‘जन्म मृत्युको पहिलो पाइला हो’ कतै पढेको थिएँ । खासमा हाम्रो पुरा जिन्दगी एक यात्रा त हो । जिन्दगीको वल्लो छेउँबाट पल्लो छेउँसम्म जानेर/नजानेर, चाहेर/नचाहेर, सजिलोगरी/अफ्ट्यारोगरी यात्रा गर्नु नै पर्दछ ।
भुतकालको सम्झना फाइल अहिले म वर्तमानकालमा टकटक्याउँदै छु । केही स्मृती बिम्बहरु पोखिन्छन् । टिप्छु, बटुल्छु, राख्छु । त्यो समयको वर्तमानमा म हुन्छु यात्रा भित्रको यात्रामा ।
एउटा सवारी जसले २६ जिन्दगी बोकेर भित्री राजमार्गमा दौडिरहेछ । बस्ने ठाउँ नपुगेका यात्रीहरू उभिएरै यात्रा गरिरहेका छन् । उसले बोक्नुपर्ने त १७ हो । तर कहिलेकाँही जिन्दगीको भारी गह्रौँ भइदिन्छ । म बसेको छु दोस्रो लाइनमा । ३ जनाको सिट क्षमतामा चार जनासम्म मिलेर बस्न सकिन्छ, तर काखमा राखेको फुच्चे जिन्दगीको समेत हिसाव गर्नेहो भने ६ जना छौँ । सोच्यो भने यात्रा कष्टकर लाग्दछ । अवश्य तर आवश्यकताले झिना मसिना कष्टहरू सहजै पचाइदिन्छ । यी २६ थान जिन्दगी यदी बाटोघाटोमा यो अन्तिम गाडीले नउठाइदिए अलपत्र पनि त पर्न सक्दथे । फरकफरक गन्तव्यका यात्रीहरू न कहिल्यै भेटिए न अब भविष्यमा भेटिने छन् तर एउटा सानो यात्रा सँगसँगै गर्ने संयोग आउँदो रहेछ । यसरी भन्यो भने यात्रा सुन्दर छ । यसैले पनि यो क्षण सुखद नै भन्नु पर्दछ ।
झ्याल सिटमा बसेकी महिलाको काखमा एक फुच्चे बसेको छ । बेलाबेला चकचक गर्दछ । दुई आन्टिहरूको काखमा पालैपालो बसी यात्रा गरिरहेको छ । दुई आन्टीहरू मेरै छेउँमा छन् । आफ्नै कुराहरूमा मस्त छन् ।
म केहीबेर आफ्नो मोवाइलमा आँखा जोत्दछु । उनीहरूप्रति विशेष ख्याल त राख्दिन । तर एकपटक ‘पारिजातको जन्म दार्जेलिङमा भएकै हो । तर त्यो छ उसले जिद्धि गर्दछ, काठ्माण्डौमा हो भन्दछ’ सुन्दछु । पारिजातको नाम सुन्नासाथ ध्यान त्यतै मोडिएछ र भन्छु । हो दार्जिलिङमै हो । त्यही त हामीलाई पनि थाहा छ नि । उ भने जिद्धि गर्दछ । म सोध्दछु । पारिजातका कृतिहरू पढ्नू भएको छ ? जवाफमा एउटा त्यै के को फूल रे ? सिरिसको । त्यो चैँ पढेको छु । त्यसपछि केहीबेर पारिजात, हरिभक्त र शंकरका कुरा काट्दै हामी बाटो काट्छौँ ।
अहिले त्यो फुच्चे ठूली आन्टिको काखमा निदाइरहेको छ । सपना देख्दै होला । निकैबेर पछि उसको सानो आन्टीलाई निद्राले पछ्याउँछ । सिटमा झुल्दछिन र घरी यता घरी उता ठोक्किन्छिन् । एकछिन हेर्छु र सायद गाह्रो भएको छ । सोध्दछु ‘निद्रा लाग्यो ?’ उनी निद्राले च्यापेको कुरा सहजै स्वीकार्दिनन् । जवकी उनको स्थिती मलाई जानकारी नै छ । उनको सहजताका लागि बताइदिन्छु यसरी निदाउनुहोस् सहज हुन्छ । आफ्नो दिदीको केही ठाउँ ओगट्दै आरामले निदाउँछिन् ।
मेरो छेउँमा पुरोहित बाजे हुनुहुँदो रहेछ । सोध्नुहुन्छ ‘बाबुको परिचय ?’ कसैले सोध्यो भने आफूले दिनसक्ने परिचय म आफै सँग रहेनछ । भन्दछु मेरो नाम दिपक, घर चैँ सन्धिखर्क पर्दछ । हाल केही गरिहेको छैन, अब म हजुरलाई कसरी चिनाउँ । सोध्नुहुन्छ अनि ‘बाबुको थर ?’ ‘बन्जाडे’ । औपचारिकताका लागि उहाँको पनि परिचय माग्दछु । अनि सुरुहुन्छ कुराकानीको शिलसिला निकैबेरसम्म । धर्म, राजनीति, विकाश, विनाश एवम् रितले देश देखि परदेश सम्म ।
फुच्चेकी सानी आन्टी निद्राबाट ब्युझन्छिन् र चाउचाउ मुकुर्याउन थाल्छिन । चाउचाउ सकिन्छ र खोल किचिमिची पारेर झ्यालबाट हुर्याइदिन्छिन् । यो दृश्यको साक्षी ट्वीट लेख्दछु । एक सुन्दर युवतीले सुन्दर प्रकृतिलाई कुरुप बनाउन चाउचाउ खाएर खोल चैं झ्यालबाट हुर्याउनु भयो । तर ट्वीट नगरी मेटिदिन्छु ।
फुच्चे पनि निद्राबाट उठ्दछ । ति आन्टीहरूलाई निकैबेरसम्म अफ्ट्यारो भए होला । म अनुमान गर्दछु उनिहरूका कुराबाट । त्यो फुच्चेलाई आदेशात्मक भावमा यसो नगर र उसो नगर भनाइले । एउटा प्रस्ताव विच्छ्याइदिन्छु यदी गाह्रो भयो भने केहीबेर म काखमा लिऊँ ? उनिहरूले चाहेकै भयो सायद एकै स्वरमा त्यो फुच्चेलाई ल दाइसँग जाऊ है भनेर काखमा थमाइदिन्छन् ।
त्यो फुच्चे काखमा बस्दछ । लाग्दथ्यो धेरै नै चकचक गर्दछ । होइन रहेछ । निकै शान्तसँग बसेको छ । कुराको शिलसिला उसैले शुरु गर्दछ । हाम्ले झोलामा नास्पाती ल्यछम्, टिन्टा पाँचोटा कागती ल्याछम् । म भन्छु ए! हो ? कहाँबाट ल्याएको नि ? कुनै आन्टीको नाम जोड्दै भन्छ सन्धिखर्क बाट । उसको तोते बोलीमा आन्टिको नाम बुझ्दैन र बुझेपनि चिन्दैन ।
यो यात्राको एक यात्री सदस्य फुच्चे । जो मेरो काखमा बसेको छ । म धेरैभन्दा धेरै सजिलो बनाइदिन खोज्छु । म उसलाई बाबु भन्दछु । नाम सोध्दछु बाबुको । बि एस ए एन इ टी भन्दछ । उसको आन्टिहरू हाँस्दछन् त्यो त थर पो भयो नाम भन नाम । उ भन्दछ मलाई मेरी आमाको नाम पनि थाहा छ । ल भन त भन । उ सुरु गर्दछ ९ ८ ४ बाट । भन्दै छ आमाको नम्बर । भन्दाभन्दै केही बित्यास नै परे जसरी आन्टीहरू उसलाई रोक्न खोज्दछन् । ए! के भन्छ ! हैन हैन । तर उसले पुरा गर्दछ नै । तर म राम्रोसँग बुझ्दैन । र बुझ्न आवश्यक पनि थिएन ।
अनि बस्नेत बाबुलाई ललिपप मन पर्छ ? पर्छ । अनि खाने त ललिपप ? हुन्छ । सामानले भरिभराउ झोला खोल्दछु । खोजखाज गरेर दुई ललिपप निकाल्छु । र हामी एक–एक ललिपप चुस्न थाल्दछौँ । ललिपपको कागज झोलामै राख्दछु ।
कुराकानी भनेको त मनका कुरा पोख्ने सुन्ने न हो । अथवा एक अर्काका प्रश्न उत्तर र राय लिनु न हो । यहाँ पनिे कुराकानी गर्न मेरा ढंग पुग्दैन । बताउनु पर्ने कुराहरू पनि छैनन् सायद । म बस्नेत बाबुकै कुरा सुन्दैसुन्दै हँ, अँ, मिलाउँछु । दुई चार प्रश्नहरू सोध्छु । आफूले सोध्ने प्रश्नहरू सायद सकिए कि, सोध्यो भने पनि के सोध्नु? बस्नेत बाबु स्कुल जानुहुन्छ ? कतिमा पढ्नुहुन्छ ? बाबुलाई ममिको माँया धेरै लाग्छ कि बाबाको ? आज हाम्रोमा जाने हस् ? यी मध्ये म कुनै पनि प्रश्न सोध्दिन । बरु उ नै आफै बताउँछ । भन्छ म एल के जीमा पढ्छु नि, मलाई क, ख ग आउँछ । हजुरलाई आउँछ ? म आउँदिन भन्छु । उ मलाई सिकाउँछ क, ख ग,, एक दुई तीन, ए बि सि, घरी बिर्सेजस्तो गर्छु, घरी जाने जस्तो गर्छु । ऊ हर्षित हुन्छ । मैले चाहेको पनि यही त हो । उसको खुसी जो मेरो काखमा बसेर यात्रा गर्दै छ । कमसेकम यात्रा सम्झन लायक बनोस ।
बेलाबेला हामी चुसिरहेको ललिपप मुखबाट झिक्दछौँ र आकार कत्रो भयो नापजाँच गर्दछाँै । रमाइलो मान्दै हाँस्दछाँै । मलाई पनि लाग्दछ बच्चाहरूसँग म पनि बच्चै बनूँ ।
सोच्दछु, यो सानु मान्छे । थाहा छैन भविष्यकोे कुन मार्गमा लम्किरहने छ । उसको भविष्यको बाटो अहिले कसले देखेको छ ? मास्टर हुन सक्छ उ अहिल्यै देखी मलाई ए बि सि डी पढाउँछ । डक्टर हुन सक्दछ, इन्जिनियर, ब्यापारी हुनसक्छ नाफा नोक्सानको विशेष ख्याल राख्दछ । बोलीमा चतुरता छ उ कुनै दलको नेता हुन सक्छ । देश हाँक्न सक्दछ । यो देशमा केही छैन भन्दै लाहुरे हुन सक्छ । उ जे पनि हुन सक्छ । जे पनि भईदियोस्, उसले चाहेकै भइदियोस् । बस् खुसी रहोस् आफ्नो पौरखमा । बाँचोस् आफ्नै जिन्दगी ।
उसले सुनाइरहेका सबै कुराहरू म सुनिरहन्छु । बेलाबेलामा मेरो ध्यान यात्रामा निक्लदो रहेछ । कहाँ कहाँ पुग्दोरहेछ । फेरी बस्नेत बाबुकै कुराले फर्केर आउँदो रहेछ ।
बाबु भन्दै जान्छ, हामीले स्कुलमा नाच्छम् । खेल खेल्छम् । त्यो अस्विन छ नी त्यो त नाच्नै जान्दिन । हा हा हा । हजुरले चिन्नुन्छ अस्विनलाई ? नाई चिन्दैन । अस्विन बि.सि. के, त्यो यस्तो यस्तो झोला ल्याउँछ नि त्यै । म जान्दैन कुन अस्विन हो तर पनि भनिदिन्छु ए.. त्यो ? अँ चिने चिने । अनि ? अँ हेण्डराईटिङ पनि कति डर्टी छन् त्यसका । है ? अनि बाबु राम्रो लेख्नुहुन्छ ? अँ म त राम्रो लेख्छु ।
अस्ती किनेको पेन्सिल त कच्चा परेछ । भाचिन्छ भाचिन्छ । ममीले २ वटा ल्याइदिनुभएको एउटा त एकै दिनमा सकियो भन्या । मेरो दुइवटा कलरबक्स पनि छ । ड्रइङ कापी पनि छ ।
ममीले हामीलाई बाहिरबाट चुकुल लगाएर काममा जानुहुन्छ । हामी टिभी हेरेर बस्छम् । बिजुली जान्छ, आउँछ । जान्छ आउँछ । फेरी जान्छ फेरी आउँछ । अनि बिजुली गयो भने त्यै सुत्छम् । बिजुली आएपछि टिभी हेर्छम् । म सोच्दछु समयको कस्तो परिबन्धमा होलिन् उनी, बच्चालाई बन्द कोठामा थुनेर काममा जानुपर्ने !
सानी बहिनी रुन्छिन् । म सोध्दछु अनि बाबु चैँ रुनुहुन्न ? अहँ म त रुन्न । म त हाँस्छु भन्दै हा हा हा गर्दै हाँसेर देखाउँछ । बहिनी हिन्न सक्दिनिन् । ममीले बिस्कुट खाऊ भन्नुन्छ कर । बहिनीले बिस्कुट खान्निन् । बहिनीले के खान्छिन् ? बहिनीले दुध खान्छिन् ।
बाबुको सानी आन्टिलाई यात्रामा बेलाबेला निद्राले च्यापदछ । अहिले निद्रामै आफ्नो टाउको मेरो कुममा टेकाएर निदाइरहिछन् । अपरिचित यात्रीको कुममा टाउको टेकाएर निदाउनु रहर बाध्यता केही होइन । कहिलेकाँही अन्जानमै विभिन्न परिस्थितीहरू सिर्जना भईदिन्छन् । ठुलो कुरा केही पनि होइन । एउटा नारी शरीर, अपरिचित यात्रीको कुममा आड लगाएर निदाउन सायद सक्दैन होला । कामना छ जसरी सहज निद्रा निदाइरहेकी छन् उसैगरी ब्युझिउन । ठुलै गल्ति भए जसरी नझस्किउन् । ब्युझदा मनमा त्यस्तो कुनै अफ्ट्यारो परिस्थिती नरहोस् । बरु यस्तो होस्, ब्युझनुपूर्व आफ्नै दिदिको शरीरमा आड लाग्न पुगुन् ।
काखमा बस्नेत बाबु, कुममा सानी आन्टि । म चाहान्छु यो लोक मार्गको सवारी यात्रामा उनको निद्रा नखल्बिलियोस् । सकेसम्म दुबैलाई सजिलो बनाइदिउँ । झ्यालतिर रहेकी बाबुकौ ठुली आन्टि झ्याल बाहिर हेरेर सायद केही सोचिरहेकी छन् ।
बस्नेत बाबु हातमा बाँधिएको राखी देखाउँदै भन्छ । हेर्नु त मलाई सानीले बाँधिदिएको, हजुरको छैन ? म हातको डोरो देखाउँदै भन्छु । यी मेरो त यस्तो छ नि । बाहुन बा ले बाँधिदिनुभएको । मेरो त एउटा मात्रै छ ए, हजुरको त कति धेरै । मलाई पनि म ठुली भएपछि सानीले मस्तै बान्दिन्छिन् ।
हजुर कहाँ जान लाग्नुभएको ? भन्दछु म बुटवल जान लागेको । हजुरको बुटवल पनि यतै हो ? हो । हजुर पनि हजुरको सन्धिखर्क बाट आउनु भएको हो ? हजुर । हजुरको सन्धिखर्क पनि यतै हो ? हजुर हो । हजुरको सन्धिखर्कमा आश्मा आन्टी हुनुहुन्छ ? नाई हुनुहुन्न । हाम्रो त आस्मा आन्टी हुनुहुन्छ । यस्तै यस्तै अनेकौँ बालशुलभ प्रश्नोत्तरमा अल्झिदै अल्झिदै लोकमार्ग सकिएको पत्तै भएन ।
पूर्व पस्चिम राजमार्गमा आइपुग्दा, गाडीको भारी पनि केही कम भएको छ । हामी पहिले भन्दा सजिलोसँग बसेका छौँ । सानी आन्टि पनि कुन बेला निद्राबाट ब्युझिछन् । फोन हेर्छू । ३ मिस्ड कल रहेछन् । कलब्याकमा क्रमैसँग साथी मदन र भाई उमकान्त सँग केही कुरा हुन्छन् । फोन राख्नै लाग्दा, सेलफोनलाई संकेत गर्दै बस्नेत बाबु भन्छ हजुरको फोन त कति सानो । ठुलो पनि छ नि भन्दै अर्को मोबाइल देखाइदिन्छु । हजुरको मोबाइलमा कार्टुन छैन् ? मोबाइलमा डाटा प्याक तानेर युट्युब बाट कार्टुन लगाइदिन्छु ।
बस्नेत बाबु युट्युबमा कार्टुन हेर्दै स्क्रोल गर्दै छ । हेर्दा हेर्दै मेरो गन्तव्य स्थान आइपुग्छ । बाटैमा ओर्लन्छु । यसरी यात्रा भित्रको यात्रा करिब ११० किलोमिटर दुरी पार हुन्छ । भविष्यको निकै दिनसम्म, सम्झनाको रेकर्ड फाइलमा यो यात्रा सुरक्षित साथ नथ्थी रहने छ ।

0 Comments