एउटा गाउँ छ । गाउँमा समाज छ । समाजमा घर छ । घरमा छन् एक बृद्ध दम्पती ।
कपाल सेतै फूलेको छ । गाउँभरी उसैगरी फूलेका छन् मुस्कानको फूल ढकमक्क । एक अर्कामा आत्मियता साटासाट । छरछिमेकको सहयोग । न्यानो स्पर्स । अैंचो पैंचो । फुर्सदको समयमा भलाकुसारी गर्न घरी उनि जान्छन छिमेकमा । कहिले छिमेकीहरु आउँछन् उनकोमा । पोषिलो खाना । हृष्टपुष्ट शरीर । बिहान साँझ करेसाबारीको रेखदेख; कुटो कोदालो; यसरीनै रमाईरहेका छन् । स्वर्गको एक टुक्रामा भगवान जस्ता बृद्ध दम्पती ।
छोरा बुहारी दुबैको शहरमा जागिर छ । गाउँबाट आवतजावतमा समस्या हुने भएकोले उतै बस्छन् । घरै घरको बिचमा सानो घर उभ्याउन सफल भएका छन् यसपाली ।
उनिहरुले सोच्छन्; हामी शहरको जागिरमा ब्यस्त छाैँ । गाउँमा बुबा आमा एक्लै हुनुहुन्छ । एक किसिमले छोरा बुहारिले ख्याल गरेनन्; हामीबाट टाढिए, भन्ने भावना उत्पन्न हुन्छ होला! गाउँमा दुःख पनि त छ । अब बुबा आमा हामीसँगै राख्नु पर्छ । यहीँ सहरमा बसाल्नु पर्छ । कमसेकम हामीसँग राख्यो भने बिहानसाँझ त सँगै भईन्छ । हाम्रै रेखदेख र स्याहार सुसारमा आनन्द सँग बस्न त सक्नु हुन्छ । छोरा बुहारीको सल्लाह हुन्छ । सहमती हुन्छ ।
एक दिन छोरा बुहारीको अनुरोधमा गाउँको सिरिखुरी एउटाको जिम्मा लगाउँछन् । मुटुमा गाँठो पार्दै, छोराबुहारीकै साथ लाग्छन् लुरुलुरु । एक किसिमले ठिकै पनि हो । बृद्ध अबस्थामा छोरा बुहारी सँगै बस्न पाइने भो क्षणिक खुसी पोतिन्छ अनुहारमा ।
सहर । जतातै घरै घर; घरैघरको बिचमा उनको घर । घर भित्र छन् कोठा । कोठामा छन् – टिभी, दराज, कुर्षी, झ्याल, ढोका ।
बुहारी बिहानै उठ्छिन । खाना बनाउछिन् । आफूहरु खान्छन् र हजुरहरु भोकलाग्दा खानु है राखिदिएको छु भन्दै आ-आफ्नो अफिस दगुर्छन । साँझ परेपछि फर्कन्छन् ।
मध्याह्न्नमा भोक लाग्छ । ग्याँस चुलो बाल्न सक्दैनन् । बाल्न सके पनि डराउँछन् । उनिहरुलाई थाहा छ, बाल्न जानेन भने त पड्किन्छ रेन्त!
चिसै खाना खान्छन् । बस्छन् । हिडडुल गर्न जाने ठाउँ कतै छैन । घर सँग घर जोडिएको छ मन जोडिएको छैन । बस्यो कोठा भित्रै । हेर्यो टिभी । कुरा गर्यो बुढाबुढी मात्रै । गयो त घरभित्रैको सौचालय देखी घरको मुलगेट सम्म ।
बुढाबुढी एउटै कोठाको दुई कुर्षिमा टुक्रुक्क बसेका छन् । घरी ग्याँस चुल्होतिर हेर्छन । घरी भित्तातिर । एक–अर्काको मुख हेर्छन र निन्याउरो अनुहार बनाउँदै चुहिन्छन् आँखाबाट । तप्प ! तप्प !
यता हेर्यो बन्द कोठाको झ्याल छ । उता हेर्यो बिहानै बुहारीले पकाएर छाडेको चिसो खाना । झ्याल र खानाको बिचमा बसेर एक बृद्ध दम्पतीले व्यतित गरिरहेकाछन् झ्यालखानाको जस्तै बाँकी जिन्दगी ।
_______________________
-दिपक राज बन्जाडे
सन्धिखर्क-१०, अर्घाखाँची
हाल दक्षिण कोरिया
-दिपक राज बन्जाडे
सन्धिखर्क-१०, अर्घाखाँची
हाल दक्षिण कोरिया
https://www.facebook.com/Dr.Banjade

0 Comments