हेल्लो दाई पुरन प्रसाद भुसाल । मैले भन्ने गरेको दाई ब्रो । अरुले दाइलाई हजुर तपाईं भन्दा हुन्! तर, हेर त! एउटा ठिस मान्छेले तँ भनेर सम्बोधन गर्छ । अझ तँ त मामाको छोरा पो होस् त! तैंले र मैले बाल्यकालको शिक्षा सँगसँगै ग्रहण ग¥यौं कक्षा तीन सम्म । अनि मेरा बा को टाढाको जागीरले गर्दा आमालाई सहयोग होला भनेर म घरमै बोलाईएँ । घर बसेर पढ्न थालें । बाल्यकाल मामा घरमा बिताउनुको छुट्टै कथा छ । जाँगर चलेमा कुनैदिन बताउँला ।
सानोमा तँलाई हामी काले भनेर बोलाउथिउँ नि, हामीले काले काले मिलेर खाउँ भाले भन्थिम् नि, सम्झन्छस् ? क्या रमाइला दिन थिए है ? आजकल मलाइ म आफैले काले भन्न मन लाग्छ । कालेदाई रे! हा हा । म कालै छु त के! खासमा म चैं गहुँगोरो छु तर गहुँ चै भुटेका हुन् । :पी
मुला दाई तँ कति प्यारो थिइस् यार । तँलाइ तँ र म भन्दा जेठा दाई दिदीले के–के भन्न लगाउँथे, के–के गर्न लगाउँथे तैले त बिर्षिस् कि कुन्नी मैले त बिर्षेको छैन । धन्न झोलीका देउतालाई चैं अलीकती सम्मान चैं थियो । त्यै सम्मानले मलाई पिन्चे बनाएको थियो । म ठुलै हुन्जेल सम्म पनि रोयो रोयो भन्दिएपनि रोइदिन्थें । मलाई रुन ठूलो कारण नै चाहिदैनथ्यो । गोठालो जाँदा बाख्राहरु जुध्धा त रुन्थें सम्झन्छस् ? तँलाई थाहा छैन कक्षा १० मा पढ्दा सरले गाली गर्दा त म रोएथें । अहिले सम्झँदा पो कस्तो कस्तो लाग्छ! कमलो मनको रैछु कि कुन्नी! पछि त समय भन्ने चिजले यती हथौडा हान्यो कि मैले आज कसैको एक दुई झापड त हाँसेरै पचाइदिन सक्छु यार । त्याँ भन्दा बढी हात हाल्न थाल्यो भने गुटुङटुङ भाग्न सक्छु । लड्न सक्ने हुती त म सँग अहिले पनि छैन् । चप्पल हातमा लिने हो अनि भाग्ने हो गुटुङटुङ । तर सुन्, जति भागे पनि जिन्दगी देखी टाढा पुग्न चैं सकिन्न है केटो ।
म किन त्यस्तो थिएँ, हुन त म आज पनि उस्तै छु । लागेको बानी छुटेर कहाँ पो जान्थ्यो । संसारमा तैंले जति मेरो पिटाइ कस्ले खाए होला!, तँलाई सम्झना छ । हय? तँलाई कहिले रिष उठेर पिटें हुँ, कहिले मायाँले पिटेहुँ । तर हरेक प्रसंगमा तँलाई ट्याप्प पारिरहेकै हुन्थें । र पनि तँ कुनै प्रतिकार गर्दैनथिस् । म पनि अचम्मैको, तँ पनि अचम्मैको । हा हा । खासमा मेरो पिटाइ सहने तेरो सहनसिलता भनेको के हो भने म तेरो घरको झोलिको देउता थिएँ नि त! अब देउतालाई हात उठाउने कुरो पनि त भएन । तँलाइ तेरै झोलीका देउताले खुब कुटे यार । देउता अफ्ट्यारा परे । हा हा ।
प्रसंग के थियो भने नि त्यो बेला मैले कम्प्युटर सिकाउने काम गर्थें । बिनोद, तँ र म मिलेर एउटा डेस्कटप कम्प्युटर किन्यौं । तँलाई एक दुई पटक सिकाईदिन्थें । तँ पनि भुलक्कडमा म भन्दा कम थिएनस् । अनि सोध्थिस् यो कसरी रे! मैले पुनः सिकाउनु पुर्व तँलाई बजाइदिन्थें । यो शिलशिला धेरै लामो समयसम्म चलिरह्यो । पछि–पछि तैंले सोध्नै छाडीस् कुन्नी किन हो, मैले पिट्ने चान्स पाउनै छाडें । खासमा तैले मेरो डरले सोध्न छाड्या त होइन तर कुन्नी किन सोध्न छाडीस् । अलिअलि जान्न थालेर हो की ।
म जति पानी मरुवा भए पनि आजको दिनमा तँलाई भेटे भने कुट्न कुनै साहस नै चाहिन्न । रिषले होइन मायाँले क्या । बजाइदिन सक्छु तँलाई त मैले । अब भाउजु ल्याइस् भाउजुका अगाडी ता किन पिट्दो हुँ! एकान्तमा दुई मिनेट कुट्न सक्छु । नडरा नडरा मायाँले पिट्दा त्यती दुख्दैन । कुरो पो त ।
आजको वर्तमान समयमा तँलाइ खुब सम्झन्छु यार, भुगोलले टाढा भएपनि सम्झना आउने शिलशिलाले टाढा नजिक भन्ने रहेन्छ क्यारे,
जति मलाई सम्झना छ त्यती तँलाई पनि होला, हरेक मेलापातहरुमा त सँगसँगै हुन्थिस् । जस्तैः धान रोप्दा, धान काटदा, धान उठाउँदा, दाँई लगाउँदा, भारी बोक्दा, दाउरा काट्दा, मकै गोड्दा, तरकारी लगाउँदा । यस्तै हरेक समय र कामहरुमा सँगसँगै हुन्थीस् । बहुत सहयोगी थिइस् । सहयोगी त अझै पनि छस् । आजभोली त जागीर गर्छस् त्यती फुर्सद त नहोला तर, यस्तो काम प¥यो लौन समय मिला है भन्दा नाइ भनेको खासै थाहा छैन मलाई ।
तर हिजो हरेक काममा सँगसँगै भएको आज तँ त्यहाँ छस् । म यहाँ छु । हामी टाढा छौँ । तँ सरकारको मेलो नार्छस् । म साहुको मेलो नार्छु । तेरो र मेरो मेलो फरक प¥यो, मलाइ त्यही कुराको सम्झना आउँछ । यहाँ गोरु झैं नारिदा तँ नजिक हुन्थिस् भने तँलाई हेरेर फिस्स हास्न त हुन्थ्यो । कहिले मायाँले मुसार्न पाइन्थ्यो, कहिले मायाँले कुट्न पाइन्थ्यो । माथि जस्तै । मनले नजिक भए पनि हामी भौगालिक दुरीले टाढा भयौँ । च्या त कति खाँदा हौ नि है ? बिहानै चिया, दिउसै चिया, साझै चिया, आजकल दुध राखेर पकाएको चिया खान त छुट्टी आउन पर्छ त्यै पनि हल्ला त म बेला बेला गरिराख्छु ।
तँलाई सम्झने कुरा धेरै भए, तँलाइ विर्षने कुरा एउटा पनि छैन । नहोस् पनि । बर्तमान समयमा ल्यापटप अघि घोत्लीदाँ तेरो सम्झना सँगका पलहरु यती धेरै रहेछन् कि यहाँ लेखेर साध्य नै छैन । यही त धेरै भो !
तेरो सम्झना मा लेखेका दुई चार कुरा म ब्लगमा पनि राख्छु । हार्ड डिक्समा पनि राख्छु । यो जुके दाइको सम्पत्तिको कुनै भर छैन । अघिल्लोले निउ खोजीराछ भने यो अहिले लेखिरहेको अनुहार पुस्तिकाको के भर! त्यसैले ब्लगमा पनि राखें यहाँको त नउडला कि कुन्नी! जहाँ बाट उडे पनि सम्झना मनमा त रहिरहन्छ हो ।
कुरो त्यही हो दाई । तेरो खुब सम्झना आयो । कुरा नभएको पनि धेरै भयो । तँ फुर्सदमा छस् भने आइजा बात मारम् । मलाइ त साहुले छुट्टी दिएको छ । बरु त्यता डाटा छैन भने भन् । भाइले अहिले भर्खरै रिचार्ज गरिदिन्छ । डाटा किनेर गफिम्ला । हुन्न ? फुर्सद हुना साथ भन् है । मुख हेरा-हेर गरेर बात मार्न मन छ ।

0 Comments