कारण एक पागलको संज्ञा दिइएको छ । 

     उ पागल भई सकेको छैन । यदि उ पागल नै भएता पनि उसलाइ अरु सरह बाच्ने अधिकार हुँदैन ? उसका पनि आम मानिसका जस्तै इच्छा, रहर वा दैनिक जीवनयापनमा हुनुपर्ने यावत कुराहरु हुँदैनन् ? र हुन्छन् भने खै त उसको स्वतन्त्रता ? खै उसको आत्मसम्मान? यो समाजमा मानवता भन्ने चिज हराइसक्यो कि क्या हो ? कि अझै छ? अलिकति, बँचेको कतै । 

      एक मानिस पागल नै किन नहोस् । के अनावश्यक टिका टिप्पणी आवश्यक छ ? उ जहाँ जाओस् । जे गरोस् । आम मानिस सरह व्यवहार गर्नु पर्ने हो । हार्दिकता देखाउनु पर्ने हो । तर यहाँ यही अर्कै भइरहेको हुन्छ । सार्वजनिक सभा तथा कार्यक्रमहरुमा वर्जित गरिन्छ । उसको आत्म सम्मानमा चोट लगाइन्छ । उसको इज्वतमा हिलो छ्यापिन्छ । उसलाई असैह्य हुने खालको ब्यवहार गरिन्छ ।  यही समाजमा बस्ने जब चार जना भेला हुन्छन् । उसको कृयाकलाप हेरीरहेछन् र एक आपसमा सहुती मार्न थाल्छन् ।

     “उ हेर् त पागल!”
     “पागल आयो ।”
     “पागल गयो ।”
     “हेर त, कस्तरी हाँसेको, थाहा भएर हाँसे होला र ?”
     “लौ हेर त के गरेको । दिमागले के गरें भन्ने थाहा नपाएर गर्यो । के थाहा होउस् छैन ।”
     “हेर त कस्तो कुरा गरेको, के उसका दिमागले सोंचेर गरेहोला र ?”
     “पागल न हो उसलाइ के बोलें भन्ने हेक्का नै छैन ।”
     “अझ अझ काम पनि गर्छ । पागल भएर पनि कत्ति काम गरेको!”
     “थाहा छैन यसले के विध्वंस मच्याउने हो!”
     “हेर हेर यतै आयो । अब के भन्छ!”

     यसरी एउटा सद्दे मानिसलाई एउटा समाजले पागल गराईदिन्छ ।
   र म पनि एक पागल हुँ । भई नसकेको ।


– दिपक राज बन्जाडे 
सन्धिखर्क–१०, अर्घाखाँची,
हाल दक्षिण कोरिया 
https://www.facebook.com/Dr.Banjade

Post a Comment

0 Comments