प्रस्ताव

साथी गोबिन्द, एकजना सँगसँगै पढ्ने केटी साथीलाई बहुतै मन पराउँछ । प्रस्ताव राख्न सकिरहेको छैन । 

हरबखत उसकै कल्पनामा डुब्नु; हर पल उसकै बारेमा सोच्नु । 

लाग्छ, उनलाई एकदम धेरै मायाँगर्छ । आफूलाई भन्दा धेरै । 

क्याम्पस तथा कक्षा कोठाहरुमा भने सिधा नजरले समेत हेर्न सक्दैन । धेरै भनेको मुस्कानको साटासाट सम्म मात्र हुन्छ । अनि भुतुक्क – नजर भुँइतिर । 

यही गुनासो एकदिन म सामु पोख्यो । सल्लाह माग्यो मसँग । 

“आफै त जोगी कल्ले देला बर! ” हेर् साथी प्रेमको मामिलामा मलाई खासै थाहा छैन भनेर म तर्किन खोजेँ । तर, अरु विश्वासिलो साथी कोही नभएकोले केही न केही उपाय चाहियो भनेर ढिपी गरेपछि मनगणन्ते कुराहरुले उसलाई सान्त्वना दिन थालेँ । 

फेसबुकमा साथी छ ? 

छ, तर ऊ खासै चलाउँदिन । कहिलेकाँही मात्र । 

फोन नम्बर छ? 

छ, उसैले मागेकी, एक पटक कुरा पनि भएको छ । पढाइकै बिषयमा । 

ए..! त्यसो भए यसो गर् न त,  बिहान साँझ एक दुई म्यासेज पठा । सामान्य हेलो–हाई, सन्चो–बिसन्चो, हालखबर, यस्तै–यस्तै...। बिस्तारै एक अर्कामा खुलेर बोल्न सक्ने परिस्थिति आउँन सक्छ । त्यसपछि उसको मनोभावना बुझेर प्रस्ताव राख् । हुन्न ? 

ऊ, धन्यवाद साथी भन्दै, अनुहारमा आशाका किरणहरु झल्काउँदै खुसीसाथ बिदा हुन्छ । जान्छ आफ्नै कोठामा । 

लेख्न थाल्छ मनको राजकुमारीलाई पठाउने म्यासेजहरु । पहिलो दिन यो, दोश्रो दिन यो, तेश्रो दिन यो । यसैगरी ८–१० दिनका म्यासेज एकैपटक लेख्छ र सेभ गरेर राख्छ । 

यस्तो लाग्छ । मानौं उसले आफ्नो पत्ता नलागेको रोगको उपचारको औषधी तालिका बनाइरहेको छ । 

योजना बनाउँछ । आज साँझ पहिलो म्यासेज यस्तो पठाउँछु । भोली बिहान अर्को । भोली साँझ अर्को ... । औषधीको खुराक जस्तै । 

फेरी सम्झन्छ, ए! आज त मंगलबार पो! मंगलबार भनेको झगडालु बार हो । होइन, म्यासेज त भोली बिहानबाट पठाउनु पर्छ । बुधबार शुभबार पनि त हो । उसको योजना बदलिन्छ । 

भोलि बिहान पठाउने म्यासेजको कल्पना । उनी बाट आउने रिप्लाइको अर्को कल्पना । यस्तै कल्पनाको सागरमा डुबुल्की मार्दा मार्दै मध्यरातसम्म उसलाई निद्रा आउँदैन । घरी यता कोल्टे फर्कन्छ, घरी उता कोल्टे फर्कन्छ । छट्पटाउँदा छट्पटाउँदै कतिबेला निदाउँछ उसले पत्तै पाउँदैन । 

बिहान अकस्मात मेसेन्जरको टिङ् घण्टीको आवाजले उसको निद्रा भंग गरिदिन्छ । हेर्न थाल्छ उसकै राजकुमारीको म्यासेज । हर्षले ठाउँ छोड्छ । नेट स्लो भएकोले उसको म्यासेजमा प्राप्त तस्वीर लोड हुन केही समय लाग्छ । 

एकछिन पछि, तस्वीर खुल्छ । निमन्त्रणा पत्र रहेछ उसैको नाममा । जहाँ लेखिएको छ । 

श्री गोबिन्द बस्नेत ज्यू, 

तपशिलमा उल्लेखित मिति, समय र स्थानमा शुभविवाह कार्यक्रम सु–सम्पन्न हुने हुँदा उक्त सुखद् उपलक्ष्यमा वर वधुलाई शुभ आशिर्वाद प्रदान गरिदिनुहुन यहाँको उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौँ  । 


– दिपक राज बन्जाडे



Post a Comment

0 Comments