गुरु पूर्णिमा र ज्ञान


गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः,

गुरुः साक्षात्‌ परब्रह्म तस्मै श्री गुरवे नमः॥



       सिप, संस्कार, शिक्षा लगायत सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको बोध गराउनुहुने सम्पूर्ण ज्ञात अज्ञात गुरुहरु प्रति नमन । साथै कानमा मन्त्र फुकिदिनुहुने गुरुप्रति पनि नमन । यहीँबाट सम्झिएँ है ?

        खासमा गुरुपूर्णिमा विशेष कुरा त यत्ति नै हो । तरपनि केही कुरा लेखी टोपलौं भन्ने सोंच पलायो र किबोर्डमा यसरी औंला बर्जान थालें । 

       राम्रो कुराको ज्ञान होस् तथा नाराम्रो कुराको ज्ञान । समयानुसार ज्ञानका श्रोतहरु फरक फरक छन् । ज्ञानको बोध गराउनु सबैलाई गुरु मान्न मिल्छ कि मिल्दैन होला ? यदि ज्ञान प्राप्त गर्न सफल विभिन्न श्रोतहरुलाई गुरुको दर्जा दिनेहो भने गुरुको लामै सूची पो बन्दो रहेछ! मैले पनि विभिन्न श्रोतहरु बाट धेरै थोरै ज्ञान हासिल गरेको छु ।

        जस्तैः  
  • समय
  • घर, परिवार, समाज, स्कुलहरु
  • विभिन्न पुस्तकहरु
  • प्राविधिक सिप सिकाउने सेन्टरहरु
  • राम्रो नराम्रो सिकाउने साथीहरु
  • मैले गर्ने गरेका साना ठूला गल्तिहरु
  • बुबा को पिटाई
  • आमाको ममता
  • अन्य सम्पूर्ण गुरुहरु
र ऋण लगेर फिर्ता नगर्ने साथीहरुलाई त छुटाउनै मिलेन ।

     यस हिसावले पनि माथिको सूचीमा रहेका हरेक कुरा मेरा गुरु बने । जसबाट केही न केही सिक्ने मौका मिल्यो । मेरा केही ज्ञानका श्रोतहरु भनेर बुझौंन, त्यसरी सहज होला ।

       त्यसैगरी दुईचार दिन साख्खै बनेर अन्त्यमा बिनाकारण तथा मेरो ब्यस्तता नबुझेर ब्लक गरेर जानेहरु पनि ज्ञानका श्रोत नै हुन् । जसले ज्यादा घनिष्टता कुनै कालान्तरमा घातक हुन सक्दछ भन्ने सिकाए । सम्बन्धहरुको बिच–बिचमा समयनुसार अल्पबिराम हुनु पर्दछ भन्नेक कुराको बोध गराएका छन् । फलस्वरुप मनको मैदानमा आउनेहरु आउँदा होस् वा जानेहरु जाँदा अत्याधिक आहतबाट राहत मिल्दछ । मैले त्यस्तै बुझें गलत नै सही । र जे बुझें त्यही नै ज्ञान हो ।

       गुरुकै कुरा गर्ने हो भने, मलाई आज भन्दा १४–१५ वर्ष पहिले एस.एल.सि.को पनि पुरक परीक्षामा चिट दिनुहुने गुरुको याद समय–समयमा आइरहन्छ । उहाँकै कारण जिन्दगीले नयाँ बाटो समातेको हो । एक गोबर गणेश जुन अत्याधिक कम नम्बर ल्याएर अंग्रेजी बिषयमा फेल छ र भाग्यवस पुरक परीक्षामा बसेको छ । जसलाई सामान्य उत्तिर्णङ्क ल्याउन पनि फलामकै चिउरा चपाउनु बराबर छ । त्यही समयमा एउटा पानाभरीको चिट ल्याएर “ला लुकाएर सार अनि अरुलाइ पनि दे” भन्ने गुरुलाई कसरी बिर्षन सकिन्छ ? यदी त्यो दिन त्यो चिट हात नपरेको भए पुरक परिक्षामा भगवानले पनि पास गराउन सक्ने थिएनन् । त्यसपछिको परिणाम के हुन्थ्यो भने । म फेल हुनेथिएँ । फेल भए पछि धन कमाउन ईन्डिया जान्थें । कुनै होटलमा भाडा माज्थें । दुःख पाउँथे । अच्छा ! लिकिन ! हाँ जी! बहुत बढिया ! क्या बात, क्या बात ! वाला भाषा सिक्थें । हिजो आज त सायद क्यारेनटिनमा पो हुन्थें कि ? साच्चै मेरो कोरोना रिपोर्ट चैं के आउँथ्यो होला ? कतै अस्पतालमा बेबारिसे त हुने थिएन ? कठै परिवारको विचल्ली पो हुने थियो त ! धन्न ! उहाँले कनिकुथी पास गराइदिएर मेरो जिन्दगीको बाटो नै परिवर्तन गराईदिनु भो ।

       मैले बुबाको पिटाइ बाट तोरिका फूल मात्रै होइन जीवनको ज्योती पनि देखेको छु । मेरो बुबाले खुब पिट्नुहुन्थ्यो र खासै डर लागेन । आमाले कहिल्यै पिट्नुहुन्नथ्यो र पनि खुब डर लाग्थ्यो र लाग्छ पनि । बुबा त अहिले समिपमा हुनुहन्न उहाँ प्रति श्रद्धा मात्रै छ । बेला बेला सपनामा भेट हुन्छ हाम्रो । बुबाको पिटाइ खुब खाइयो । यस प्रति मेरो कुनैपनि खेद छैन र थिएन पनि । उहाँको हरेक प्रहारमा ज्ञानको ज्योती थियो । गल्ती बिना त पक्कै पिट्नुहुँदैनथ्यो ! कहिले पढाइको लागि हात उठाउनु भयो । कहिले बानी ब्यवहार सुधारको लागि हात उठाउनु भयो । कहिले स–साना गल्तिको सजायको लागि हात उठाउनु भयो । हरेक गल्तिमा प्राय घरहरुमा हुने जस्तै, बुबाले कुट्नुहुथ्यो, आमाले जोगाउनुहुन्थ्यो । आमा भनेको ममताको खानी पो त!

       सरकारी जागिरवाला बुबाको पकेट काट्न प्यारा साथीहरुले सिकाए । उनिहरुले आदेश त दिएनन् । उनिहरुका सफलताका कथाले मलाई आफ्नै घरको पाकेटमार बन्न उत्साहित बनायो । समय समयमा ५, १०, १५ रुपैयाँ सम्म झ्याप हानेको लेखाजोखा कस्ले राख्ने ? तर यो मेरो नियमित काम चैं कहिल्यै भएन । एक आध महिनामा एक दुई पटक त्यै हो । पकेटमार्दाको पहिलो सजाय मलाई आमाले दिनुभयो । खै! के कामको लागि राखेको २० रुपैंया झ्याप हानेपछि उहाँले दुई चार सिप्किना (मसिनो खालको लठ्ठी) बर्साउनुभयो । त्यसपछि मेरो पेशामा धेरै समयसम्म अर्धविराम लाग्यो । त्यस पछिका दिनमा मैले आमाको खल्ती कहिल्यै काटिन ।

       लामो समयको अन्तरल पछि फेरी बाउकै पकेटमा आँखा लगाएँ । सायद कक्षा ८ मा पो पढ्थें कि! यस पटक भने मेरो ईच्छा ठुलो भयो रहर पनि ठुलै भयो । मान्छे गान्टेमुला भए पनि एउटा भलिवल घरमा भए खेल्न सिक्न हुन्थ्यो भन्ने चाहाना थियो । घरमा पैसा माग्यो भने दुई गालामा १० औंला दिने मेरा बा सँग पैसा माग्ने हुती ममा थिएन । आमा सँग पनि कसरी माग्नु ! यही समस्याले म पुनः पुरानै पेशामा फर्किएँ, घरभित्रको पाकेटमार । करिब तीन महिनामा मैले बाको पकेट बाट करीब ३०० रुपैयाँ भारु उडाइदिएँ र पैसा जम्मा गर्ने बाँसको ढुग्रामा कोचिदिएँ । एकदिन सदरमुकामको मेलामा जाँदा रहरलाग्दो नेपोली ३२० रुपैयाँको भलिवल र पम्प पनि किने । बाले खल्ती काटेको थाहा पाउनुभयो भएन त्यो त थाहा भएन तर घरमा भलिवल भित्रनु र बुबाको १००० रुपैंया हराउनु सँगसँगै भयो । उत्त घटना ढाकछोप गर्न खोजेपनि सकिएन । कुरो बिग्रिहाल्यो । त्यसैकारण मेरा साथीहरुले पनि दुःख पाएका छन् । यहीबाट मेरा अनन्य मित्रसँग माफी माग्दछु । मेरा बुबाको अगाडी मैले गरेको ठूलो गल्ती यही नै हो । खल्ती तीन महिना लगाएर ४८० रुपैंयाको काटियो हिसाब दिनु पर्यो १००० रुपैंयाको । भएन फसाद ! जत्ति गरेपनि ब्यालेन्स सिट मिल्दै मिलेन । यो पटक त बैठक कोठामा चुकुल लगाइ मेरो राम धुलाइ भएकोले आमाले चुल्होमा बसेर धरधरी रुनु बाहेक केही गर्न सक्नुभएन । मलाई याद भए सम्म बुबाले मलाई त्यो दिन अन्तिम पल्ट कुट्नु भएको थियो । माथि भनें नि, मैले गरेको ठुलो गल्ती, काटिदिएँ मैले बा कै खल्ति! 

       मेरो ठुलो गल्तीमा उहाँको अन्तिम प्रहारले जिन्दगीको गोरेटो नै परिवर्तन भएको छ । त्यसपछि मैले खासै उहाँको नजरमा गलत हुने काम गर्दै गरिन भने पनि भयो । आमाको नजरमा पनि । साना तिना चोटहरुले त जिस्क्याउने मात्रै रहेछन्! उथलपुथल हुनको पराकम्पन जानु पर्ने रहेछ! परिवर्तन हुनको लागि कम्पन हुनु पर्ने रहेछ! मान्छे बन्नको लागि चोटहरुको आवश्यकता रहेछ! जिन्दगी साच्चै जिन्दगी बन्नको लागि स–साना चोट होइन ठूलै चोटको आवश्यकता पर्दो रहेछ ! जुन कुराको बोध भयो मलाई । त्यसपछिका चोटहरुले पनि धेरै कुराहरु सिकाएका छन् । साच्चै भगवान बुद्धले पनि त अरुको जिन्दगीमा आएका साना ठूला चोटहरुको आत्मबोधकै कारण बुद्धत्व प्राप्त गरेका थिए कि ?

       डरकै कुरा गर्नेहो भने, कहिल्यै नपिटने आमा सँग त सानोमा पनि डर लाग्यो अहिले पनि डर लाग्छ । सानो छँदा गाली गर्नुहुन्छ की? पिट्नुहुन्छ की ? बुबाले कुट्दा जोगाउनुहुन्न कि ? केटाकेटी उमेर न हो शिसिर बसन्तको कथा मेरै जिन्दगीमा मेल खानेहो की ? यस्तै–यस्तै डर लाग्थ्यो । डर त मलाई हिजो आज पनि लाग्छ । डरको प्रकृति फरक छ । जानी नजानी गल्ती हुने हो की भन्ने डर लाग्छ । कही कतै आफुले गरेका साना/ठुला गल्तीले उहाँको मन दुखिहाल्छ कि भन्ने डर लाग्छ । कथमकदाचित मेरै कारण उहाँको आँखा रसाउला की भन्ने डर लाग्छ । कतै खुसी दिन नसकुला कि भन्ने डर लाग्छ ।

       यही डरकै कारण मैले जिन्दगीको अर्को शिक्षा हाँसिल गरिरहेको छु ।







Post a Comment

0 Comments